वालिंग, स्याङ्जाको गल्याङ नगरपालिका- ८ करादीमा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। गल्याङबाट वडा नम्बर ९ साङलियातर्फ जाँदै गरेको अबस्थामा उकालो र घुम्ती सडकबाट खसेर भएको दुर्घटनामा परि गल्याङ – ८ की २५ वर्षकी निशा पचभैया र गल्याङ – ९ का ६० वर्षका यमबहादुर विकको मृत्यु भएको छ । ग १ ज ६५३४ नम्बरको उक्त जीपमा सवार रहेका चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । आज सोमबार साँझ ५ः४५ बजे भएको दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेहरुको उद्धार गरेका थिए ।
दुर्घटनामा परि घाइते भएका १७ जना मध्ये वसन्ती विश्वकर्मा र देवी विकको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रिफर गरिएको छ । अन्य १५ जना घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ । नगर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा जीप चालक दीपक विक, बोमा खनाल, सगुन विक, टोलबहादुर विक र असिसा पचभैया छन् । यस्तै मेघनाथ खनाल, राधामाया राना, गंगा विश्वकर्मा, दुर्गा विक र यमकला खनालको पनि उपचार भइरहेको छ । घाइतेमध्ये स्नेहा परियार, सुप्रिया थापा, समिर विक, अरुणा गाहा र पार्वती विक भने उपचारपछि डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार चालकको अवस्था मध्यम छ । ‘प्रहरी घटनास्थल पुग्नुअघि नै स्थानीयले घाइतेको उद्धार गरी अस्पताल पठाएका थिए,’ उनले भने । जीपमा कति जना सवार थिए भन्ने सुरुमा यकिन नभए पनि अस्पताल पुगेपछि संख्या खुलेको हो ।
घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो । गल्याङ प्रहरी चौकीबाट पनि ट्राफिकसहित ७ जनाको टोली पुगेको छ । प्रहरीले अस्पतालमा पुगेर घाइतेको पहिचान र विस्तृत विवरण संकलन गरिरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अवस्थीले बताए ।















