काठमाडौँ, बीपी स्मृति दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार ‘बीपी स्मृति ग्रीन रन’ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतिष्ठानले मंगलबार प्रेस नोट जारी गर्दै प्रतियोगितामा धावक, लाइभ चित्रकलाका कलाकार, ग्रीन टेबल संवादका प्यानलिस्ट, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा सुरक्षाकर्मीको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको जनाएको छ।
प्रतिष्ठानका अनुसार प्रतियोगिताका लागि ३ हजार ३८४ जनाले अनलाइन दर्ता गराएका थिए। तीमध्ये १ हजार ७६० जना प्रतिस्पर्धामा सहभागी भएका थिए। प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम, नरेन्द्रसिंह रावत द्वितीय र सञ्जय श्रेष्ठ तृतीय भएका छन्। यस्तै गणेश सिंह चौथो, अमृत ठकुरी पाँचौं र नागेश्वर अहिर छैटौं भएका छन्।
विजेतालाई क्रमशः ५० हजार, २५ हजार, २० हजार, १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। पुरस्कार वितरण ७ साउनमा राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा गरिने प्रतिष्ठानले जनाएको छ। कार्यक्रमअन्तर्गत जलवायु परिवर्तनको विषयमा केन्द्रित लाइभ चित्रकलामा २१ कलाकार सहभागी भएका थिए।
साथै ‘जलवायु परिवर्तन र नेपाल : प्रकृति, लोकतन्त्र र भावी पुस्ता’ विषयमा आयोजित प्यानल छलफलमा जलवायु विज्ञ मञ्जित ढकाल, अभिषेक यादव, डा.मनु कार्की र सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले सहभागिता जनाएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
















