रसुवा, आकस्मिक बाढीबाट प्रभावित रसुवाको जिल्ला सदरमुकाम धुन्चेस्थित सैनिक ब्यारेकको गोदाममा यतिबेला ४० हजार किलो राहत सामग्री छ । तर सोही बाढीका कारण नै बिनास भएको आमाछोदिङ गाउँपालिकास्थित ठूलो हाकुमा रहेका नागरिकले जम्मा ८ बोरा राहत सामग्री पाएका छन् । सेनाले दिएको राहत सामग्रीमा खाद्यान्न, औषधिदेखि दैनिक उपभोग्य वस्तुहरू छन् । तर, पालिकामा बिजुली नभएकाले लाइट, फोन सम्पर्कका लागि सोलार प्यानल र खान पकाउने ग्याँससमेत अभाव भएको स्थानीयले बताएका छन् ।
‘ठूलो हाकुमा सेनाले हालै होलिकोप्टरमार्फत् ८ बोरा सामान झार्यो,’ वडाध्यक्ष साङ लामा तामाङ भन्छन्, ‘हाकुवेसीमा चाहिँ ३ देखि ४ पटक गरेर ५०/६० बोरा सामान झर्यो ।’ तिब्बततर्फबाट आएको बाढीपछि यो क्षेत्रबाट कम्तीमा ७० जना बेपत्ता छन्, एक जनाको शव भेटिएको छ । अहिले खाद्यान्न अभाव हुँदा फेरि अर्को समस्या सिर्जना हुन लागेको जनप्रतिनिधिहरू बताउँछन् ।
वडाध्यक्ष तामाङका अनुसार, गाउँमा खाद्यान्नको समस्या भएपछि उनी धुन्चे आएर नेपाली सेनासँग राहत सामग्रीको संख्या बढाइदिन अनुरोध गरिरहेका छन् । उनले होलिकोप्टरमार्फत केही सामग्री गाउँमा लैजान खोजेका थिए । तर, अवतरण गर्न नसकेपछि फर्किनु परेको थियो । ‘अहिले राहतका लागि एउटा मात्र हेलिकोप्टर छुट्याइएको छ, उद्धारदेखि शवको खोजीमा पनि परिचालित भएकाले संख्या बढाउन नसकिने जवाफ सेनाले दिएको छ’ तामाङले भने।

‘लामो समय हेलिकोप्टरको भर पर्दा झन् समस्या हुने भएकाले सडक सञ्जाललाई जोड्नलाई समेत पहल गरिरहेका छौं । कम्तीमा झोलुङ्गे पुल मात्र राख्न सकिए पनि केही दिनलाई बोकेर लान सकिन्थ्यो कि भन्नेमा छौं ।’ वडाध्यक्ष लामाका अनुसार, ठूलो हाकुमा डेढदेखि दुई सय घरपरिवार बसोबास गर्दै आएका छन् भने हाकुवेसीमा १५० परिवार बस्दै आएको छ ।
काठमाडौंबाट टोखा–छहरे–गड्खार–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे पुग्ने बाटो खुलेयता अहिलेसम्म सदरमुकाममा ९१ हजार किलो खाद्यान्न पुगेको छ । स्थलमार्गमा राहत लिएर हिँडेका ट्रकहरू पनि प्रशस्तै देखिन्छन् । सडक र हवाई मार्ग दुवैबाट आएको सामग्रीलाई २४ स्थानमा वितरण गरिसकेको नेपाली सेनाका सहायक रथी उज्जवल विक्रम राणा बताउँछन् । तर, अझै सबै ठाउँमा पुर्याउन कठिनाइ भइरहेको छ । ‘सेनासँग भएको इक्वेरेल हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ, यसले एकदिनमा ४०० किलोसम्म सामग्री बोक्छ,’ उनले भने, ‘सकेसम्म धेरै र सबैलाई पुग्ने गरी राहत पुर्याउने कोसिस गरिरहेका छौं ।’
राहत कम भएका गोसाइँकुण्ड गाउँपालिकाका क्षेत्रहरूमा थुमन, खाम्दिङ, विदिम, लिङ्दिन, ठूलो स्याफ्रु, रावललगायतका बस्ती छन् । आमाछोदिङमो गाउँपालिकामा त अधिकांश बस्तीमा पर्याप्त राहत पुग्न सकेको छैन । ‘सडक सञ्जालबाट पालिका पूरै बन्द भएको छ, ५/६ बोरा राहतले पुग्दैन । त्यति आउँदा त झगडा मात्र हुन्छ,’ वडा नं. २ ग्रेका दावा दुर्चे तामाङले भने, ‘तत्काल गोरेटो बाटो भए पनि नखोल्ने हो मान्छेहरुलाई बस्नसमेत गाह्रो हुन्छ ।’ उनका अनुसार, यो वडामा बाढीले भौतिक रूपमा क्षति गरेको छैन । तर अधिकांश परिवारका कोही न कोही सदस्य रसुवागढी काममा जाँदा सम्पर्कविहीन भएका छन् । ‘१५१ जना जति सम्पर्कविहीन छन्, बचेका मान्छेलाई समेत बस्ने गाह्रो हुने अवस्था छ,’ उनले भने ।
सडक सञ्जालबाट टुटेपछि बाढीले क्षति नगरेको स्थानमा समेत खाद्यान्न अभाव हुन थालेको छ । लाङटाङबाट फर्किएका धुन्चे आइपुगेका दावा लामा बाढीबाट प्रभावित नभएपछि बस्न लायक नभएपछि फर्किएको बताए। ‘म त्यहाँको लामा होटलमा काम गर्थे, त्यहाँ बाढीले असर त गरेको छैन । तर, अब रासन नै भएन,’ उनले सुनाए, ‘बाटो नभएपछि होटलमा बस्ने पर्यटक पनि आउने भएनन्, अब खानै समस्या हुने भएपछि किन बसिरहनु भन्ने ठानेर आएको हो ।’
रसुवाको कालिकामा औषधि र एम्बुलेन्स आवश्यक भएको जनप्रतिनिधिहरूले बताएका छन् । रसुवा र नुवाकोटको सिमानामा रहेको विदुर–१० मा पर्ने बेत्रावतीका वडाध्यक्ष गणेशकुमार नेपालले चाहिँ माथिल्लो क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा अहिले राहत पुगेको बताए । ‘ठ्याक्कै बेत्रावती बजारमै चाहिँ होल्डिङ सेन्टर राख्ने ठाउँ नै छैन, बगर र वन छ । गाडी पनि राम्रोसँग जाँदैन,’ उनले भने, ‘यद्यपि, ३०/३५ जना त्यहीँ आश्रय लिएर बस्नु भएको छ, उहाँहरूलाई चामललगायतका खाद्यान्न पुर्याइएको छ । तर, भाँडाकुँडा र ग्याँसचाहिँ अभाव छ ।’
राहत वितरणमा समेत एकद्वार प्रणालीलाई लागू गरिँदा विवरणमा कठिनाइ भएको कतिपयले बताएका थिए । तर, पछिल्लो समय नेपाली सेना र जिल्ला प्रशासन कार्यालयले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर सडक मार्गबाट लैजाँदा सम्बन्धित होल्डिङ सेन्टरसम्मै सामान पुर्याउन पनि दिएको छ । ‘हामीले रसुवाको उत्तरगया लगायतका केही ठाउँमा गएर खाद्यान्नसहितका सामग्री दियौं, सोलार प्यानल पनि लगेका थियौं, त्यो चाहिँ गोसाइँकुण्डको अस्थायी कार्यालयलाई दिएर आएका छौं,’ राहत लिएर मंगलबार काठमाडौंबाट रसुवा पुगेका आरके रोमसले भने ।
सडक सञ्जालका हिसाबले सहज रूपमा पुग्न सकिने नुवाकोटको विदुरमा चाहिँ राहतको थुप्रो लागेको छ । राहत लिएर जाने अधिकांश विदुरमा खटिएको सुरक्षा अधिकारीहरू बताउँछन् । जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपाल हालसम्म २३९ वटा संघसंस्थाले विदुरसम्म राहत ल्याएको बताए । ‘ती सामग्रीलाई बुधबार बिहानसम्ममा हामीले १७५ ठाउँमा डिस्प्याच गरेका छौं, पछिल्लो समय रसुवाको उत्तरगयामा पनि तीन पटक हेलिकोप्टरमा पठाएका छौं,’ उनले भने, ‘त्रिशूली अस्पतालमा समेत मेडिकल सामग्री पठाइएको छ ।’
