पोखरा, प्रदेश सरकार जोगाउनको लागि पटक पटक मन्त्रीहरुको फेरबदल गर्दै आएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेरी पनि आंफ्नो जिल्लाका सांसदलाई नयाँ र थप जिम्मेवारी सहित मन्त्री बनाएका छन । यसैक्रममा पाण्डेले गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद रहेका गोरखाका फणीन्द्र देवकोटालाई तेस्रो पटक मन्त्री बनाएका छन भने यस अगाडी उर्जा,खानेपानी तथा सिंचाई मन्त्री रहेका गोरखाका अर्का प्रदेश सांसद नन्दप्रसाद न्यौपानेलाई आकर्षक मानिने भौतिक पुर्वाधार तथा यातायात ब्यबस्था मन्त्रालयको जिम्मा लगाएका छन् ।
भौतिक पुर्वाधार मन्त्रालयमा यसअघि नेकपा एमालेका गोविन्दबहादुर नेपाली मन्त्री थिए भने उर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारीमा गोरखाका न्यौपाने नै थिए । गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि आंफ्नो पद जोगाउन मुख्यमन्त्री पाण्डेले देबकोटालाई नयाँ नियुक्ति र न्यौपानेलाई आकर्षक एबम मालदार मानिने मन्त्रालयको जिम्मेवारी दिएका हुन । बुधबारै सपथ लिएका देवकोटा तेश्रोपटक ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मा लिन पुगेका छन ।
पहिलोपटक ऊर्जा मन्त्री बनेपछि उनलाई तत्कालीन एकीकृत माओवादीले कारवाही गरेपछि पदबाट बाहिरिएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि देवकोटाको मन्त्री पदमा पुनरागमन सम्भव भएको थियो । माओवादी केन्द्रको सिफारिसमा उनलाई सांसद पदबाट मुक्त गरिएपछि उनी मन्त्री पदबाट समेत हटेका थिए । तर सर्वोच्चले उनलाई सांसदका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उनलाई पुनः सरकारमा सामेल गराएका थिए ।
देवकोटाले गत वर्ष जेन्जीको नाममा भएको आन्दोलनपछि मन्त्री पद त्यागे पनि काँग्रेसको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका थिएनन् । एमाले बाहिरिए पनि राप्रपा र नेसपाको समर्थनमा कांग्रेसलाई बहुमतका लागि आबश्यक संख्या पुग्ने भएको छ ।
गोरखाबाट राजनीतिमा स्थापित देवकोटाको पछिल्लो राजनीतिक यात्रा निकै उतारचढावपूर्ण छ । उनी २०७९ सालको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । सोही क्रममा उनले माओवादी केन्द्रको चुनावी चिह्न ‘गोलाकार भित्रको हँसिया हथौडा’ लिएर चुनाव जितेका थिए ।














