पोखरा, छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्वको रुपमा मनाइने गाइजात्राको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पोखरा न्युरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले रक्तदाता प्रेम पुन र पारस द्वालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस अबसरमा अध्यक्ष पालिखेले रगतको अभाव भइरहेको समयमा छाङ्गेली नेवाः खल समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै समाजले नेवारी संस्कार तथा संस्कृतिको संरक्षणमा खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।
समाजका संस्थापक अध्यक्ष तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा तथा व्यवसायका लागि पोखरा बसाइँसराइ गरी आएका छाङ्गेलीहरूको साझा संस्थाका रूपमा छाङ्गेली नेवा खल स्थापना गरिएको बताए । समाजले विभिन्न सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवाका कार्यसमेत गर्दै आएको उनले बताए ।

मल्लका अनुसार समाजको स्थापना २०७१ सालमा भएको हो । तनहुँको छाङमा जन्मिएर पोखरामा कर्म गरिरहेका सम्पूर्ण छाङ्गेलीलाई एकजुट बनाउने तथा आपसी सहयोगको भावना विकास गर्ने उद्देश्यले समाज स्थापना गरिएको उनले स्पष्ट पारे ।
समाजका अध्यक्ष भरत कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिवलाल मल्ल, नेवा मिसा पुच कास्कीकी अध्यक्ष संगीता बज्राचार्य लगायतले रक्तदानको महत्व तथा समाजले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे धारणा राखेका थिए ।
‘प्राकृतिक विपत्तिमा हाम्रो अभियान, रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रदेश रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । छाङ्गेली नेवाः खल समाजमा हाल ४६ नेवार परिवार आवद्ध रहेका छन् । समाजमा सबै जातजातिका छाङ्गेलीको सहभागीता गराउनका लागि समेत तयारी भइरहेको संस्थापक अधयक्ष मल्लले बताए ।















