पोखरा, पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालमा आयोजना गरिएको परम्परागत चिनियाँ चिकित्सा संस्कृतिको अन्तर्राष्ट्रिय मञ्च (आईएफटीसीएमसी) को दोस्रो संस्करण अन्तर्गतको कार्यक्रम मंगलवार सम्पन्न भएको छ । यस किसिमको अन्तराष्ट्रिय कार्यक्रम यस अगाडी मकाउमा सम्पन्न भएको थियो । तिन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा नेपाल र चिनमा चलिरहेका परम्परागत प्राकृतिक चिकित्सा पद्धतिहरुको बारेमा बृहत चर्चा गरिनुको साथै आधुनिक चिकित्सा पद्दति र प्राकृतिक चिकित्सा पद्दतिको बारेमा बिज्ञहरुले जानकारी गराएका थिए ।
तिन दिनसम्म चलेको उक्त कार्यक्रम बिशेष गरि नेपाल र चीनको परम्परागत उपचार पद्धति आदानप्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको बुझिएको छ । आयोजित उक्त कार्यक्रम परम्परागत प्राकृतिक चिकित्सा पद्धतिहरुको चर्चा तथा विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको हो । महागुरु पण्डित युवानन्दको नेतृत्वमा तिन दिनसम्म चलेको उक्त कार्यक्रमको दौरानमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलका अनुसार उक्त कार्यक्रमको नेतृत्व महागुरु पण्डित युवानन्दले गरेका थिए । कार्यक्रम अवधिभर महागुरु पण्डित युवानन्दले आफ्नो प्रेरणादायी सम्बोधनसंगै परम्परागत चिकित्सा पद्धतिहरुबारे अनुभवहरु सुनाएका थिए । उनले परम्परागत उपचार पद्धतिबाट कसरी फाईदा लिने र यसलाई कसरी आधुनिक उपचार पद्धतिमा जोडेर मानव स्वास्थ्यलाई थप राम्रो बनाउन सकिन्छ भन्नेबारेमा महत्वपुर्ण प्रस्तुति दिएको प्रमुख कार्यकारी अधिकृत ओडुभिलले गुरुकुल खबरलाई जानकारी दिए ।
कार्यक्रममा मलेसिया, चीन, ताईवान र मकाउ लगायत विभिन्न मुलुकहरुबाट परम्परागत प्राकृतिक उपचारमा संलग्न प्रोफेसर डाक्टरहरुको साथै परम्परागत प्राकृतिक औषधिको उत्पादकको रुपमा नेपालमा स्थापित विभिन्न फर्मास्युटिकल कम्पनीका सञ्चालकहरुको पनि सहभागिता रहेको थियो । यसका साथै पोखराका ३२ वटा निजि तथा सरकारी अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको समेत कार्यक्रममा सहभागिता रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत ओडुभिलले जानकारी दिए ।
विगत ४० वर्षदेखि नेपालको स्वास्थ्य, शिक्षा र खानेपानीमा समेत विभिन्न किसिमबाट सहयोग गर्दै आएका पण्डित युवानन्दले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका लागि च्यारिटी कार्यक्रमहरु पनि संचालन गर्दै आएका छन ।