काठमाडौँ, ४४ औं बिपी स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेसमा बिशेष महाधिबेशनबाट बनेको नेपाली काँग्रेसको संस्थापन पक्षको इतरमा रहेका कांग्रेस नेताहरुको आव्हानमा साउन ६ गते बुधवार काठमाडौँ आयोजित कार्यक्रमबाट यहि साउन २९ गते संस्थापन इतार पक्षको राष्ट्रिय भेला गर्ने घोषणा गरिएको छ। उक्त कार्यक्रममा बोल्ने सबैजसो नेताहरुले नेपाली काँग्रेसमा बृहत्तर एकताको खाँचो औंल्याउँदै वर्तमान अबस्थामा एकताको बाताबरण तयार गर्न बिशेष महाधिबेशनबाट सभापति बनेका गगन थापाले नै चाहना गर्नुपर्ने र गम्भीरता देखाउनुपर्नेमा सबैले जोड दिए ।
सोहि कार्यक्रममा कांग्रेस नेता एबम पुर्व उपसभापति प्रकाशमान सिंहले पार्टीलाई एकताबद्ध र बलियो बनाउन आबश्यक रहेको भएपनि बिशेष महाधिबेशनबाट बनेको केन्द्रीय नेतृत्वले यसबारेमा गम्भीरता नदेखाएको बताए । यस अगाडी संस्थापन इतर समुहले सातवटा प्रदेशमा भेला गरिसकेको कारण साउन २९ गते राष्ट्रिय भेला गरिन थालेको जानकारी गराउंदै उनले कांग्रेस बलियो नभए मुलुकको राष्ट्रियता र प्रजातन्त्र समेत कमजोर हुने दाबि गरे। कार्यक्रमको अध्यक्षता गरेका कांग्रेस नेता सिंहले सम्बोधनको क्रममा आब हुने १५ औं महाधिवेशन एकताको महाधिबेशन बनाउनुपर्ने पक्षमा आफूहरू रहेको समेत स्पष्ट पारे।
पार्टी एकता र भविष्यको साँचो गगनको हातमा, सम्मान त्यागेर समर्पण गरिंदैन – खड्का

कार्यक्रममा बोल्दै पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको भविष्य र एकताको सम्पूर्ण साँचो सभापति थापाकै हातमा रहेको बताए । ‘गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) ले नचाहँदासम्म विगतमा फुटेको नेपाली कांग्रेस एक भएको थिएन, अहिले गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन । मैले सभापतिजीलाई भेटमै भनेको छु— पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा तपाईंको हातमा छ । आज मिलाउने निर्णय तपाईंले गर्ने हो, त्यो बुझ्नुहोला,’ खड्काले चेतावानीको शैलीमा भने।
खड्काले नियमित १४औँ महाधिवेशन र विशेष महाधिवेशनका संरचनालाई नजोडी पार्टी एक हुन नसक्ने अडान दोहोर्याए । ‘नियमित महाधिवेशन र विशेष महाधिवेशन जोड्नुस् गगनजी, त्यो जोड्नुभयो भने कांग्रेस एक हुन्छ । १५औँ महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने ग्यारेन्टी गर्नुस्, कांग्रेस एक हुन्छ,’ खड्काले भने, ‘केन्द्रीय समितिलाई जोड्नुस् भनेका हौँ, के सबैलाई एकै ठाउँमा राख्नुस् भन्दा पद मागेको हो? उनले प्रश्न गरे । हामीले यसअघि नै सबै पदहरू पाइसकेका छौँ, हामीलाई पद चाहिएको छैन । हामी अन्तिम क्षणसम्म सहमतिका लागि लागिरहन्छौँ, तर सम्मान त्यागेर समर्पण गर्न सकिन्न, बरु मर्न तयार हुन्छौँ ।’ खड्काको भनाई थियो
कानुनी बैधता पाउँदैमा गगन थापा समेतले फर्क मत राख्ने नेता र पार्टीको इतिहास सिध्याउने काम गर्नुभएन – गच्छदार

कार्यक्रममा बोल्दै कांग्रेस नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरे। निर्वाचन आयोग र अदालतले नेतृत्वलाई वैधानिकता दियो भन्दैमा पार्टीमा फरक मत राख्ने नेता र पार्टीको इतिहासलाई सिध्याएर अघि बढ्नुहुन्न भन्दै नेता गच्छदारले पार्टी निर्माणका लागि ठुलो त्याग र बलिदान गरेका नेताहरू संस्थापन इतर पक्षसँग रहेको दाबी गर्दै उनले कांग्रेसको आत्मा र भावना आफूहरूसँगै रहेकाले यसलाई नजरअन्दाज नगर्न पनि चेतावनी दिए।
‘म सबैलाई आह्वान गर्दछु, कांग्रेस यहाँ छ। कांग्रेसको भावना र आत्मा यहाँ छ,’ नेता गच्छदारले भने, ‘सभापति गगन थापाज्यू, कांग्रेसमा ठुलो त्याग र बलिदान गरेका नेताहरू तपाईँभन्दा बाहिर छन्।’ उनले थपे, ‘तपाईँ विशेष अधिवेशनबाट सभापति बनिसक्नुभयो। वैधानिक रूपले तपाईँलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको छ। तपाईँ बलियो सभापति हुनुभयो। तर यति धेरै बलियो सभापति भएर तपाईँसँग असहमति भएका कांग्रेसलाई सिध्याएर सभापति बन्न सुहाउँछ?’
संस्थापन पक्षलाई समयको महत्त्व दर्साउँदै गच्छदारले भने, ‘त्यसैले सभापतिलाई मेरो सन्देश छ, समय कसैका लागि पर्खिँदैन। तपाईँका लागि निकै राम्रो समय आएको छ।’ ‘सभापति भएर तपाईँ बीपी कोइरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै सबैलाई मिलाएर जानुस्। पार्टीको असहमत पक्षलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन सम्पन्न गर्न सफलता हासिल गर्नुस्, मेरो शुभकामना छ।’
निरंकुशता र हुकुमी शैलीमा अहिले कांग्रेस चल्यो – डा. शेखर

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको आरोप लगाए । ‘कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ’, कोइरालाले भने– ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ ।’
उनले वर्तमान सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न चेतावनी दिए । साथै उनले वडा सभापति हरुलाई सदस्यता अद्यावधिक नगरेको नाममा विना स्पष्टीकरण निकालेको भन्दै त्यो स्वीकार्य नहुने र पार्टी एकता कायम राख्न सभापति थापाले नै अग्रसरता लिनुपर्नेमा जोड दिए ।
हाम्रो माग र सहमतिको आधार स्वीकार नगरे नयाँ बाटो तय गर्नुपर्छ – निधि
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी एकताका लागि ठोस पहल नगरिए आफूहरू नयाँ बाटो तय गर्न बाध्य हुने चेतावनी दिए। नेता निधिले पार्टीलाई एकताबद्ध राख्न आफूहरूले अघि सारेका माग र एजेन्डाहरूलाई नै एकताको मुख्य आधार बनाउनुपर्ने कुरामा जोड दिंदै उनले अब हुने राष्ट्रिय भेलासम्म पनि नेतृत्वले सहमति नगरे नयाँ राजनीतिक बाटो रोज्ने स्पष्ट पारे ।
एकताका लागि पटक पटक प्रयास गरिरहेको र अत्यन्तै सामान्य मागहरू अघि सारेको भन्दै निधिले भने, ‘यदि हाम्रा माग र सहमतिका आधारहरू स्वीकार गरिएन भने नयाँ बाटो तय गर्नु हाम्रो बाध्यता हुनेछ । यी आधारहरू नमान्नुले नेतृत्व पार्टी एक राख्न चाहँदैन भन्ने देखिन्छ ।’ विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापाको कार्यशैलीप्रति टिप्पणी गर्दै निधिले नेतृत्वमा हुनुपर्ने आवश्यक दूरदर्शिता नदेखिएको र यसले अपरिपक्वता प्रदर्शन गरेको आरोप लगाए ।
हालसम्म सहमतिको कुनै सङ्केत नदेखिएकोमा असन्तुष्टि जनाउँदै उनले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मात्र जिम्मेवार पदाधिकारीका रूपमा निर्वाचन आयोगले निर्णय गरेकोमा पनि असन्तुष्टि जनाए । ‘के उहाँहरू मात्र जिम्मेवार र अरू बाँकी पदाधिकारीहरू गैरजिम्मेवार थिए,’ निधिको प्रश्न थियो ।
नेपालको भौगोलिक एकीकरणमा पृथ्वीनारायण शाह र आधुनिक एवं लोकतान्त्रिक राज्य निर्माणमा जननायक बीपी कोइरालाको योगदानको स्मरण गर्दै उनले बीपीले प्रतिपादन गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को एजेन्डा भुलेर ‘सामाजिक लोकतन्त्र’ को वकालत गर्नु पश्चगमन भएको टिप्पणी गरे। केही कांग्रेसीले रास्वपाको सिको गर्दै सामाजिक लोकतन्त्रको कुरा उठाउनु उपयुक्त नभएको उनको भनाइ थियो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको पक्षमा नरहेको आरोप लगाउँदै निधिले संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप परिमार्जन गर्न सरकार उदासीन देखिएको बताए ।
पार्टीमा एकता कायम हुन् नदिन संस्थापन पक्षले अनेक चलखेल गर्यो – सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पार्टीलाई एकताबद्ध हुन नदिन संस्थापन पक्षले अनेक चलखेल गरिरहेको आरोप लगाए।पार्टीभित्रको आन्तरिक असन्तुष्टि समाधानका लागि आफूहरूले राखेको माग निकै सामान्य रहेको भन्दै उनले विशेष महाधिवेशन गरेर विघटन गरिएका साथीहरूलाई सँगै भन्ने सानो माग पूरा गर्न नेतृत्व किन तयार भइरहेको छैन ? भनि प्रश्न गरे।
मुलुक र लोकतन्त्र सङ्कटमा परेको बेलामा पार्टीलाई एक बनाउन किन कन्जुस्याइँ गरिँदै छ ?’ मुलुकका संवैधानिक अङ्गहरू र न्यायपालिकाको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सिटौलाले संविधानको मूल मर्म सङ्कटमा परेको टिप्पणी गरे । ‘अहिले देशको न्यायपालिका र संवैधानिक निकायहरू कुन अवस्थामा छन् ? के उनीहरूले निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न पाएका छन् ?’ सिटौलाले प्रश्न गर्दै भने– ‘संविधानको मूल आत्मालाई जोगाउने मुख्य दायित्व कांग्रेसको हो । तर, सबैलाई बाहिर राखेर केवल विशेष महाधिवेशनबाट आएको नेतृत्वले मात्र यसलाई जोगाउन नसक्ने स्पष्ट पारे।
विगतका द्वन्द्व र सङ्कटहरूको स्मरण गर्दै उनले ऐतिहासिक घटनाहरूले देशलाई ठुलो क्षति पुर्याएको उल्लेख गरे । ‘भदौ २४ गते हाम्रा घर जलेको कुरा सामान्य थियो, तर पूरै देश जल्यो,’ सिटौलाले भने ।
असन्तुष्टि र मतभेदलाई समयमै सम्बोधन गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको हो – डा. शशांक

नेपालीका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशाङ्क कोइरालाले पार्टीभित्रको मतभेद र असन्तुष्टिलाई समयमै सम्बोधन गर्दै पार्टी एकता कायम राख्न संस्थापन पक्षसंग आग्रह गरे । उनले बीपी इरालाले सत्ताहितलाई भन्दा राष्ट्रहितलाई केन्द्रमा राखेर गरेको राजनीतिलाई सबै कांग्रेसीजनले अनुसरण गर्नुपर्ने बताए । ‘बीपीले राजनीतिलाई सत्ताहितका लागि नभई राष्ट्रहित र जनहितका लागि गर्नुभयो’, डा.शशाङ्कले भने, बीपीले लिएको समाजवाद र मेलमिलापको नीति अहिले पनि उतिकै आवश्यक छ ।’ बिपी पुत्र समेत रहेका डा. कोइरालाले भने ।
उनले पार्टीभित्रका असमझदारी, अस्वस्थ प्रतिस्पर्धा र विवादले पार्टीलाई कमजोर र नागरिकमा नकारात्मक असर पर्ने कुराबारे अहिलेको नेतृत्वलाई ध्यान दिन पनि आग्रह गरे । ‘बीपीको नीति पनि संवाद र सहकार्यको नीतिले पनि यही प्रेरणा दिन्छ’, उनले भने, ‘आरोप र प्रत्यारोप छाडेर पार्टीको एकता र सहकार्यका लागि अपिल गर्दछु।’ पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई समयमै सम्बोधन गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको स्पष्ट पारे। कांग्रेस नेता कार्यकर्ताको भावनाअनुसार एकताबारे सम्बोधन गर्नुपर्ने भन्दै समयमै यसबारे नसोचे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार अहिलेको नेतृत्वले नै लिनुपर्नेमा समेत उनले जोड दिए ।
कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान दिन हुँदैन, छिटो निष्कर्षमा पुगौं – मोहन बस्नेत

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताएका छन्। नेता बस्नेतले पार्टी एकता गर्नका लागि निकै ढिला भइसकेकाले अब नयाँ ढङ्गबाट पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्नेमा पनि जोड दिए। नेपाली कांग्रेस कमजोर भएको अवस्थामा प्रजातन्त्र समाप्त हुनुका साथै मुलुक नै दुर्घटनामा जाने खतरा रहेको भन्दै उनले त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताए।
कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान दिन नहुने असन्तुष्टि र मतभेदलाई समयमै सम्बोधन गर्ने जिम्मेवारी वर्तमा टिप्पणी गर्दै उनले तत्काल राष्ट्रिय भेला आयोजना गरी निष्कर्षमा पुग्नुपर्ने बताए। ‘दुई महिना अघिदेखि नै पार्टी बनाउने काम गरेको भए अहिले महिनैपिच्छे समय थप्नुपर्ने स्थिति आउँदैनथ्यो,’ नेता बस्नेतले भने, ‘हामीबाटै कमीकमजोरी र ढिलासुस्ती भयो। त्यही कारणले हाम्रा साथीभाइहरू बाध्य भएर पार्टीभित्र आफ्नो अस्तित्व खोजिरहेका छन्।’ भ्रातृ सङ्गठनहरूको अवस्थाबारे बोल्दै उनले थपे, ‘१२-१५ वर्षमा पनि अधिवेशन हुँदैन। वृद्ध हुने बेला भइसक्यो तर तरुण दल भनेर बसेका छन्। अब यो भन्दा पछिको जिम्मेवारी कसले लिने ?’
नेपाली कांग्रेस कमजोर भए मुलुकको प्रजातन्त्र खतरामा पर्ने उनको भनाई थियो। ‘नेपाली कांग्रेस कमजोर भयो भने मुलुकमा प्रजातन्त्र मात्रै दुर्घटनामा पर्ने होइन, मुलुक कसको हातमा जाने हो भन्ने कुरा पनि गम्भीर छ। त्यही कुरालाई ध्यानमा राखेर आज सातवटै प्रदेशको भेला भयो। लगत्तै राष्ट्रिय भेला गर्ने भनेका थियौँ, त्यसमा पनि ढिला भइरहेको छ।’
‘हामीले पार्टी फुटाउने होइन, अर्को बलियो पार्टी बनाउने हो। गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरू सती जान दिने होइन। कमजोर पार्टीको नेता बन्नुभन्दा बलियो पार्टीको कार्यकर्ता बन्नुपर्छ।’ बस्नेतको भनाई थियो ।
बिशेष महाधिबेशनमा भाग लिने र नलिनेलाई एक बनाउनु नेतृत्वको दायित्व हो – साउद

नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले पार्टीभित्रका सबै पक्षबिच राजनीतिक एकता कायम नभएसम्म नेपाली कांग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गरेका छन्। नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकताबद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरे।
