Play

तनहुँको मादी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु, १२ बर्ष अगाडिको दुर्घटनाको झल्को

गुरुकुल खबर


पोखरा, तनहुँको दमौली नजिकको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेहरुमा तनहुँको व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगर रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति करिब १२ बजे दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदीको पुलबाट नदीमा खसेको हो। दुर्घटनाग्रस्त जीप मादी नदि माथिको पुलको रेलिंग तोडेर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी  घाइते हुनेहरुमा रोहित गुट्टा र धिरज रौनिहार समेत रहेकोमा रौनियारलाई गम्भीर चोट लागेकोले उपचारको लागि पोखरास्थित अस्पतालमा भर्ना गरिएको बुझिएको छ भने गुट्टाको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ जिपमा पाँच जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कसरी भयो त यस्तो घटना  ?

व्यास नगरपालिका-५ पाटनका कुशल, प्रवीन र कुमार मगरले काम गर्ने रेष्टुरेन्ट पनि बन्द भयो । शनिबार काम छिट्टै सकिएकाले उनीहरू घुम्न  भनेर बजार निस्किए ।

रातको ११ बज्यो । उनीहरू घर फर्किन खोज्दै थिए । त्यसैबेला रेष्टुरेन्टका नियमित ग्राहक रोहित गुट्टासँग भेट भयो । रोहित बोलेरो गाडी चलाउँथे । शनिबार पनि बोलेरोसहित आएका थिए ।

रातिमा चिनजान भएका व्यक्तिहरू भेटिएपछि उनले ‘चापाघाटसम्म पुर्‍याइदिन्छु’ भने । उनीहरु तीन जना गाडीमा चढे । उनीहरूसँगै बोलेरोमा थिए- रोहितका साथी धिरज रौनियार ।

यात्रा धेरै लामो थिएन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ताका राजु अधिकारीका अनुसार दमौली बजारबाट मादी नदीको पुल पार गर्नासाथै चापाघाट सुरु हुन्छ । दमौली बजारको केन्द्र भागबाट मादी पुलबीचको दूरी जम्मा एक किलोमिटर मात्रै छ ।

उनीहरू चढेको ग२च ५७६० नम्बरको बोलेरो गाडी केही मिनेटमै मादी पुलमा पुग्यो र रेलिङमा ठोक्किँदै तल बगरमा खस्यो । गाडी पुलको रेलिङमा सुरुमा ठोक्किएर ५० मिटर परसम्म पुगेर नदीमा खसेको प्रहरीको भनाई छ ।

चिनेका साथीको गाडी चढेर घर हिँडेका कुशल, प्रवीन र कुमार त्यहीँ नदीमै अस्ताए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तिनै जनाको घटनास्थलमा नै ज्यान गएको हो ।

गाडीसँगै नदीमा खसेका चालक रोहित र साथी धिरज रौनियार घाइते छन् । उनीहरुलाई तत्कालै उद्धार गरेर प्रहरीले अस्पताल पुर्‍याएको थियो।

१२ बर्ष अगाडी भएको बस दुर्घटनाको झल्को

यही पुलबाट १२ वर्षअघि पनि रेलिङ भत्काउँदै एउटा बस मादी नदीमा खसेको थियो । त्यसबेला ११ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । यो पुल वि.सं.२०२८ सालमा बनेको हो । रेलिङ पुरानै भएकाले कमजोर र सजिलै भाँचिने खालका छन् ।

पुलको किनारमा रहेको बीम (पर्खाल) पनि एक बित्ता मात्रै अग्लो छ । यो उचाइ गाडी रोक्न पर्याप्त नभएकाले पुलमा दुर्घटना हुने गरेको दमौली नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको अनुमान छ ।

तर, मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी विष्णु पाण्डे धेरैजसो सवारी दुर्घटना चालकको असावधानी र तीव्र गतिका कारण हुने गरेको बताउँछन् । गएरातिको दुर्घटना पनि सोही कारण भएको हुनसक्ने उनको अनुमान छ । तीव्र गतिका गाडी पनि रोक्ने गरी पुलको रेलिङ नबनाइने बताउँदै उनी भन्छन्, ‘दुर्घटना रोक्ने भनेको ट्राफिक नियमको पालना र चालकको सावधानी नै हो ।’

११ जेष्ठ २०८२, आईतवार १३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा