काठमाडौँ,अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका युवा सतीश चापागाईंले डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेका छन्। मेरिल्याण्डको निर्वाचन क्षेत्र (डिस्ट्रिक्ट ७ए) बाट हाउस अफ डेलिगेट्सका लागि उम्मेदवारी दिएका चापागाईं आफ्नै पार्टीभित्रको प्रतिस्पर्धामा विजयी हुँदै अब मुख्य निर्वाचनमा प्रवेश गरेका हुन्।
जुन २३ मा सम्पन्न प्राइमरी निर्वाचनको करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा चापागाईंले १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत प्राप्त गर्दै शीर्ष दुईभित्र स्थान सुरक्षित गरे। यससँगै उनले आगामी नोभेम्बरमा हुने मुख्य निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। नेपालमा रहंदा पाल्पा जिल्लाबाट पत्रकारितामा क्रियाशील चापागाईं अमेरिका पुगेपछि ब्यबसाय, सामुदायिक गतिबिधि र राजनीतिमा बढी क्रियाशील रहँदै आएका छन ।

( अमेरिकामा सतिश चापागाईंसंगै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली)
चुनावी अभियानका क्रममा चापागाईंले सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेका छन्। महँगी नियन्त्रण गर्दै जीवनयापन सहज बनाउने, सुरक्षित समुदाय निर्माण गर्ने तथा स्थानीय व्यवसायलाई थप सशक्त बनाउने उनका मुख्य चुनावी प्रतिबद्धता रहेका छन्। चापागाईं अहिले मेरिल्याण्ड राज्यमा डेमोक्रेटिक पार्टीका निर्वाचित केन्द्रीय सदस्यसमेत हुन्। पार्टीभित्रको सक्रिय भूमिका र लामो समयदेखिको राजनीतिक संलग्नताले उनलाई स्थानीय तहमा परिचित नेतृत्वका रूपमा स्थापित गरेको छ।
राजनीतिसँगै उनी सामाजिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन्। उनी एक साना व्यवसायी हुनुका साथै बाल्टिमोर काउन्टी पब्लिक स्कुलमा दोभाषेका रूपमा कार्यरत छन्। विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले नेपाली समुदाय र स्थानीय समाजबीच पुलको भूमिका खेल्दै आएका छन्। प्राइमरी इलेक्सनमा बिजयी भएसंगै उनी मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा निर्बाचित हुने संम्भावना बढेको नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले बताए। ‘सतिशले मेरिल्याण्ड राज्यमा गरेका काम र उनको सम्पर्क देख्दा उनि निर्बाचनमा बिजयी बन्छन भन्ने लागेको छ’ पटक पटक अमेरिका पुगेर त्यहाँको बस्तुस्थिति बुझेका पराजुलीले भने।

(सतिश चापागाईं संगै सुदिप शिवाकोटी र गंगाधर पराजुली, अमेरिकाको मेरिल्याण्डमा)
चापागाईंले श्रमिक परिवार, आर्थिक रूपमा कमजोर वर्ग तथा समुदायका आवाजलाई नीतिनिर्माणको केन्द्रमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। जनताको प्रत्यक्ष सहभागितामा आधारित नेतृत्व र व्यवहारिक समाधानमार्फत समुदायको विकास गर्न सकिने उनको विश्वास छ।सामाजिक र राजनीतिक गतिविधिसँगै उनी साहित्यिक क्षेत्रमा पनि परिचित नाम हुन्। उनी सम्पादक, कवि तथा गीतकारका रूपमा समेत सक्रिय छन्।
यसअघि उनी एनआरएनए अमेरिकामा दुई कार्यकाल मिडिया कोअर्डिनेटरको जिम्मेवारी सम्हालिसकेका छन् भने हाल सल्लाहकारको भूमिकामा रहेका छन्। हालका वर्षहरूमा अमेरिकाको स्थानीय राजनीतिमा नेपाली मूलका नागरिकको सहभागिता निरन्तर बढिरहेको अवस्थामा सतीश चापागाईंको प्राइमरी इलेक्सनमा भएको विजयलाई नेपाली समुदायको बढ्दो राजनीतिक उपस्थिति र प्रतिनिधित्वको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब नोभेम्बरमा हुने मुख्य निर्वाचनमा उनको प्रदर्शनलाई नेपाली समुदायले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।
