उनले संस्थापन इतर समूहमा रहेका नेता-कार्यकर्ताहरू कसैका ‘लास र दास’ नभई नेपाली कांग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरेका छन्। मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकताबद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भूमिका र अग्रसरता लिनुपर्नेमा जोड दिए।
‘निर्वाचन आयोग र अदालतले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरे पनि जबसम्म राजनीतिक रूपमा विशेष अधिवेशनमा भाग लिने र नलिने कांग्रेसलाई एक बनाएर अगाडि बढ्न सकिंदैन, तबसम्म मुलुकका चुनौतीहरूलाई नेपाली कांग्रेसले सामना गर्न सक्दैन,’ साउदले भने, ‘मुलुकको चुनौतीहरूलाई सामना गर्ने शक्तिशाली मियो नेपाली कांग्रेस बन्न सक्दैन। यही कुरालाई दृष्टिगत गरेर पार्टी एकताको माध्यमबाट मुलुककै राजनीतिलाई रूपान्तरण गर्ने गरेर अगाडि बढ्नुपर्छ भनेर हामी अगाडि बढिरहेका छौँ।’
पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र सङ्घर्ष गरेका पुराना नेता-कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको तर्क थियो। यस कार्यक्रममा सहभागी ८० प्रतिशत साथीहरु जेल गएका, दुःख पाएका, पार्टी निर्माणमा लाठी खाएका, पार्टीको जिम्मेवारी बोकेका र भविष्यमा पनि सङ्घर्ष गर्नेहरु हुनुहुन्छ। त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्वमा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन्, यी भरोसा र विश्वास हुन्।’
पार्टीभित्र एकताको आवश्यकता औँल्याउँदै उनले भने, ‘जबसम्म तपाईँहरूले सच्चिएर, सबै मिलेर मात्रै लडाइँ जित्न सकिन्छ भन्ने मान्यता लिएर अगाडि बढ्न सक्नुहुन्न, तबसम्म नेपाली कांग्रेस प्रभावकारी र बलियो पार्टीका रूपमा स्थापित हुन सक्दैन।’ साउदले २००७ सालको क्रान्ति, पञ्चायतविरुद्धको आन्दोलन र राजतन्त्र अन्त्यका लागि कांग्रेसले खेलेको ऐतिहासिक भूमिका र बलिदानलाई बिर्सन नहुने उनले बताए। ‘नेपाली कांग्रेसको इतिहास र विरासतलाई पन्छाएर, ७ सालको क्रान्ति, पञ्चायत र राजा फ्याँकेको इतिहास पन्छाएर विरासत कायम राख्न सकिँदैन,’ साउदले भने, ‘यहाँ उपस्थित नेताहरू व्यक्ति मात्रै होइनन्, सबैसँग जेल गएको, बलिदान र योगदान गरेको इतिहास छ।’
कांग्रेसको संस्कार अनुसार अहिले पार्टी चलेन – डा. महत

सोहि कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाए। नेता महतले कांग्रेसको परम्परा सामूहिक निर्णय प्रक्रिया र सबैको विचारको सम्मान गर्ने रहेको स्मरण गराउंदै प्राविधिक रूपमा विशेष अधिवेशनबाट नेतृत्वमा आएका गगन थापाले नेपाली कांग्रेस एक्लै चलाउनुभएको छ, जुन कांग्रेसको संस्कार होइन,’ उनले भने, ‘पार्टी सबैको विचारलाई जोडेर र मन्थन गरेर मात्र अगाडि बढ्न सक्छ ।’
१५ औँ महाधिवेशनलाई निष्पक्ष र सबैको सम्मानजनक सहभागिता सुनिश्चितताको प्रस्ताव अघि सार्दै डा. महतले १४ औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई समायोजन गर्नुपर्ने, वा दुवै पक्षलाई समेटेर एउटा राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गरे । ‘सबैलाई समेटौँ भन्नु कसरी नाजायज हुन्छ ? बरु सबैलाई बाहिर राखेर एक्लै गर्छौँ भन्नु कत्तिको जायज हो ?’ महतले प्रश्न गरे। आफ्नो प्रस्तावलाई नेतृत्वले नजरअन्दाज गरे गम्भीर परिस्थिति सिर्जना हुने सङ्केत गरे । ‘नेतृत्वले केही दिनमा यो वास्तविकता बुझोस् भन्ने हाम्रो चाहना छ । यदि त्यसो भएन भने कांग्रेसको भौतिक शरीर त्यहाँ रहला, तर आत्मा यहाँ रहनेछ र हामी आत्मासहित अघि बढ्नेछौँ,’ उनले भने ।
