पोखरा, करिब डेढ वर्षअगाडी पोखराका पत्रकार यदुनाथ बञ्जरालाई मुटुमा समस्या देखियो,उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा कोमामा राखि उपचार गरियो तर उपचार सम्भव नहुने देखिएपछि हेलिकप्टर मार्फत काठमाण्डौ लगियो । पोखरादेखि काठमाण्डौ सम्मको हेलिकप्टर भाडा चारलाख बिस हजार लाग्यो । करिव एक महिना काठमाण्डौ बस्दा बिस लाखको हाराहारीमा उनको खर्च भयो ।
गत कार्तिकमा कास्कीको सिक्लेसमा घुम्न जाने क्रममा पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराई लाई हार्टअट्याक भयो। सिक्लेसबाट उनलाई जतिसक्यो छिटो मणिपाल अस्पताल पोखरामा ल्याइयो तर अस्पताल आइपुग्न केहि समय ढिलो भएको भन्दै डाक्टरले उनको मृत्यु भैसकेको घोषणा गरे ।
यि त केहि उदाहरण मात्र हुन, यि र यस्ता समस्याको समाधान कसरि गर्ने र गण्डकी प्रदेशको राजधानी पोखरामा मुटुको विशिष्टिकृत उपचार सेवा संचालनका लागि के कसरी अघि बढ्ने भन्ने बिषयमा हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर पोखरामा गण्डकी हार्ट मिट २०२६ सम्पन्न गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य, पोखराका मेयर, विभिन्न दलका नेताहरु,नीतिनिर्माता, चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता, विकास साझेदार तथा समुदायका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरु बिच अनुभव आदान प्रदान, चुनौतीहरुको समीक्षा,प्रदेशमा मुटु इन्टरभेन्सन सेवाको वर्तमानअवस्था र भावी दिशा,समग्र मुटु शल्यचिकित्सा कार्यक्रम, प्रदेशभरि हृदय स्वास्थ्य सेवाहरुलाई अझ प्रभावकारी र सुदृढ बनाउने लगायतका विविध विषयमा विज्ञहरुको प्रस्तुतिसगै छलफल भएको थियो ।
कार्यक्रममा पत्रकार बञ्जराले पोखरामै उपचार नहुदा हेलिकप्टर भाडा अनि काठमाण्डौ बस्नुपर्ने भएकोले उपचार महङ्गो पर्न गएको बताए ।पोखरामा उपचारको सुविधा भएको भए आधा खर्चमा उपचार सम्भव हुने भन्दै उनले मुटु रोगका विरामीका लागि विशिष्टिकृत उपचार सेवा पोखरामै आवश्यक रहेकामा जोड दिए ।
सिक्लेसमा हर्टअट्याक भएर ज्यान गुमाएका चित्रबहादुर भट्टराईका भाई एबम पोखराको खेलकुद र पर्यटनका ज्ञाता गणेशबहादुर भट्टराईले दाईलाई सिक्लेशबाट तत्काल हेलिकप्टरको ब्यबस्था गरेर पोखरा ल्याउँदा समेत केहि ढिलो हुन् पुगेको कारण बचाउन नसकिएको भन्दै मर्मस्पर्सी अभिव्यक्ति दिए । “एक्कासि समस्या देखियो, सिक्लेशबाट पोखरा आउँन केहि समय त लाग्ने नै भयो त्यसैले समयमा अस्पताल पुरयाउन नसक्दा मृत्यु भएपछि दाजुसंग के कुराकानी भएको थियो भनेर घरमाआएर सुनाउने बिषय समेत केहि भएन” त्यसबेला आँफु स्तब्ध बन्नुपरेको पिडा सुनाउंदै भट्टराईले भने ।
उनले पोखरामा नेपालीका लागि मात्र नभएर घुम्नका लागि आउने विदेशी पर्यटकले समेत मुटुको उपचारका लागि के छ अवस्था भनेर सोध्ने गरेको भन्दै पोखरामा विशिष्टिकृत उपचार सेवा संचालन हुन सके पर्यटकको संख्यामा समेत बृद्धी हुने बताए ।
गण्डकीमा ‘मुटुरोग माथि विजयः सबैका लागि एउटै साझा दृष्टिकोण’ भन्ने नारा सहित मनमोहन कार्डियो भास्कुलर एण्ड थोरासिकसेन्टर (त्रिवि शिक्षण अस्पताल, काठमाडौं) का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको पहल रअगुवाईमा कार्यक्रम सम्पन्न भएको हो । गण्डकी प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको डा. देवकोटाले जानकारी दिए। हृदय तथा रक्तनली सम्बन्धी (कार्डियोभास्कुलर) रोगहरु नेपालमा बिरामीपन, अशक्तता तथा अकाल मृत्युका प्रमुख कारण हरुमध्ये एक रहेको उनले बताए । यसबाट बच्नका लागि नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै निदान र सहज उपचार सेवा आवश्यक रहेको उनले बताए ।
