काठमाडौँ, प्रमुख बिपक्षी दल नेपाली कांग्रेसले बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसर पारेर ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ को घोषणा गरेको छ। बीपी स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रममा सभापति गगन थापाले उक्त अभियानको घोषणा गरेका हुन् । आगामी भदौ २४ गते विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्तीका अवसर पारेर अभियानको सुरुवात गरिने सभापति थापाले जानकारी गराए । अभियानको उद्देश्य नेपाली कांग्रेस फर नेशनल कज अर्थात ‘एनसी फर एनसी’ रहेको र अभियानले चारवटा क्लस्टरमा काम गर्ने सभापति थापाले बताए ।
ती चार कलस्टरमध्ये पहिलोमा पार्टीका सदस्यहरूले रक्तदान, श्रमदान लगायत विषयमा प्रण गर्ने काम गर्नुपर्ने, दोस्रोमा वैयक्तिक सहयोग अभियानमा सहभागी हुने, तेस्रोमा नागरिक अभियानमा लाग्ने र चौथोमा सुशासन अभियानमा लाग्ने गरी अभियान सञ्चालन गरिने सभापति थापाले बताए । नयाँ घोषणा गरिएको यस अभियान अन्तर्गत नेपाली कांग्रेसका हरेक सदस्य र समितिहरूले एक वर्षभर पार्टी सदस्यले के-के सामाजिक काम गर्ने भन्नेबारे खुलाएर प्रतिज्ञा गर्नुपर्नेभएको छ।

नागरिकका समस्यालाई आफ्ना एजेन्डामा समेट्ने गरी समाजसँग जोडिन यस्तो अभियान सञ्चालन गर्न लागेको जानकारी दिंदै सभापति थापाले भने ‘समाजसँग जोडिएको कांग्रेसलाई नागरिकहरूले आफै माया गरेर सत्ता चलाउनुपर्छ भन्ने बनाइदिन्छन्, हामीले चुनावको चिन्ता गर्नैपर्दैन,’ राष्ट्रिय सभागृहमा ४४ औं बिपी स्मृति दिवस तथा जरा अभियान समापन र नयाँ संकल्प घोषणा कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘त्यसैले पहिले जहाँ गल्ती भएको छ त्यहाँ जाऔं, समाजसँग पुन: कसरी जोडिने भन्ने चिन्तन गरौं।’
कांग्रेसको कुनै साथी यो एक वर्ष रक्तदान अभियान, वृक्षरोपण, सार्वजनिक पूर्वाधार निर्माण, स्वास्थ्यलगायत कामसँग जोडिन चाहन्छु भन्नुहुन्छ भने ठिक छ, यो समाजिक सेवासम्बन्धी कलस्टर भयो। अर्को भनेको व्यक्तिक सहयोगको क्लस्टर।जस्तै ‘मैले सर्लाही- ४ का ४ जना बालबालिका लाई ललितपुरको एक विद्यालयमा कक्षा ४ देखि १० सम्म पढ्न पाउने गरी व्यवस्था गरेको छु’ उनले भने।
युवा अभियान, छुवाछुत तथा महिला हिंसाविरूद्ध अभियान र नागरिक सहजीकरण, सुशासनका क्षेत्रमा नीति निर्माणमा काम गर्न वा ज्येष्ठ नागरिक, कला, साहित्य जुनसुकै क्षेत्रमा पनि प्रतिज्ञा गर्न पाइन्छ, तर भदौ २४ गते प्रतिज्ञा गर्नुपर्छ,’ उनले भने, ‘कसले के प्रतिज्ञा गरेको छ पार्टीको अभिलेखमा रहन्छ। क्षेत्रहरू थप गर्न सकिन्छ। भदौ २४ गते प्रत्येक कांग्रेस कार्यकर्ताले एक वर्षका निम्ति आफूले गर्ने एउटा अभियानको प्रतिज्ञा गर्नुपर्छ, यो स्वेच्छिक हो,’ उनले भने, ‘पार्टी समितिले एकै काम गर्छौं पनि भन्न पाइन्छ।’
चुनावका कुरा निकालेर कतिपयले तर्साउन खोजेको बताउंदै उनले भने ‘मलाई कतिपय साथीहरूले बेलाबेला तर्साउन खोज्नुहुन्छ, कहिलेकाहीँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ, हेरौंला स्थानीय र प्रदेश चुनाव भन्नुहुन्छ, हामी बिपी कोइरालाका कार्यकर्ताहरू हौं, एउटा चुनावबाट मात्तिहाल्ने र आत्तिहाल्ने होइन। चुनाव नजितिएला भनेर हामी आस्थासँग सम्झौता गर्दै समाज र सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन यो,’ सभापति थापाले भने, ‘चुनावको सामना गर्छौं तर हाम्रा लागि प्राथमिक कुरा नागरिकको विश्वास र भरोसा हो।’
‘नयाँ आएका साथीभाइलाई पुरानोप्रति अविश्वास हो भन्ने लागेको छ, हामी आयौं धमाधम समस्या समाधान हुन्छ भन्नुभएको छ, केही समयमा थाहा पाउनुहुन्छ,’ उनले भने, ‘किनकि यो कुनै सरकारसँग जोडिएको विषय होइन, सिंगो समाज एक ठाउँमा आएर काम गर्नुपर्नेछ। हामी लाखौं कांग्रेस कार्यकर्ताले एक एक काम गर्दा यो वर्ष कति नयाँ र सकारात्मक काम हुन्छ, हेरौं।’
