Play

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा आयोजित ग्रीन रन प्रतियोगितामा मुकेश प्रथम, कल्याण कोषको घोषणा

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष तर्फका बिजयी धावकहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ। ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हुन।

प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको दुरी १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेश बहादुर पाल प्रथम भएका छन उनलाई सभापति थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए। त्यसैगरी दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ र तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार रुपैयाँ प्रदान गरिएको थियो।

प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ हुनुभएका अमृत ठकुरीलाई १० हजार र छैठौ हुनुभएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि झण्डै १ हजार ४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उनिहरुलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ । ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगीको रुपमा सहभागी भएको र सयौँले अप्रतियोगीको रुपमा समेत सहभागिता जनाएका थिए।

ग्रीन रन प्रतियोगितापछि जाउलाखेलमा जलवायु परिवर्तन सम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो।
पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइएको थियो।

प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको सभापति थापाले बताए ।
“अहिले हामी जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न पनि यहाँ उभिएका छौं। यसका बारेमा हामी बृहत कार्यक्रमको तयारी गरेका छौं,” सभापति थापाले भने ।

जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याउनुभएको सभापति थापाले स्मरण गरे। जननायक विपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उनको भनाइ थियो।

“समावेशिताको अवधारणालाई पनि सात दशक अगाडि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागू गराएर हामीलाई सिकाउनुभएको छ, त्यसप्रति पनि हामी पूर्ण प्रतिबद्ध छौं” सभापति थापाको भनाई थियो। सो अवसरमा जलवायु परिवर्तन सम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो।

सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका बिरुवा समेत वितरण गरिएको थियो । बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ।

कल्याण कोषको घोषणा

कांग्रेसले  बुधबार नै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ। कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए। कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनको भनाई थियो ।

कांग्रेसले बिहिबार दिउँसो राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने समेत जनाएको छ।

६ श्रावण २०८३, बुधबार १७:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा