पोखरा, राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यो वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी १५ हजार रुपैया र सम्मानपत्र रहेको छ ।
समितिका सदस्यहरुमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा संघका सचिव बलबहादुर रोकामगर थिए ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ । पोखराको पत्रकारिताको क्षेत्रमा रहेर कौराहा सहित मगर समुदायको संस्कार र संस्कृतिको विषयमा लामो समयदेखि कलम चलाउँदै
आइरहेकी थापालाई यो वर्ष उनको योगदानका आधारमा सम्मान गर्न लागिएको छनौट समितिका संयोजक श्रीसले बताए ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनको प्रमुख आतिथ्यतामा असार २६ गते शुक्रबार पोखरामा एक कार्यक्रममा पत्रकार थापालाई सम्मान गरिने संयोजक श्रीसले जानकारी दिए । यस पुरस्कारबाट यस अघि कमला रानामगर, तिलक पुनमगर, प्रताप रानामगर, खेम सारुमगर, एमबी आस्थामगर, मनोज घर्तीमगर, रुद्र श्रीसमगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन् ।
















