Play

रास्वपा महाधिबेशन: निर्बाचन प्रक्रिया आज शुरु हुने र मतदान भोलि, समायोजनबाट आउनेलाई बिशेष सुबिधा

गुरुकुल खबर


चितवन, भरतपुरमा जारी रास्वपाको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आज सोमबार हुँदैछ । बन्दसत्र बिहान ८ बजेबाट सुरु गर्ने भनिए पनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारण केही ढिला गरी मात्रै सुरु भएको छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।

साथै निर्वाचन प्रक्रिया पनि अघि बढ्ने छ । रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अनलाइनखबरलाई जानकारी दिए । बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ। सर्वसम्मत रुपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ । यद्यपि निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।

महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन बिहान १० बजे हुनेछ । उम्मेदवारी मनोनयनको फारम वितरण १ बजे हुनेछ । उम्मेदवारी मनोनयन पत्र दर्ता समय २ देखि ४ बजेसम्म तोकिएको छ । राति ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । त्यसपछि उम्मेदवार विरुद्ध परेको दाबी विरोध जाँचबुझका लागि एक घन्टा समय छुट्याइएको छ । राति ९ बजेदेखि १५ मिनेट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे त्यसका लागि समय दिइने छ । राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

असार ९ गते ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहने छ । बिहान ८ बजे देखि ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ । पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने विधानको व्यवस्था छ । पहिलो चरणको मत परिणाम मतदान सकिएको दुई घण्टा पछि गरिने छ । दोस्रो चरणको मतदान अन्य पदाधिकारीको लागि हुनेछ । दोस्रो चरणको मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ ।

केन्द्रीय समिति १सय ५८ सदस्यीय बन्ने, समायोजनबाट आउनेलाई एकपटक बिशेष सुबिधा दिईने 

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समायोजनबाट आउनेहरूका लागि अतिरिक्त लाभ हुनेगरी विधान संशोधन गरिएको छ । शनिबार ५ घण्टा भन्दा बढी समय लगाएर सकिएको वर्तमान समितिको अन्तिम बैठकले समायोजनबाट आउनेहरूका लागि बिना प्रतिस्पर्धा पद प्राप्ति गर्नेगरी बाटो खुलाउँदै विधानमा व्यवस्था गरेको हो ।

बैठकबाट पारित विधानमा १५८ सदस्यीय केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । तीमध्ये ९९ सदस्य निर्वाचित हुने र ५१ सदस्यीय मनोनीत गर्ने गरी विधान संशोधन गरिएको छ । प्रदेश सभापतिहरू स्वत: केन्द्रीय समितिको पदेन सदस्य हुने भएका छन्  पदाधिकारीको संख्या १९ जना बनाइएको छ । पदाधिकारीमा वरिष्ठ नेता पनि रहनेगरी पदाधिकारी संख्या १९ जनाको बनाइएको छ । यसअघि विधानमा समावेश नगरिएको वरिष्ठ नेताको व्यवस्था संशोधित विधानमा भने राखिएको छ ।

सभापति, वरिष्ठ नेता, उपसभापति–३, महामन्त्री–२, सहमहामन्त्री–५ जनाको व्यवस्था गरिएको छ । उपसभापति १ र सहमहामन्त्री १ जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ । थप पदाधिकारीमा कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुनेगरी विधानको व्यवस्था गरिएको छ । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता मनोनीत हुनेछन् ।

रास्वपा नेताहरूको अनुसार समायोजनबाट आउनेहरूलाई एकपटकका लागि ‘विशेष सुविधा’ हुनेगरी विधानको व्यवस्था गरिएको छ  सभापति रवि लामिछाने स्वयं समायोजनबाट रास्वपामा जोडिएकाहरूलाई यति छिट्टै प्रतिस्पर्धा गराउन उपयुक्त नहुने विचार राखेका थिए । रास्वपाका एक नेताले भने, ‘एकपटकका लागि समयोजनबाट आउनेहरूलाई प्रतिस्पर्धा गराउनु हुँदैन भन्ने भयो । अर्को अर्को पटक पनि त्यो सुविधा पाउने होइन ।’

