पोखरा, पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष- २०२५ कार्यक्रमको उद्घाटन समारोहमा बेलुन पड्किएको घटनामा पक्राउ परेका एक भारतीय नागरिकलाई हाजिर जमानीमा रिहा गरिएको छ। उक्त घटना यहि फागुन ३ गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा भएको हो।
उद्घाटन समारोहकै क्रममा बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य र नेपाल सरकारका अर्थ मन्त्री बिष्णु पौडेल घाईते भएका थिए।
दुवैजनाको पोखरामा सामान्य उपचार पछि काठमाडौँ लगेर किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। मेयर आचार्य बिहिबार फागुन ८ गते मात्र अस्पतालबाट डिस्चार्ज भएको भएपनि पौडेल दुई दिन अगाडि नै डिस्चार्ज भएका थिए ।
यसैबीच उक्त घटनामा बेलुनमा ग्यास भर्ने भारतीय नागरिकलाई तत्कालै पक्राउ गरिएको भएपनि बुधबार उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेश कुमारलाई हाजिर जमानीमा रिहा गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले संचारमाध्यमलाई जानकारी दिएका छन ।
वडा प्रहरी कार्यालय बैदामले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको थियो । कमलेश कुमारले ग्यास भर्न प्रयोग गरेको हाइड्रोजनको सिलिन्डर प्रहरीले बरामद गरेको छ ।
उनले ग्यास भर्न अनुमति नलिएको एसपी ओलियाले जानकारी दिए । प्रहरीले बरामद गरेको सिलिन्डर पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा बुझाएको छ । आरोपीलाई आइतबार सो कार्यालयमा उपस्थित गराउने ओलियाले जानकारी दिए ।
घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरिएकोमा सोहि समितिले छानबिन गरिरहेको छ ।