राजनीतिक एवं सांस्कृतिक सन्दर्भ जोड्दै नेता महतले जननायक बीपी कोइरालाको विचारको चर्चा गरे । ‘ बीपीले राजालाई राख्नुपर्छ भन्नुभएको थियो। अहिले राजा नभए पनि नेपालको मौलिक धर्म, संस्कृति र संस्कारलाई हामीले बचाएर लैजानुपर्छ,’ डा. महतले भने। अहिले देशको धर्म र संस्कृतिलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले सबै धर्मावलम्बीहरू बिचको एकता सुदृढ गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने खाँचो औंल्याए।
कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन गगन थापाले बार्ताको प्रक्रिया शुरु गर्नुपर्छ- भट्टराई
नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले मुलुकको वर्तमान परिस्थितिमा पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्। नेता भट्टराईले कांग्रेस कमजोर भए देशको समग्र प्रणाली नै संकटमा पर्ने चेतावनी दिंदै कांग्रेस एकताबद्ध भएन भने लोकतन्त्र र संविधान पनि नजोगिने चेतावनी दिए ।
विगतका राजनीतिक सङ्कटहरूमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनले संविधान निर्माणको अन्योल, मुलुकको अशान्ति, माओवादी द्वन्द्व र मधेस आन्दोलनका समयमा राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएर निकास दिने काम कांग्रेसले नै गरेको उल्लेख गरे । यिनै ऐतिहासिक जिम्मेवारीहरूका कारण पनि कांग्रेसमा एकता अपरिहार्य रहेको उनको भनाइ थियो ।
एकताका लागि हलमा बस्ने कार्यकर्ता वा शुभेच्छुकहरूको चाहना मात्र पर्याप्त नहुने भन्दै उनले नेतृत्व तहबाटै ठोस कदम चालिनुपर्नेमा जोड दिए । भट्टराईले पार्टीलाई थप सुदृढ बनाउनका लागि सभापति र गगन थापाले एकताको वातावरण सिर्जना गर्दै तत्काल वार्ता प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिए ।
एकलौटी निर्णय नसच्चिए पार्टीमा बिद्रोह र दुर्घटना- काफ्ले
युवा नेता कुन्दन काफ्लेले नेतृत्वले विधि र प्रणाली मिचेर गरेका एकलौटी निर्णयहरू नसच्चिए तल्लो तहदेखि नै विद्रोह सुरु हुने र त्यसले पार्टीलाई गम्भीर दुर्घटनातर्फ लैजाने चेतावनी दिए । उनले पार्टीको निर्णय प्रक्रियामा युवा र इमानदार कार्यकर्ताको भावना नसमेटिए नयाँ पुस्ताले समानान्तर पाइला चाल्न ढिला नगर्ने स्पष्ट पारे ।
अब पाईला रोक्न कठिन हुन्छ – बलायर
कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पनि अब आफूहरू सम्झौता र पर्खाइको अवस्थाभन्दा माथि उठिसकेको बताए । ‘हामीले घरको दैलोबाट पाइला बाहिर निकालीसक्यौँ, अब पाइला रोकिँदैनन् । अद्यावधिक गरेका क्रियाशील सदस्य कति रहन्छन् हेरौँला । अझै पनि हामी लक्ष्मण रेखाभित्रै छौँ, तोडिसकेका छैनौँ । नजरअन्दाज गर्नुभयो भने पाइला रोकिन्नन्,’ बलायरले भने ।
