सभापतिमा रवि लामिछाने निर्विकल्प छन् । वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहले निरन्तरता पाउनेछन् । उपसभापतिमा डा. स्वर्णिम दोहोरिने छन् । रास्वपा स्रोतका अनुसार, अर्का उपसभापतिमा सुनिल लम्साल नाम करिब निश्चित जस्तै छ । बाँकी रहेको एक उपसभापतिमा महिलाका लागि प्रतिस्पर्धा गराउनु पर्ने हुन्छ ।

रास्वपाकै शीर्ष तहका एक नेताले भने, ‘उपसभापतिमा निर्वाचन भयो भने महिलाबाट उपसभापति हुनेहरूको लागि हुन्छ ।’ उपसभापतिमा लिमा अधिकारी, सोबिता गौतम, प्रतिभा रावल, समीक्षा बाँस्कोटा लगायत महिला नेताहरू आकांक्षी छन् ।कार्यकारी पद महामन्त्रीमा भूपदेव शाह दोहोरिने भएका छन् । उनी बालेन निकट हुन् । रास्वपाको मूलधारबाट आएकाहरूबाट भने महामन्त्रीको टुंगो नलागेको नेताहरू  बताउँछन् ।

मूलधारको रास्वपामा महामन्त्रीको आकांक्षी आधा दर्जन बढी छन् । हालका महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा, नेताहरू शिशिर खनाल, गणेश पराजुली लगायत महामन्त्री पदका आकांक्षी हुन् । सभापतिले मनोनीत गर्ने ५० जनामा पनि महिला ३३ प्रतिशत हुनुपर्ने विषय बैठकमा उठेको छ । केन्द्रीय समितिमा दलितको संख्या पनि सुनिश्चित हुनुपर्ने सदस्यहरूले माग गरे ।

केन्द्रीय सदस्यमा समेत समायोजनबाट आएकालाई सहज हुनेगरी निर्वाचित र मनोनीतको संख्या टुंगो लगाइएको छ । केन्द्रीय सदस्य ५१ जना मनोनीत गर्नेगरी संख्या बढाउनुमा समायोजनबाट आउनेहरूलाई थप्न सकिने मनसायले भएको नेताहरूले जानकारी गराएका छन् । पार्टी संरचनामा नयाँ रहेका बालेन पक्षका नेताहरू प्रतिस्पर्धा गर्दा पराजित हुनसक्ने विश्लेषणसहित उनीहरूलाई समेट्नका लागि मनोनीतको आकार बढाइएको अनौपचारिक कुराकानीका क्रममा नेताहरू बताउँछन् । ‘सभापतिले मनोनीत गर्ने ५० जनामा ५० प्रतिशत बालेन पक्षकै हुन्छन्,’ अर्का एक नेता भन्छन् ।

९९ जना निर्वाचित केन्द्रीय सदस्यमा प्रत्येक प्रदेशबाट ५/५ का दरले निर्वाचित हुने विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले जानकारी गराए । ‘ती पाँच जनामा समावेशीताका आधारमा २ जना महिला हुनैपर्छ,’ पराजुलीले भने, ‘बाँकी ६४ केन्द्रीय सदस्यका खुला प्रतिस्पर्धी हुनेछन् ।’ निर्वाचनबाट चयन हुने ९९ केन्द्रीय सदस्यका लागि आकांक्षीहरूको लर्को लागेको छ । हालको केन्द्रीय समितिमा रहेका, विभागका सदस्य, समायोजनबाट आएकाहरू सयौंले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूका समेत समायोजितबाट आउनेहरूको लागि सहज बनाइएको छ । प्रवक्ता मनिष झाका अनुसार, समायोजनबाट आउनेका लागि थप तीन सय थप्न सकिने र त्यसका लागि दुई महामन्त्रीले निर्णय लिने जानकारी गराएका छन् । हालसम्म प्रतिनिधिहरूको यकिन तथ्यांक रास्वपाले बाहिर ल्याएको छैन । समयोजनबाट तीन सय थपिने अवस्थामा ४२ सय हारहारी महाधिवेशन प्रतिनिधि हुने जानकारी गराइएको छ ।

८ असार २०८३, सोमबार ०९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा