पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले कांग्रेसलाई वाईपास गरे नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार चल्न पनि नसक्ने र टिक्न पनि नसक्ने दावी गरेका छन ।
नेपाल गृह श्रमिक संघ कास्कीको तेस्रो जिल्ला अधिवेशन तथा छैठौ साधारणसभाको उद्घाटन गर्दै कांग्रेस संसदीय दलको नेता पाण्डेले भने – गण्डकी प्रदेश सरकार एमालेको नेतृत्वमा रहेपनि संसदको ठुलो शक्ति कांग्रेस हो, तसर्थ कांग्रेसलाई बाइपास गरेर न त सरकार चल्न सक्छ न त टिक्न सक्छ ।
गण्डकी प्रदेश सरकारले आफुहरुलाई बेवास्ता गरेर केही निर्णय गर्न खोजेको थाहा पाउने बित्तिकै आफुले प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीलाई टेलिफ़ोन गरि तपाईं काकताली परेर मुख्य मन्त्री बन्नुभएको हो, २५ मिनेटको जोडघटाउबाट बनेको गठबन्धन ५ वर्ष त चल्न त के ५ दिनमै पनि भत्किन सक्ने भएकोले २२ सिट वाला पार्टीले बनाएको सरकारले २७ सिट वाला कांग्रेसलाई साथमा लिएर हिंड्न नसके सरकारले कुनै काम गर्न नसक्ने अवस्था आउने चेतावनी दिएको बताए ।
यसै सन्दर्भमा आफुले मुख्य मन्त्री अधिकारीलाई ” सरकार तपाईको भएपनि संसद कांग्रेसको हो’ भनेर स्पष्ट पारेको कांग्रेस नेता पाण्डेले जानकारी दिए ।
उनले ट्रेड युनियन सहित कांग्रेस संग सम्बन्धित संस्थाका समस्या र तिनको समाधानको लागि प्रदेश सरकार र आंफ्नो तर्फबाट सबै पहल गर्ने प्रतिवद्दता ब्यक्त गरे ।
सरकार कांग्रेसको छैन भनेर तपाईहरु टुहुरो महशुस नगर्नुस, हामी सम्भव भए सम्म सबै समस्या समाधानका लागि प्रतिबद्ध छौ – पाण्डेको भनाई थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रमा पौडेल कोईरालाले ट्रेड युनियन संगठन र नेपाली कांग्रेस बिच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै कतिपय अवस्थामा पार्टी र कतिपय अवस्थामा ट्रेड युनियन संगठनको कमजोरीका कारण श्रमिकहरुका समस्या समाधानमा ठोस पहल हुन नसकेको वताईन ।
संविधान सभा सदस्य शारदा पौडेल, गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुडं, नेपाली कांग्रेसका नेताहरु शोभियत बहादुर अधिकारी, ऋषी क़ाफ्ले, नेपाली कांग्रेस कास्की जिल्ला सदस्य एवं शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुली, नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव राजेश पालीखे, केन्द्रीय सदस्य जीत बहादुर गुरुडं,गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, कास्कीका पुर्व अध्यक्ष कुलदेवी बराल, वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीगिता लामीछाने, कमल पौडेल, लगायत विभिन्न वक्ताहरुले श्रमिकका समस्या र विभिन्न तहका सरकारले गर्नुपर्ने कामका बारेमा आआफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको सभापतित्व गृह श्रमिक संघ कास्कीका अध्यक्ष लालिमाया शर्मा रेग्मीले गरेकी थिईन । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
चेतमाया ( गिता ) पगेनीको नेतृत्वमा नया कार्यसमिति
अधिवेशनले नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पगेनी ( गिता) लाई निर्विरोध रुपमा चयन गरेको छ । समितिको अन्य पदमा पनि निर्विरोध रुपमा नेतृत्व चयन गरिएको थियो । जस अनुसार समितिको उपाध्यक्षमा सपना गिरी, सचिवमा ज्ञानु राना, सहसचिवमा कौशल्या थापा र कोषाध्यक्षमा लक्ष्मी पौडेल रहेको छन् ।
सदस्यहरुमा मधु नेपाली, माया तिमिल्सिना, शर्मिला नेपाल, सन्तु पौडेल, गंगा कुँवर थापा, विध्या पराजुली, गुड्डु केसी, सृजना श्रेष्ठ, विष्णु भट्टराई र पारु गिरी रहेका छन् ।