काठमाडौँ, नुवाकोटको बेत्रावतीबाट भोटेकोसी, त्रिशूलीको बाढीपछि बेपत्ता भएकी ६८ बर्षीय चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन ।
नुवाकोटको बेत्रावतीमा भोटेकोसी–त्रिशूली बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पताल लगिएको छ । बेत्रावती बजारको एक घरबाट सशस्त्र प्रहरीले श्रेष्ठलाई जीवितै उद्धार गरेको थियो ।
उद्धार गरिएकी श्रेष्ठ सामान्य बोलचाल गर्न सक्ने रहेको स्थानीय मिलन श्रेष्ठले जानकारी दिए । ‘मलाई दुख्यो भन्नुभएको छ थप दोहोरो कुराकानी भएको छैन । नेपाली सेनाले उपचारको लागि छाउनी अस्पताल लगेको छ,’ श्रेष्ठले भने । स्थानीय शशी डंगोलका अनुसार उनको घर बाढीले बगाएको थियो भने उनका श्रीमान् पनि बाढीमा बेपत्ता भएका थिए ।
“श्रीमान् र श्रीमती दुवै घरमा हुनुहुन्थ्यो । श्रीमान् पसलमा हुनुहुन्थ्यो, निस्कँदा सायद बाढीले बगायो । श्रीमती भान्सामा हुनुहुन्थ्यो । घरभित्र हुनुभएकोले वहाँ जीवित भेटिनुभयो।” श्रेष्ठको घरलाई त्रिशूलीको बाढीले बेत्रावती बजारको गोरु जुधाउने फाँटमा लगेर बजारेको थियो । ‘बिचमा कोही जान सकेको थिएन । आज भाग्यवश उहाँ जीवित भेटिनुभयो ।
त्रिशूली किनारको घर लगेर फलाखु किनारको सत्तरी फाँटमा बजारेको थियो,’ डंगोलले भने । श्रेष्ठको घर बेत्रावतीको घन्टाघरभन्दा करिब ६० मिटर तुप्चे जाने झोलुंगे पुलको मुखमा थियो । उद्धार गरिएकी श्रेष्ठ बेत्रावती बजारका चर्चित ‘भरत बाजे’ की बुहारी हुन् । श्रेष्ठका दुई छोरा, एक बुहारी र एक नातिनी छन ।















