एजेन्सी, उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन्।
काजामार्का क्षेत्रअन्तर्गत राजधानी लिमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सान जुआन नगरपालिकाका संस्थागत सञ्चार प्रमुख रिकार्डो चिलोनका अनुसार दुर्घटनामा चालक र एक बालकसहित १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
दुर्घटनापछि प्रहरी, अग्निनियन्त्रक र उद्धारकर्मीहरू तत्काल घटनास्थलमा पुगेका थिए। दुर्घटनामा परेको भ्यानमा सान जुआन जिल्लाबाट सियुडाड डे डिओसतर्फ गइरहेका १९ जना यात्रु सवार थिए।
अग्निशमन विभागका अधिकारी एडसन रोमनका अनुसार दुर्घटनास्थलमा उद्धार कार्य अत्यन्त कठिन भइरहेको छ। उनका अनुसार दुर्घटनाग्रस्त भ्यान खोलाभित्र अड्किएकाले अझै छ जनाको शव बाहिर निकाल्न बाँकी छ।
















