काठमाडौँ, जेनजी पुस्ताको नाममा भएको भदौ २३ र २४ को आन्दोलनको क्रममा आगजनी लुटपाट र तोडफोड गर्ने अधिकांश युवाहरु अपराधिक पृष्ठभूमीका रहेको खुल्दै गएको छ। यसक्रममा आन्दोलनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियार उर्फ सम्राट् रहेको छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले उनलाई मंगलबार सुनाकोठीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । परियारले एसएलआर बाेकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको कारण उनलाई पक्राउ गरिएको हो ।
उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भिडियोमा प्रदर्शन गरेको हतियार परियारले नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताएका छन् । तर, हतियार बुझाएको प्रमाण नभेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।
परियारको पृष्ठभूमि आपराधिक रहेको पाइएको छ । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ८ वटा मुद्दा चलेको अपराध रेकर्ड सिस्टममा देखिएको छ । ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहार र बैंकिङ कसुर मुद्दामा प्रहरीले उनलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनीविरुद्ध २०६४ मा ज्यान मार्ने उद्योग, प्रहरी परिसर ललितपुरबाट २०७० मा ज्यान मार्ने उद्योग, प्रहरी वृत्त नयाँ बानेश्वरबाट २०७० मा ठगी र २०७९ मा महाराजगन्जबाट बैकिङ कसुर मुद्दा चलेको भेटिएको छ ।
२०८० साउनमा ललितपुर परिसरबाट ठगी र २०६५ मा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलेको भेटिएको छ । २०७५ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र व्यवहार र २०७१ मा स्वयम्भूबाट ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भएको भेटिएको छ ।
यसैगरी जेनजी आन्दोलनको अगुवाई गरेको देखिने दुरूपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकाय गएर त्यहाँका प्रमुखहरूलाई थर्काउँदै राजीनामा माग्ने एक जेनजी प्रतिनिधि अर्जुनबहादुर शाही वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ। जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीमाथि बिभिन्न आरोप लगाउंदै राजीनामा मागेको थियो।

यसरि राजिनामा माग्ने मध्येका एक शाही अछामको पञ्चदेव विनायक नगरपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएको बुझिएको छ निज शाहीले आफूलाई ‘जेनजी रिभोलुसन नेपाल’ का उपाध्यक्षका रूपमा चिनाउने गरेका थिए । उनीविरूद्ध काठमाडौंका विभिन्न अनुसन्धान निकायमा मुद्दा परेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकचोटि पक्राउ गरिसकेको प्रहरी स्रोतले बतायो।
स्रोतका अनुसार उनलाई गत वैशाख २८ गते अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगार कसुरमा पक्राउ गरेको हो। पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको थियो। तर उनी बिरामी भएको भन्दै अस्पतालमा बसे। ‘शाहीमाथि जापान पठाइदिने भन्दै ८ लाख रूपैयाँ ठगेको आरोप थियो। हामीले पक्राउ गरेर विभागमा बुझाएका थियौं,’ प्रहरी स्रोतले भन्यो, ‘अस्पताल भर्ना पनि भए, पछि छुटेको भन्ने थियो। तर पीडितलाई रकम बुझाए–नबुझाएको यकिन छैन।’
यसबारे वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालसँग सोध्दा उनले अर्जुन शाहीलाई वैदेशिक रोजगार ठगीमा पक्राउ गरिएको र जेठ २२ गते मेलमिलाप गरेर छुटेको पुष्टि गरे। ‘उहाँले आफू बिरामी भएको अस्पतालको प्रमाण पनि ल्याउनुभएको थियो। फेरि आठ लाख रूपैयाँ अनलाइनमार्फत पठाएका रहेछन्। त्यसपछि मेलमिलाप गरी उहाँ जेठ २२ गते छुट्नुभएको हो,’ उनले भने।
यसरी विवादमा देखिएका व्यक्ति प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण हुँदा राष्ट्रपति कार्यालयमा समेत उपस्थित रहेका तस्बिरहरू बाहिरिएका थिए। तस्बिरमा उनले सुदन गुरूङको साथमा हात उठाएको देखिन्छ। अहिले अन्तरिम सरकार गठन भएपछि उनी विभिन्न सरकारी निकायमा सहभागी भएका नेतृत्वलाई प्रश्न गरी राजीनामा मागेका भिडिओ बाहिरिएका छन्।
सोमबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भेट्न शाहीसहित करिब १५ जनाको टोली पुगेको थियो। उनीहरूले करिब डेढ घन्टा महानिर्देशक अधिकारीसँग कुराकानी गरे। त्यसमा उनीहरूको प्रमुख माग अधिकारीको राजीनामा थियो। भिडिओमा शाहीले भनेका छन्, ‘राजीनामा दिनुस् तपाईं। तुरून्त राजीनामा दिनुस्। गर्न सक्ने मान्छे आउँछ।’ त्यसको जबाफमा अधिकारीले भने, ‘सरकारले चाहन्छ भने मलाई केही छैन।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा पुगेर पनि उनले आयुक्तहरूलाई भेट्न पाउनुपर्ने भन्दै कर्मचारीसँग चर्को स्वरमा कुराकानी गरेका भिडिओ देखिएका छन्। उनीहरूले अख्तियारका आयुक्तलाई जसरी पनि भेट्न पाउनुपर्ने भन्दै दबाब दिएका थिए। ‘दुई मिनेट नभेटिकन जाँदैनौं। आज रातभरि भए पनि बस्छौं। जति हामीलाई अल्झाउनुहुन्छ, त्यति नै मान्छे थपिँदै जान्छन्। नियन्त्रणभन्दा बाहिर जान्छ,’ शाहीले कर्मचारीसँग भने।
लामो समयसम्म भनाभन गरेपछि कर्मचारीहरूले नै समन्वय गरी प्रमुख आयुक्त प्रेम राई सहित अन्य आयुक्तहरूसँग भेट गराएका थिए। शाहीले त्यहाँ ज्ञापनपत्र नै बुझाएका थिए। त्यसपछि उनीहरू नेपाल वायुसेवा निगमको कार्यालय पुगेका थिए।
शाहीविरूद्ध एउटा मुद्दा मात्र नभई एकभन्दा बढी मुद्दा रहेको प्रहरीको रेकर्डमा फेला परेको छ। स्रोतका अनुसार प्रहरी वृत्त महाराजगन्ज, प्रहरी वृत्त बौद्ध र प्रहरी वृत्त स्वयम्भूमा समेत मुद्दा रहेको भेटिएको छ। महाराजगन्जमा चेक बाउन्सको मुद्दा परेको भेटिएको छ। १० लाख ३० हजार रूपैयाँको चेक बाउन्स भएको भन्दै २०८१ वैशाख २७ गते उनीविरूद्ध महाराजगन्जमा जाहेरी परेको थियो। महाराजगन्जमै २०८१ असोज २८ गते दुई लाख रूपैयाँको चेक बाउन्स भएको अर्को मुद्दा परेको थियो।
त्यसैगरी प्रहरी वृत्त बौद्धमा पुस २३ गते सात लाख रूपैयाँ बराबर चेक बाउन्सको मुद्दा परेको थियो। स्वयम्भूमा गत वैशाख २३ गते १० लाख रूपैयाँको अर्को जाहेरी परेको थियो। शाहीविरूद्ध दायर भएका यी मुद्दाको पछिल्लो अवस्थाबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवन भट्टराईले बताउन चाहेनन्। ‘अहिलेसम्म यसबारे थाहा छैन। यसबारे पत्रिका हेरेरै थाहा हुन्छ। उजुरी केही आएपछि हेरौंला,’ उनले भने।














