काठमाडौँ, रसुवागढी र भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट घरपरिवार र ब्यबसायिक प्रतिष्ठानतर्फ गरी ७९ अर्ब १७ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीबाट क्षति पुगेका ४ हजार १५१ भवन संरचनामध्ये २ हजार ९८९ पूर्ण रूपमा क्षति भएको पाइएको छ ।
प्रारम्भिक सर्वेक्षण विवरणअनुसार ३ हजार १९४ भवन संरचना पुनः प्रयोग गर्नै नसकिने अवस्थामा पुगेका छन् । आयोगका अनुसार ३३२ भवन संरचना पूर्ण मर्मतपछि र ३२० सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा छन् । १४१ संरचना ढल्किएका छन् भने ५०८ भवन संरचनामा माटो तथा लेदोले पुरिएका छन् ।
राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँको क्षति भएको हो । आयोगका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा ७ हजार ३१६ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएका छन् । तीमध्ये ६ हजार ८१७ घरपरिवार र ४९९ ब्यबसायिक प्रतिष्ठान छन् ।
बाढीबाट ३२ हजार ८७२ व्यक्ति प्रत्यक्ष प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ । आयोगले यो प्रारम्भिक तथ्यांक भएको र पूर्वाधार, उत्पादनशील, सामाजिक तथा वातावरणीय क्षेत्रको क्षति र नोक्सानीसमेत समेटेर प्रतिवेदन तयार भइरहेको जनाएको छ ।
यसैगरी बाढीबाट ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जग्गाजमिनमा लगाइएको बालीमा क्षति पुग्दा करिब ३५ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै, १ हजार ११५ परिवारका १ हजार ४२३ सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । २ हजार ३३० परिवारका नगद, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ । आयोगले यी विवरण घरधुरी सर्वेक्षणका प्रारम्भिक तथ्यांकमा आधारित रहेको र अन्य क्षेत्रको क्षति तथा नोक्सानीसमेत समेटेर प्रतिवेदन तयार भइरहेको जनाएको छ ।