गण्डकी प्रदेशको हृदय स्वास्थ्यको वर्तमान अवस्था तथा कार्डियाक (हृदय) उपचार सेवाको समीक्षा, हृदयसम्बन्धी संस्थाहरुका अनुभव, नवप्रवर्तन तथा सिकाई आदान प्रदान, रोकथाम, निदान, रेफरल, उपचार तथा पुनर्स्थापना सेवाहरुलाई सुदृढ बनाउने, सरकारी निकाय, शैक्षिक संस्था तथा साझेदार संस्थाहरुबीच सहकार्य प्रबर्द्दन गर्ने, प्रदेशभर गुणस्तरीय हृदय उपचार सेवामा सबैको समान पहुँच विस्तार गर्ने, प्रदेशको हृदय स्वास्थ्यका लागि साझा दृष्टिकोण विकास गर्ने, भविष्यका लागि नेतृत्वलाई एकताबद्ध गर्ने साथै स्वस्थ मुटु–समृद्ध गण्डकी निर्माण गर्ने उदेश्य सहित कार्यक्रमआयोजना गरिएको उनले जानकारी दिए ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बढ्दो समस्या समाधानका लागि विशिष्टिकृत मुटुरोग उपचार केन्द्र स्थापनाका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।कार्यक्रमले प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने काममा सहयोग गर्ने उनको भनाई थियो ।
कार्यक्रमको अन्त्यमा “गण्डकी प्रदेशमा मुटुरोगको रोकथाम र उपचार“ विषयमा समुहगत छलफल गरिएको थियो। छलफलमा प्रतिनिधिसभा सदस्य उत्तम पौडेल, प्रदेशसभा सदस्य प्रकाश बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराजआचार्य, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवानिधि बसौला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मनोज कोइराला, मणिपाल अस्पतालका नारायण पौडेल लगायत सहभागि थिए ।
कार्यक्रमपछि सरोकारवालाहरुले नेपालमा हृदय तथा रक्तनलीसम्बन्धी (कार्डियोभास्कुलर) रोगहरु बिरामीपन, अशक्तता तथा अकाल मृत्युका प्रमुख कारणमध्ये एक रहेको उल्लेख गर्दै गण्डकी प्रदेशमा गुणस्तरीय मुटु उपचार सेवाको पहुँच विस्तार, रोकथाम, प्रारम्भिक निदान र प्रभावकारी रेफरल प्रणाली तथा पुनर्स्थापना सेवाको सुदृढीकरणमा जोड दिने भन्दै दुई बुँदे न्युनतम साझा प्रतिवद्धता जारी गरिएको छ।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवानिधिबसौलाले दिएको जानकारी अनुसार मुटुरोगको बढ्दो जोखिमलाई गम्भीर जनस्वास्थ्य संकटका रुपमा लिंदै यसको रोकथामका लागि सम्पूर्ण सरोकारवालाहरु एकीकृत र समन्वयात्मक पहल गर्न प्रतिबद्ध रहने र उपचार सेवाको सुदृढीकरणका सम्बन्धमा विद्यमान आधारभूत पूर्वाधारलाई जग मानेर आपसी सहकार्य मार्फत मुटुउपचार सेवाको थप विकास र विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। उक्त कार्यक्रम फाउन्डेसनका अध्यक्ष भरतराज पराजुलीको अध्यक्षतामा भएको थियो।
हाल गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पतालमा क्याथ ल्याव सहितको मुटु रोगको उपचार सेवा उपलब्ध भएपनि सम्पुर्ण उपचार सेवा भने उपलब्ध हुन सकेको छैन। साथै यस रोगसम्बन्धि एक जना शल्य चिकित्सक समेत पोखरामा नरहेको जस्ता बिभिन्न कारणले मुटुरोगका विरामीहरु काठमाण्डै जानुपर्नेबाध्यता रहेको छ ।
- रोहितराज पराजुली
