उनले नागरिक भरोसा जगाउने अभियान सञ्चालन गर्न लागिएको बताए। ‘यो नागरिक भरोसा जगाउने अभियान हो। सकारात्मकतालाई जागृत गराउने अभियान पनि हो यो,’ उनले भने, ‘कतिले सोध्नुहोला पार्टीलाई यसबाट के फाइदा छ र चुनावसँग कसरी जोडिन्छ, चुनावको धेरै चिन्ता नगरौं, बिपी कोइरालाका कार्यकर्ता भन्छौं, प्रधानमन्त्री भएको मानिस ८ वर्ष जेल बस्नुभएको थियो।’
उनले कार्यकर्ताहरूलाई रिलबाट रियल लाइफमा आउन पनि आग्रह गरेका छन्। ‘साथीहरू एक पटक रिलबाट निस्केर रियल लाइफमा जाऔं,’ उनले भने। पार्टीलाई जीवित राख्न, जनविश्वास पुनर्स्थापित गर्न अभियानको सुरु गर्न लागिएको थापाको भनाइ छ । अभियानको साझा उद्देश्य नागरिकको हितमा काम गर्ने रहेको उनले बताए। आजदेखि भदौ २४ गतेसम्म सबैले आफू सहभागी हुने र आफूले सञ्चालन गर्ने अभियानबारे सोच्ने र भदौ २४ गते बीपी जयन्तीका दिन प्रण गर्दै घोषणा गर्नुपर्ने थापाले बताए।

सोहि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचना र मतभेदलाई स्वभाविक रूपमा लिँदै त्यसको प्रतिवाद गाली वा आक्रोशबाट नगर्न आग्रह गरे। पार्टीको संस्थापन इतर समूहका नेताहरूले अघिल्लो दिन इतर समूहको भेला र त्यहाँ व्यक्त विचारप्रति गरेको तीखो टिप्पणी र गालीगलौजप्रति लक्षित गर्दै उपसभापति शर्माले भने, ‘कसैले कतै भेला भएर एकदमै आलोचना गर्नुभयो भन्दैमा त्यसकै पछि लागेर वा त्यसैको बदलामा ढुङ्गा हानेर हामी आफ्नो गन्तव्यमा पुग्न सक्दैनौँ,’ शर्माले भने । उनले पार्टीभित्र विचारको मन्थन हुँदा त्यसलाई उत्तेजनाका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए ।
उनले थपे, ‘बाटोमा हिँड्दा कसैले आलोचना गर्यो भन्दैमा हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्छ । त्यसैले हामी ढुङ्गा हान्ने होइन, आफ्नो उद्देश्यमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ ।’ बीपी कोइरालाको मेलमिलाप र सहिष्णुताको राजनीतिको स्मरण गर्दै शर्माले अहिलेको नवीन परिस्थितिमा कांग्रेसले आन्तरिक कलहभन्दा पनि नीति र विचारमा केन्द्रित हुनुपर्ने बताए ।
पार्टीका महामन्त्री प्रदिप पौडेलले नेपाली कांग्रेसलाई मुलुककै सबैभन्दा बढी सदस्य भएको र पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिएको पार्टी बनाउने अभियान सुरु भएको बताए । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका महामन्त्री पौडेलले पार्टीको सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अघि बढेको बताए । ‘गत पुससम्म ७ लाख ८८ हजार सदस्यको विवरण अद्यावधिक गरिएको छ’ उनले भने, ‘नवीकरण गरिएका सदस्यहरूले फेरि किन अद्यावधिक गर्ने भन्ने केही अन्योलका बाबजुद ८० प्रतिशतभन्दा बढीले आफ्नो विवरण अद्यावधिक गरिसक्नुभएको छ । यसका लागि सहयोग गर्ने सबैप्रति म आभार व्यक्त गर्दछु ।’
महामन्त्री पौडेलका अनुसार अब नयाँ सदस्यता पूर्ण रूपमा डिजिटल माध्यमबाट लिने व्यवस्था गरिएको छ । ‘अब कांग्रेसका हरेक सदस्यसँग आफ्नै डिजिटल आइडी हुनेछ, नेपाली कांग्रेसका सबै सदस्य एउटै डिजिटल नेटवर्कमा जोडिनेछन्, जसले पार्टीलाई प्रविधिमैत्री र आधुनिक बनाउनेछ ।’ महामन्त्री पौडेलले १८ वर्ष पुगेका र राजनीतिक दलको सदस्य बन्न योग्य सबै नेपालीका लागि कांग्रेसको ढोका खुल्ला रहेको बताए। पार्टीको केन्द्रीय संरचनामा युवाहरूको भूमिका बढाउन ३५ वर्षभन्दा कम उमेरका २१ जनालाई केन्द्रीय समितिमा ल्याउने विशेष व्यवस्था विधानमै गरिएको उनले जानकारी दिए ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अब उम्मेदवार छनोटको प्रक्रिया पनि परिवर्तन हुने उनको भनाइ छ । ‘आगामी दिनमा कांग्रेसले विभिन्न तहका निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा सदस्यहरूबिच प्रारम्भिक निर्वाचन गराएर मात्र गर्नेछ,’ उनले भने । १४ औँ महाधिवेशनमा रहेका सदस्यहरूको सङ्ख्याकै हाराहारीमा १५ औँ महाधिवेशन अगावै सदस्यहरू अद्यावधिक भइसक्ने अवस्था बनेको भन्दै उनले कांग्रेसलाई नेपालकै सबैभन्दा ठुलो र अनुशासित सदस्यहरूको सङ्गठन भएको पार्टी बनाउने दाबि समेत गरे ।
















