पोखरा, पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थामा उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा कायकिङ गर्ने क्रममा उनि डुबेका थिए।
उदयपुर घर भएका २१ बर्षीय आयुष तामांगको उद्वार गर्नको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण, प्रधान कार्यालय कालिका अन्तरगत फेवा रेस्क्यु टावरबाट टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी सहायक निरीक्षक राम प्रसाद शर्माको कमाण्डमा गोताखर सहितको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री सहित खोजतलासका लागि खटिएको थियो।
खोजतलासका क्रममा दिउँसो करिब ३ बजे बजे तालको अन्दाजी ३० फिट गहिराइबाट गोताखोर टोलीले तामाङलाई अचेत अवस्थामा फेला पारेपछि तालबाट बाहिर निकालिएको थियो।
उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो करिब ३ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) पठाइएको सशस्त्र प्रहरी नं. २४ गण, कालिकाले जनाएको छ।















