पोखरा, पोखरा प्रज्ञा प्रतिष्ठानको नवनियुक्त पदाधिकारी एबम सदस्यहरुलाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले सपथ गराएका हुन् । आचार्यले कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ ले मेयर आचार्यबाट सपथ लिएपछि कुलपति प्रतीक्षाले उपकुलपति, सदस्य–सचिव र प्रज्ञा परिषद् तथा सभाका सदस्यहरूलाई सपथ गराएकी हुन् ।

सपथ लिएलगत्तै नयाँ टोलीले पोखराको पृथ्वीचोकमा नवनिर्मित पोखरा घरमा रहेको प्रतिष्ठानको कार्यालयमा पदभार समेत ग्रहण गरेको छ ।प्रतिष्ठानमा भाषा र साहित्य क्षेत्रबाट कुलपति बनेकी सरस्वती लालचन ‘प्रतीक्षा’ सँगै कला क्षेत्रका तिलक पुर्जा पुन मगरले उपकुलपति र लोकगीत अनि संगीत क्षेत्रका जीवन दाहालले सदस्य–सचिवको कार्यभार सम्हालेका छन् ।
प्रज्ञा परिषद् सदस्यका रूपमा नृत्यतर्फ श्रीजंग गुरुङ, ललितकलातर्फ हरेराम जोजेजु, संगीततर्फ दिलीप गायक र रंगमञ्चतर्फ प्रमिला ताम्राकार तुलाचनले सपथ लिएका छन् । त्यस्तै प्रज्ञा सभा सदस्यहरूमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरुङ र नवराज अधिकारी छन् । प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रवीन्द्र माकाजु, रिता पहारी र शिवहरि ढुंगानाले पनि सभा सदस्यको सपथ लिएका छन्।
त्यस अबसरमा बोल्दै मेयर आचार्यले विभिन्न विधाका सर्जक र कलाकारहरू एउटै संस्थागत संरचनामा जोडिएकाले पोखराको प्राज्ञिक क्षेत्र थप व्यवस्थित हुने विश्वास व्यक्त गरे । सहरको ऐतिहासिक र सांस्कृतिक गरिमा जोगाउन यो टोलीको भूमिका महत्वपूर्ण हुने उनले बताए ।















