पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आइतबार पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गरे ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको बताए । उनले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसरम दिनुपर्ने धारणा राखे । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
यस्तै पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको बताए । ‘यो पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको छ, उनले भने, ‘यसले मलाई थप जिम्मेवार बनाएको छ ।’
अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताइन् । उनले भनिन्, ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’
पुरस्कृत श्रेष्ठ एभरेष्ट एफ एमका स्टेसन म्यानेजरका रुप्मा कार्यरत छन् भने, रानामगर नवलपुर टाइम्सका सम्पादक हुन् ।
यस्तै सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आफुलाई सम्मान अर्पण गरेकाले फोनिजप्रतिको जिम्मेवारी थप भएको धारणा राखे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता समाजको ऐना भएको बताउदै नागरिकलाई झुक्याउन नहुने बताए । ‘पत्रकारिता समाजको ऐना हो त्यसैले यसले जे हो त्यही देखाउनुपर्छ । झुक्याउनु हुँदैन,’ उनले भने ।
अक्षयकोषमा यस वर्षपनि थपियो राशी, पुग्यो १० लाख
अक्षयकोषमा यस वर्ष पनि नगद राशी थपिएको छ । फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।
५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेको महासचिव गुरुङले बताए । उनका अनुसार हाल अक्षयकोषमा १० लाख रुपैयाँ रहेको छ ।
यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ ।
सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ, कास्कीका हुम बहादुर गुरुङ र मुस्ताङका शुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् ।
सोही कार्यक्रमको अवसरमा तत्कालिन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पुर्याएको भन्द्र वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई सम्मान अर्पण गरिएको थियो ।
यस्तै मिस मगर नेपाल २०२३ का विजेता विनु थापामगर, फर्स्ट रनरअप दिवा पाइजा मगर, सेकेन्ड रनरअप कविता थापामगर, थर्ड रनरअप दिक्षा थापामगर र म्यूअर्स च्वाइस उमा पुनमगरलाई सम्मान अर्पण गरिएको थियो ।
सो कार्यक्रममा तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, फोनिजका संस्थापक उपाध्यक्ष बालासिंह काउछा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।