Play

कांग्रेसमा आन्तरिक बिबाद: संस्थापन र इतरपक्ष आआफ्नो अडानमा, पार्टी कमजोर बन्ने चिन्तामा नेता र कार्यकर्ताहरु

गुरुकुल खबर


काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक बिबाद जारी रहंदा कार्यकर्ता र नेताहरु समेत अन्योलमा छन । नियमित महाधिबेशन र बिशेष महाधिबेशन पक्षधरको रुपमा गत पुष महिनाबाट शुरु भएको बिबाद फागुन २१ को निर्बाचन पछि समानान्तर रुपमा सतहमा देखिए क्रम जारी छ। पार्टीको आन्तरिक विवाद जारी रहेपनि बिबाद समाधानसँगै आगामी महाधिवेशनको तयारी पनि अगाडी बढाइएको बताइएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेताहरू आन्तरिक छलफलमा भने जुटिरहेका छन् । यसैगरी महाधिवेशन तयारी पनि समानान्तर रूपमा अघि बढाइएको छ । संस्थापन र इतर पक्षको आआफ्नो अडानका कारण एकताबद्ध र बलियो कांग्रेसको चाहना गरेका कार्यकर्ता र नेताहरु चिन्तित बन्दै गएको र विकल्पको समेत खोजि गर्न थालेको छन । पार्टी भित्रको आन्तरिक द्वन्द कायम रहंदा धनकुटाका करिब २५ जना नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरिसकेका छन भने अन्य जिल्लाका नेता कार्यकर्ताहरु पनि कांग्रेसबाट बाहिरिने, स्वतन्त्र बस्ने, राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने वा राप्रपामा जाने क्रम जारी छ।

नेपाली कांग्रेसको संस्थापन इतर समूह अर्थात बिशेष महाधिबेशन पक्षधर मध्ये पुर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काको समुहले  छुट्टै कार्यालय खडा गरेर छलफललाई अगाडी बढाएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले काठमाडौंको महाराजगञ्ज नजिक चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरेका छन् । उनीहरूले उक्त कार्यालयलाई पार्टीको १५औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय भनेका छन् । सोमबार एक कार्यक्रमबीच इतर समूहको नेतृत्व गरिरहेका पूर्वकार्यवाहक सभापति खड्काले कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए। त्यसअघि नेताहरूबीच छलफल भएको थियो । छलफलमा ब्रिफिङ गर्दै खड्काले भने, ‘हामी अहिले शेखर कोइरालासहित १११ जना छौँ । १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव गरेका हौँ । सातबुँदेको जवाफ भेटेकै दिन मैले उपसभापति विश्वलाई दिएको हुँ ।लिखित दिनुस् भन्नुभएको थियो । मैले जसरी हामीलाई व्हाटस्एपमा पठाउनुभयो, त्यसै गरी टाइप गर्नुस भनेँ । वहांले टाइप गर्नु भो ।’

उनले थपे, ‘टाइप गरेर सुनाउनुभो । यही हो दाइ फाइनल भन्नुभयो । मैले हो भनेँ । अनि उहाँले गगनजीलाई सबै कुरा सुनाउँछु । तपाईं पनि नेताहरुलाई सुनाउनुस्, गगनजीसँग आफैं गएर छलफल गर्नुस् भन्छु भन्नूभो । उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको बताएको तर आफूले त्यसलाई अस्वीकार गरेको पनि खड्काले जानकारी दिए । विश्वसँग भेटेपछि भोलिपल्ट केही आउला भनेर आफूले कुरेको पनि उनले सुनाए । ‘भोलि बिहान ९ बजेसम्म कुरे । कुनै खबर आएन । केही बेरपछि महामन्त्री प्रदीप पौडेललाई कोट गरेर समाचार आयो- शीर्ष नेताको सदस्यता स्वत: अधावधिक भनेर । मलाई देशभरबाट फोन आयो, आफ्नो अधावधिक हुने, हाम्रो नहुने भनेर । मैले समाचारको खण्डन गरेँ सामाजिक सञ्जालबाट । अनि फोन आउन बन्द भयो’ खड्काले ब्रिफिंगको क्रममा भने ।

