काठमाडौँ, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्धारित समय अर्थात २०८२ मङ्सिरमा हुने वा नहुने भन्ने बिषयमा पार्टीभित्र चर्चा चलिरहेको बेला पार्टी सभापति शेरबहादुर देउबाले भने महाधिबेशनको प्रक्रिया नै २०८३ साउन पछि शुरु गर्ने किसिमले छलफल अगाडी बढाएको बुझिएको छ। देउबाले आफु निकटका नेताहरुलाई बोलाएर महाधिबेशनको प्रक्रिया २०८३ साउनबाट मात्रै सुरु गर्ने गरि आन्तरिक तयारीमा जुट्न भनेको बताईन्छ।
देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिर २८ गते सकिन्छ । कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कारण खोली एक वर्ष कार्यसमितिको कार्यकाल थप्न सक्ने प्रावधान छ। पार्टीको विधानको दफा ४३ मा ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सो को कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ ।’ भन्ने उल्लेख भएकोले सोहि कुरालाई आधार बनाएर देउबाले आफुले पनि एक बर्ष कार्यकाल थप गर्ने संकेत निकटस्थहरुलाई दिएको छन।
यसका साथै एक बर्ष कार्यकाल थप नगर्दा केपी ओली भन्दा पछि आँफु प्रधानमन्त्री बन्ने अवसर गुम्न सक्ने भएकोले देउबाले आफु प्रधानमन्त्री बनेपछि मात्र महाधिबेशनको प्रक्रिया शुरु गर्ने सोच बनाएको बुझिएको छ। कांग्रेस–एमालेको संयुक्त सरकार बन्ने बेला भएको सात बुंदे सहमतिको चौथो बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने’ उल्लेख छ ।
एमाले अध्यक्ष ओली यही सहमतिका आधारमा गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । ओली प्रधानमन्त्री भएको २०८३ असार ३० गते दुई वर्ष पुग्छ । सहमति अनुसार ओलीले २०८३ असार २९ गते प्रधानमन्त्रीबाट राजीनामा दिन्छन् र एमालेको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्छन् । कांग्रेस–एमाले सहमतिमा उल्लेख ‘कांग्रेस सभापति शेरबहादुर देउवा’ भन्ने वाक्यलाई देखाएर देउवाले त्यसअघि पार्टीको महाधिवेशन भएमा आफू विधानतः सभापति हुन नसक्ने र प्रधानमन्त्री पनि बन्न गाह्रो हुने तर्क नेताहरूसँग गरेका थिए । नेकपा एमालेसँग सत्ता गठबन्धन निर्माण गर्दा भएको ७ बुँदे सहमतिको चौथो बुँदा देखाएर उनले पार्टी महाधिवेशन सार्न पहल गरेका छन् ।
“म २०८२ भित्रै महाधिवेशन गर्ने पक्षमा थिएँ । तर, सातबुँदे सहमति अनुसार करिब डेढ वर्षपछि मात्र कांग्रेसले सरकारको नेतृत्व पाउँछ, सात बुँदे सहमतिमा ओलीपछि मैले सरकारको नेतृत्व गर्ने उल्लेख छ । महाधिवेशनपछि म सभापति हुन्न र प्रधानमन्त्री नहुने सम्भावना बढ्छ।” सभापति देउबाले आँफु निकटका नेतासंग यसकिसिमको कुरा गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए।
सभापति देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सभापति बन्दा साथ दिएका नेताहरू उपसभापति पूर्णबहादुर खड्का, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, विजयकुमार गच्छदार, एनपी साउद र उमाकान्त चौधरीलाई २०८३ साउनपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्न सकिने बताएका हुन् ।
देउवाको त्यही भनाइपछि कांग्रेस प्रवक्ता डा. महतले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद एक वर्ष थप्ने विषयमा छलफल भएको विभिन्न संचारमाध्यमलाई बताएका थिए। ‘सामान्यतया कांग्रेसको कार्यसमितिको म्याद बिगतदेखि नै एक वर्ष थप गरिँदै आएको छ । अहिलेको कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ । अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएकाले मङ्सिरमा महाधिवेशन हुने सम्भावना कम छ । तसर्थ एक वर्ष म्याद थप गर्ने बारेमा पनि कुराकानी भईरहेको छ’ प्रवक्ता महतले भनेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले पाएको अधिकार उपयोग गरेर बिगत देखि नै एक वर्ष म्याद थप गरेर मात्र महाधिबेशन गर्ने क्रम चलिरहेको छ । अहिले सम्मका महाधिबेशन निर्धारित चार बर्षभित्र नभएको कारण यस पटक पनि एक बर्ष कार्यकाल थप नहोला भन्ने कुनै आधार छैन। त्यसमाथि सभापति देउवाले आगामी केन्द्रीय समितिको बैठकबाट एक बर्ष कार्यकाल थप गर्ने निर्णय गर्नको लागि प्रस्ताब तयार गर्न सचिबालयलाई निर्देशन दिईसकेको बताइएको छ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा र नेता डा. शेखर कोइराला लगायतले भने पार्टीको महाधिबेशन २०८२ मङ्सिर भित्र हुनुपर्ने आवाज उठाउँदै आएका छन् भने अन्य धेरै नेताहरुले पनि निर्धारित समयमा नै पार्टीको महाधिबेशन हुनुपर्ने कुरामा जोड दिंदै आएका छन । तसर्थ कांग्रेसको केन्द्रीय समितिको बैठकमा कार्यसमितिको कार्यकाल थप गर्ने भन्ने विषय प्रस्ताबको रुपमा कहिले आउला र के निर्णय होला भन्ने प्रतिक्षामा कांग्रेसको तल्लो तहसम्मका कार्यकर्ताहरु बसिरहेको छन । कांग्रेसले अहिलेसम्म १४ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ ।