एजेन्सी, फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा फ्रान्स पुगेको छ। अन्तिम १६ को खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । फिलाडेल्फिया स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। अनुशासित र सशक्त रक्षापंक्तिका कारण पाराग्वेले फ्रान्सलाई लामो समयसम्म गोल गर्न दिएन।
खेलको ७०औँ मिनेटमा भने फ्रान्सले निर्णायक अवसर पायो। दोस्रो हाफमा मैदान प्रवेश गरेका डिजिरे डुएलाई पेनाल्टी क्षेत्रमा डिएगो गोमेजले लडाएपछि भिएआर समीक्षा पछि रेफ्रीले पेनाल्टी दिएका थिए। त्यसमा कप्तान किलियन एमबाप्पेले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए।
त्यही गोल नै खेलको निर्णायक बन्यो। एमबाप्पेको यो विश्वकपको सातौँ गोल हो। यससँगै उनी गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनेल मेस्सीको बराबरीमा पुगेका छन् । विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ। ३८ डिग्री सेल्सियसको अत्यधिक गर्मीबीच खेलिएको खेलमा फ्रान्सले सुरुदेखि नै बलमा नियन्त्रण कायम गरे पनि पाराग्वेको अनुशासित रक्षापंक्तिलाई तोड्न संघर्ष गर्नुपरेको थियो। पहिलो हाफमा दुवै टोलीले गोलपोस्टको दिशामा प्रहार गर्न सकेनन्।
दोस्रो हाफमा फ्रान्सले खेलको गति बढायो। ५४औँ मिनेटमा मानु कोनेले फ्रान्सका लागि पहिलो पटक गोलपोस्टको दिशामा प्रहार गरे पनि गोलरक्षक ओरलान्डो गिलले उचाए । फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले अन्तिम १६ मा सहआयोजक क्यानडालाई ३-० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। सन् २०१० यता पहिलो विश्वकप सहभागिता जनाएको पाराग्वेको अन्तिम १६ मा यात्रा समाप्त भएको छ।
















