पोखरा, भोटेकोशीमा आएको विनासकारी बाढीमा परेका पर्वतका शिबप्रसाद लम्सालको शव भेटिने आशा मरेपछि कुशको आकृति बनाएर दाहसंस्कार गरिएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेशीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत ४८ बर्षिय लम्साल भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका थिए।
उक्त घटना पछि लम्सालका आँफन्तहरुले रसुवादेखि चितवनसम्म ६ दिनसम्म निरन्तर खोजी गर्दा पनि उनको जीवित शरीर वा शव नभेटिएको कारण कुशको आकृति बनाएर मंगलवार पर्बतको कालीगण्डकीमा दाहसंस्कार गरिएको हो । कुशको आकृति बनाएर उनको अन्त्येष्टि कर्म गर्दा गाउँलेहरुमा समेत रुवावासी छाएको थियो ।
उनको अन्त्येष्टि कर्ममा कालिगण्डकी किनारमा सयौ गाउँलेहरु तथा आफन्तजनहरु पुगेका थिए । धेरै दिनसम्म कुनै खबर नपाउँदा लम्सालकी श्रीमती, छोराछोरी, बाबुआमा समेतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कारण कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरिएको शिबप्रसाद लम्सालका काका विकास लम्सालले जानकारी दिए ।
एनआईएमबी बैंकको स्याफ्रुबेशी शाखामा कार्यरत लम्साललाई भदौ १० गते बैंकभित्र काम गर्दैगर्दा बाढी आएपछि उनि पनि सम्पर्क बिहिन बनेका थिए । त्यसपछि गाउँबाट गएका आफन्तजन र सुरक्षाकर्मीहरुले निरन्तर खोजतलास गर्दा पनि उनको बारेमा केहि जानकारी नपाउँदा र भौतिक शरीर समेत नभेटिएपछि अन्तिम संस्कार गरिएको पत्रकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।















