Play

रास्वपा महाधिबेशन: खाना र नास्ताको ब्यबस्थापन खर्च भन्दै ५ हजार लिएपछि महाधिबेशन प्रतिनिधिको गुनासो

गुरुकुल खबर


चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी राष्ट्रिय महाधिवेशनमा बन्द सत्रमा सहभागी हुने प्रतिनिधिहरूसँग पार्टीले खाना र नास्ता व्यवस्थापनका लागि भन्दै ५ हजार रुपैयाँ शुल्क उठाएको बिषयलाई लिएर प्रतिनिधिहरुले गुनासो गरेका छन । महाधिवेशनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट आएका प्रतिनिधिहरूले ५ हजार रुपैया लिएर पनि पार्टीले सुबिधा नदिएको उनीहरुको गुनासो छ।

कतिपयले शुल्क महँगो भएको र सुविधा कम भएको गुनासो गरेका छन् भने कतिपयले यसलाई पुराना दलहरूको चन्दा उठाउने प्रवृत्ति जस्तो भएको टिप्पणी गरेका छन कतिपयले र भ्रष्टाचार रोक्ने सकारात्मक अभ्यासको रुपमा पनि मानेका छन्। महाधिवेशनमा कुल ४ हजार २ सय ११ प्रतिनिधि रहेका छन्, जसमध्ये झन्डै ४ हजार जनाले उक्त शुल्क बुझाइसकेको तथ्यांक छ।

महाधिबेशनमा सहभागी कमल बानियाँले देशको दूरदराज र पहाडी क्षेत्रबाट आउने प्रतिनिधिका लागि यो शुल्क अलि महँगो भएको बताए। आउने-जाने गाडी भाडा र बास बस्ने व्यवस्था प्रतिनिधि आफैँले गर्नुपरेको अवस्थामा ५ हजार शुल्कले थप आर्थिक भार पारेको उनको भनाइ छ। ‘बन्द सत्रदेखिका गतिविधिमा खाना र नास्ताको व्यवस्था पार्टीले गरेको छ, तर खर्च ५ हजार भन्ने कुरामा भित्र पनि कुरा उठ्ला, पार्टी नेतृत्वले केही विचार गर्ला भन्ने आशा छ,’ बानियाँले भने।

अर्का प्रतिनिधि मदन भट्टराई पनि पुराना पार्टीले एक हजार उठाएर मासु-भात खुवाउने तर रास्वपामा ५ हजार तिर्दा पनि सामान्य खाना मात्रै पाएको गुनासो प्रतिनिधिहरूबाट आइरहेको स्वीकार्छन्। सबै प्रतिनिधिको आर्थिक अवस्था समान नहुने भएकाले नेतृत्वले यस्ता गुनासालाई सम्बोधन गर्नुपर्ने भट्टराईको भनाइ छ। बन्द सत्रभन्दा अगाडिका सबै खर्च प्रतिनिधि आफैँले व्यवस्थापन गरिरहेको उनले बताए।

शुल्क र सुविधालाई लिएर केही असन्तुष्टि देखिए पनि यसको पछाडि सकारात्मक पाटो रहेको तर्क गर्नेहरू पनि छन्। प्रतिनिधि गोपालप्रसाद न्यौपानेले आर्थिक भार परे पनि यो भ्रष्टाचारविरुद्धको एउटा महत्वपूर्ण कदम भएको बताउँछन्। अन्य राजनीतिक दलले ठूलो मात्रामा चन्दा उठाउने र त्यसले सरकारलाई प्रभाव पारी भ्रष्टाचार सुरु हुने उनको भनाइ छ। ‘प्रतिनिधि वा उम्मेदवार आफैँले खर्च म्यानेज गर्दा यो भ्रष्टाचारविरुद्धको एउटा पाटो बन्छ,’ न्यौपानेले भने।

अर्का महाधिबेशन प्रतिनिधि रोशन कट्टेल देश परिवर्तन गर्न हिँडेका युवाहरूले सामान्य खर्चमा चित्त दुखाउन नहुने बताउँछन्। पार्टीले गरेको प्रक्रियागत निर्णयलाई सबैले समर्थन गरेर जानुपर्नेमा उनले जोड दिए। व्यवस्थापकीय रूपमा सानातिना त्रुटि भए पनि त्यसलाई ठूलो बनाउन नहुने भन्दै उनले भने, ‘परिवर्तनका लागि हिँडेपछि केही गुमाउन पनि जान्नुपर्छ, हामीले देश र आउने भविष्यका लागि दिँदैछौँ भनेर बुझ्नुपर्छ।’

रास्वपाको यस महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले महँगो शुल्क र अपर्याप्त सुविधालाई लिएर गुनासो त गरेका छन्, तर पुराना दलहरूले जस्तो व्यापारीसँग चन्दा नमाग्ने र आफ्नै प्रतिनिधिबाट खर्च जुटाउने पार्टीको प्रयास हो भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने केहीको भनाई छ ।

८ असार २०८३, सोमबार १०:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा