काठमाडौँ, काठमाडौँको बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सी परिसरमा सञ्चालित प्राइड क्यासिनोबाट १४ करोड रुपैया भन्दा बढी लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जेनजी पुस्ताको नामामा भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा भदौ २४ गते हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा तोडफोड र लुटपाट भएको थियो ।
क्यासिनोको रकम लुटिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा दावा सेट्टी र रञ्जित खड्गी ‘रणे’ छन् । उनीहरूलाई काठमाडौँबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले संचारकर्मीलाई बताएका छन ।
सेट्टी र रणे दुवै जनाको पृष्ठभूमि गुण्डागर्दी रहेको प्रहरीले जनाएको छ उनीहरुले खुकुरी सहितका हतियार बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । उनीहरुले क्यासिनोमा रहेको १४ करोड रुपैया नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।
उनीहरुले यसअघि पनि भारतीय नागरिकको परिचयपत्र बनाएर नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने गरेको आरोप लाग्दै आएको छ । बौद्ध क्षेत्रमा उनीहरुले हप्ता असुली समेत गर्ने गरेको स्थानीयहरू बताउँछन् होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न यस अगाडी नै प्रहरीमा जाहेरी दिएको थियो ।