जिल्ला प्रशासन कार्यालय, रसुवाका अधिकारीहरूका अनुसार, सदरमुकाममा राहत नहोस् भनेर पालिकाहरूलाई आवश्यक भए स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरेर पठाइदिन १७ भदौमा पत्र लेखिएको थियो । प्रभावित नागरिकलाई आवश्यक पर्ने राहत सामग्री के–के हुन् र कति जनालाई आवश्यक पर्ने हो भन्ने विवरणसहित हेली वा सवारी साधनबाट कहाँ सामान झार्नुपर्ने हो त्यसको विवरण दिन भनिएको थियो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले हस्ताक्षर गरेको यो पत्र विदुर, बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिकालाई पठाइएको थियो । तर, पालिकाबाट तत्काललाई राहत आवश्यक नभएको जवाफ आएको अधिकारीहरूको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत नेपालले हालसम्म नुवाकोटमा १९ जा होल्डिङ सेन्टर रहेको भन्दै भने, ‘अहिले उहाँहरूलाई सामूहिक खानपानका लागि पर्याप्त छ भनेर भन्नुभएको छ, तर अरुतिरबाट पनि अनुरोध आउनेबित्तिकै पठाइरहेका छौं ।’
राहत वितरणमा खटिएका सशस्त्र प्रहरीका डीएसपी तुलबहादुर भण्डारीले चाहिँ भौगोलिक रूपमा एकदमै कठिन अवस्थामा पीडित बसेकाले राहत सामग्री पठाउन चुनौती देखिएको बताएका छन् । ‘कतिपय ठाउँमा अवतरण गर्ने ठाउँ पनि नभएकाले सानो मात्रामा पठाइरहनु परेको छ,’ उनले भने, ‘प्रत्येक ठाउँमा हेलिकोप्टरमार्फत पुर्याउनुपर्ने अवस्था छ, तर हेलिकोप्टरहरू उद्धारमा पनि खटिनुपर्ने भएकाले समय लागिरहेको हो ।’
नेपाली सेनाका सहायक रथी उज्जवलविक्रम राणाले हेलिकोप्टरबाट पनि पुग्न नसकिने कतिपय ठाउँमा गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष सहितका जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने योजना रहेको बताएका छन् । ‘उहाँहरूलाई रासन दिएर जाने भन्ने योजना हो, तर कतिपय ठाउँमा जनप्रतिनिधि आफैं सम्पर्क विहीन हुनुहुन्छ,’ उनले भने, ‘कतिपय काठमाडौंमा हुनुहुँदो रहेछ, हामी सामान बुझ्ने मानिस खोजिरहेका छौं । सबै ठाउँमा सामान पुर्याउने गरी काम गरिरहेका छौं ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बुधबारसम्ममा रसुवा, नुवाकोटसहितका जिल्लाबाट गरेर करिब ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । हालसम्म नेपाली सेनाले २७३ विदेशी र ४ हजार ९१ नेपाली नागरिकको उद्धार गरेको प्राधिकरणको भनाइ छ । हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको समेत प्राधिकरणले भनेको छ ।
सशस्त्र प्रहरीको संयोजनमा समेत हवाई माध्यमबाट राहत सामग्री पठाइएको प्राधिकरणले भनेको छ । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्की भन्छन्, ‘अहिले दुई वटा हेलिकोप्टर छुट्याएर राहत वितरणका लागि सशस्त्र प्रहरीले संयोजन गरिरहेको छ ।’ हालसमम नुवाकोट, धादिङ, रसुवा र काठमाडौंको होल्डिङ सेन्टरमा ३ हजार ४५३ जना रहेको प्राधिकरणको भनाइ छ । विपद्को उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट २१ हजार ३१४ जना परिचालित रहेको कान्तिपुर दैनिकले जनाएको छ ।