खड्काको समुहले सोमबार पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित आंफ्नो समुहका केन्द्रीय समितिका नेताहरूलाई बैठकमा बोलाएकोमा खड्कासहित शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह, एनपी साउद, प्रकाशशरण महतगायत नेताहरू त्यहाँ  सहभागी थिए ।खड्काको सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरू बोलाइएको थियो । गत शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो ।

बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए । नेताहरूले सातै प्रदेशको भेला सकिएको र अब राष्ट्रिय भेलाको तयारी गरिएको बताएका छन् । आजको बैठकले राष्ट्रिय भेलाको मिति तोक्ने तयारी गरेको भएपनि राष्ट्रिय भेला कहिले गर्ने भन्ने मिति भने टुंगिएको छैन। खड्का समुहमा रहेका केहि पहिलो तहका नेताहरु र दोश्रो तहका युवा नेताहरु संस्थापन पक्षले आंफ्नो माग नसुन्ने र बेवास्ता गर्दै जाने हो भने अर्को पार्टी खोल्न समेत तयार रहनुपर्ने पक्षमा समेत देखिएको पार्टीका पुर्व केन्द्रीय सदस्य एबम नियमित महाधिबेशनका पक्षधर गुरु बरालले गुरुकुल खबरलाई जानकारी दिए। तर अर्को पार्टी खोल्दा पार्टी बलियो बन्न नसक्ने महशुस समेत भैरहेकोले तत्काल पार्टी गठन गर्नुभन्दा पनि आपसी सहमति कायम गरेर अगाडी बढ्नुपर्ने पक्षमा पनि खड्का समुहका केहि नेताहरु देखिएको बताइन्छ।

यता, कांग्रेस नेता डा. शेखर कोइरालाको समूह पनि अन्योलमा छ बिगतमा १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिका सदस्यहरुलाई बर्तमान केन्द्रीय समितिमा मनोनयन गरिनुपर्ने लगायतका माग राख्दै आएका कोइराला समुहका नेताहरु पछिल्लो समय भने केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने भन्ने अडानबाट पछि हटेको बताइएको छ।  बिगतमा कोइराला समुहमा रहेपनि केहि साता अगाडी गगन अर्थात संस्थापन समुहमा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका पुर्व सहमहामन्त्री जिबन परियारले कोइराला समुहले मनोनयनको कुरा छोडेको र अन्य तीनवटा माग मात्र राखेको गुरुकुल खबरलाई जानकारी दिए।

‘पार्टीको आसन्न महाधिबेशन निश्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्नको लागि निर्बाचन समिति र सदस्यता छानबिन समिति सन्तुलन हुने गरि बनाइनुपर्ने र हालका केन्द्रिय सदस्यहरु सहित सबैजना वडाबाट नै निर्बाचित भएर मात्र महाधिबेशन प्रतिनिधि आउनुपर्ने जस्ता माग नेता कोइरालाले राख्नुभएको छ। तर यसबारेमा संस्थापनले के गर्ने भन्ने टुंगोमा पुग्न बाँकी छ।’ परियारले गुरुकुल खबरसंग भने।

संस्थापन पक्षले पार्टी बिधान बमोजिम रिक्त रहेको केन्द्रिय समितिको सदस्य र निर्बाचन तथा अनुशासन समिति लगायतका उपसमितिमा रिक्त पदमा संस्थापन बिरोधीहरुलाई मनोनयन गर्न सकिने बताएपनि १४ औं महाधिबेशनबाट बनेको कार्यसमितिका १ सय ११ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्नुपर्ने अबस्था रहेको भएपनि केन्द्रिय समितिमा करिब ४० जना मात्र मनोनित गर्न सकिने ठाउँ रहेकोले संस्थापन पक्षले रिक्त स्थानमा मात्र मनोनयन गर्न सकिने बताउंदै आएको छ। जसका कारण उनीहरुको बिचको बिबाद जारी छ।

कोइराला र खड्का समुहबाट बिभिन्न माग गरिरहेको सन्दर्भमा सभापति गगन थापाले दुइवटा माग पुरा गर्न आंफुले नसक्ने सार्बजनिक अभिव्यक्ति दिएका छन  १४ औं महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समयोजन गर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने भन्ने मागलाई आंफुले स्विकार्न नसक्ने सभापति थापाको अडान छ । संस्थापन इतरले केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरेकाहरुको संख्या १ सय ११ रहेको छ भने तर ४० जनालाई मात्र मनोनित गर्न सकिने संस्थापन पक्षले बताउंदै आएको छ। संस्थापन इतरले क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने बाध्यात्मक व्यबस्थाको समेत बिरोध गर्दै आएको छ ।

‘विधानले जुन कुरा दिन्न त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिन । एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नराउँ नगरिकन पनि यसलाई चलाउँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाफ हुन्छ त्यो अव्यवहारिक पनि हुन्छ त्यो अराजनीतिक पनि हुन्छ,’ सभापति थापाले संस्थापन इतरलाई भने,‘विशेष महाधिवेशनबाट नयाँ केन्द्र समिति बनिसक्यो ।

यसैबीच पार्टीमा आन्तरिक विवाद जारी रहेपनि संस्थापन पक्षले १५ औं महाधिबेशनको तयारी शुरु गरेको भनेर संस्थापन इतर पक्षलाई तर्साउने प्रयास पनि जारी राखेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १५औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री र पारदर्शी बनाउन भन्दै निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा ईभीएम (इलेकट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी असोजको १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ। महाधिवेशनको कार्यतालिका अनुसार केन्द्रीय निर्वाचन समितिले आफ्नो तर्फबाट तयारी थालेको छ। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा गठित निर्वाचन समितिको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित विभिन्न निर्णय गरेको बताइएको छ ।

बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्दै सकेसम्म पेपरलेस प्रणाली अपनाउने तथा ईभीएम प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । उनले निर्वाचन प्रक्रिया सुरु भएपछि निर्वाचनसम्बन्धी आचार संहिता लागू हुने भएकाले विधानमा अन्यथा उल्लेख भएकाबाहेक निर्वाचन अवधिभर केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

समितिले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ। निर्वाचन कार्यमा स्वयंसेवकका रूपमा कानुन व्यवसायी तथा अन्य पेसागत समूहलाई सहभागी गराई रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) प्रदान गरी आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पटक पटक थपिएको सदस्यता अवधि फेरि साउन ३ गतेसम्मको लागि थपियो

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक तथा नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि २०८३ साल साउन ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। बिशेष महाधिबेशनबाट बनेको नयाँ कार्यसमितिको निर्णय अनुसार पार्टीको क्रियाशील सदस्यता अधाबधिक गर्नको लागि शुरुमा बैशाख महिना त्यसपछि जेठ २१ सम्म, त्यसपछि जेठ मसान्तसम्म, अर्को पटक असार २० गतेसम्म र फेरी पनि माय्द थप गरेर साउन ३ गतेसम्मको लागि पुर्याईएको छ ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले यसअघि पछिल्लो पटक असार २० गतेसम्म तोकिएको समयसीमा साउन ३ गतेसम्मका लागि विस्तार गर्ने निर्णय गरेको हो। यो निर्णय संस्थापन इतर अर्थात बिशेष महाधिबेशनको बिपक्षमा रहेकाहरु र सदस्यता अधाबधिक नगरेकाहरुको सदस्यता अधाबधिक गराउनको लागि गरिएको बताइन्छ।

बैठकले वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको कार्य जारी रहेकाले सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा समयावधि थप गरिएको जनाएको छ।

यसैगरी, क्रियाशील सदस्यता अद्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो प्राप्त भएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको छ। प्राप्त सिफारिसका आधारमा समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।

पार्टीले समयावधि थपसँगै सम्बन्धित सबै तहलाई सदस्यता वितरण, नवीकरण र अद्यावधिकको कार्य निर्धारित समयभित्र सम्पन्न गर्न आग्रह गरेको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । उता पार्टीभित्र देखिएका समस्या समाधान गर्दै विभिन्न प्रस्तावमाथि छलफल गर्दै पार्टी एकता जोगाउने सम्बन्धमा शीर्ष नेताहरूको बिचमा छलफल पनि जारी राखिएको छ।

२२ असार २०८३, सोमबार १६:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा