Play

मेलबर्नमा पराजुलीलाई सम्मान, गैरआवाशीय नेपालीलाई विभाजित नगर्न सरकार र दलसंग आग्रह

गुरुकुल खबर


मेलबर्न ( अष्ट्रेलिया ), नेपालबाट अष्ट्रेलियाको भ्रमणमा आएका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली र भिक्टोरिया राज्यको मेलबर्नमा रहेका गैर आवाशीय नेपालीहरुको बिचमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त भेटघाट कार्यक्रममा गैर आवाशीय नेपालीहरुको संस्था एनआरएनए भिक्टोरियाको तर्फबाट पराजुलीलाइ  खादा लगाएर सम्मान गरिएको थियो।

केहि साताको पारिवारिक भ्रमणको लागि अष्ट्रेलियामा रहेका पराजुली नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको पूर्व अध्यक्ष समेत हुन । हाल नेपाली काँग्रेसको केन्द्रीय सूचना संचार तथा प्रचार प्रसार विभागका सदस्य र गुरुकुल खबर डटकमका अध्यक्ष एबम प्रधान सम्पादक रहेका पराजुलीलाई आरएनए भिक्टोरियाको कार्यालय मेलबर्नमा आयोजित भेटघाट कार्यक्रमको अबसरमा सम्मान गरिएको हो। पछिल्लो समय पराजुली नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन।

भेटघाट तथा सम्मान कार्यक्रममा पराजुलीलाई एनआरएनए भिक्टोरियाको कार्यसमितिमा रहेका एबम नेपाली समुदायका अगुवाहरुले खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाको तर्फबाट प्रबक्ता बबिन मिश्र, नेपाली जनसम्पर्क समिति भिक्टोरियाका पूर्व अध्यक्ष बिनित राज शर्मा, नेपाली काँग्रेसका युवा नेता एबम नेपाल तरुण दल सोलुखुम्बुका पूर्व अध्यक्ष देबेन्द्र बस्नेत, एनआरएनएका अन्तराष्ट्रिय समन्वय समितिका सदस्य मदनराज पौडेल, एनआरएनए भिक्टोरियाका युवा संयोजक सिद श्रेष्ठ सहित सुमन गुरुङ ‘आइटी’, सुरज अधिकारी लगायतले खादा लगाएर सम्मान गरेका थिए। सोहि कार्यक्रममा पराजुलीकी धर्मपत्नी सुशिला पराजुली र नेविसंघको केन्द्रीय सदस्यमा हालै मनोनित सुनील बिष्टलाई पनि सम्मान गरिएको थियो।

त्यस अबसरमा नेपाली जनसम्पर्क समिति भिक्टोरियाका पूर्व अध्यक्ष बिनित शर्माले नेपाल सरकार र नेपालका प्रमुख राजनीतिक दलहरुले बिदेशमा रहेका नेपालीहरुलाई विभिन्न बहानामा फुटाउने र आंफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्न भन्दा देशको विकास र समृद्धिको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले देशमा समस्या परेको बेला वा बिपत्ति परेको बेला गैर आवाशीय नेपालीहरुले मन फुकाएर आर्थिक एबम अन्य सहयोग गर्दै आएको स्मंरण गरे।

नेपाली समुदायका अगुवा एबम नेपाली काँग्रेसका युवा नेता देबेन्द्र बस्नेतले राजनीतिक दलका नेताहरुले प्रवासमा रहेका नेपालीहरुलाई आंफ्नो अनुकुल प्रयोग गर्न खोज्दा गैर आवाशिय नेपाली संघ सहित नेपाली जनसम्पर्क समितिमा समेत आन्तरिक बिबाद उत्पन्न भएको भन्दै पिडा पोखे। उनले बिदेशमा बस्ने नेपालीहरुलाई विभाजित नगरी देशको समग्र हितमा लगाउन सक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि रहेका पराजुलीले बिदेशमा रहेका नेपालीहरुको शिप, दक्षता र अनुभव सहित श्रोतको सदुपयोग गर्न सके नेपालको बिकासमा सहयोग पुग्ने बताउंदै एनआरएनएलाई विभाजित हुन नदिन सबै गम्भीर बन्न आग्रह गरे। योग्यता र क्षमताको आधारमा संस्थाको नेतृत्व सम्हाल्नुपर्ने भएपनि कुनै दल वा नेता बिशेषको प्रभाव र दवाबका कारण नेतृत्व लिनुपर्ने वा सुम्पिनुपर्ने अबस्थाका कारण संस्थाहरुमा विवाद बढ्ने पराजुलीको भनाई थियो।

कार्यक्रममा एनआरएनएका अन्तराष्ट्रिय समन्वय समितिका सदस्य मदनराज पौडेल, एनआरएनए भिक्टोरियाका युवा संयोजक सिद्द श्रेष्ठ, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य सुनील बिष्ट, विभिन्न संघ संस्थामा सक्रिय युवा सुमन गुरुङ र सुरज अधिकारी लगायतले गैर आवाशीय नेपालीहरुलाई नेपालका दल र सरकारले नेपालको हितमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

२५ आश्विन २०८१, शुक्रबार ११:४८ मा प्रकाशित
Nabintech