पोखरा, फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रबर्द्दनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पण मत्स्य सहकारी संस्थाले प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूहले तेस्रो स्थान प्राप्त गरेको छन भने विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।
महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाटले प्रथम, उषा गुरुङ, निर्मला गुरुङ र अस्मिता मगर सम्मिलित तालपारीले दोस्रो, अन्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूहले तेस्रो स्थान एबम कृष्णकुमारी कँडेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार तथा सान्त्वना हुनेले ५ हजार रुपैया नगदसहित ट्रफि, प्रमाणपत्र र पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई आयोजक फेवा डुंगा ब्यबसायी समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, खेलकुद संयोजक बत्ति गुरुङ, आर्थिक समितिका संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका थिए। त्यस अवसरमा वडाध्यक्ष भट्टराईले फेवातालको प्रचार–प्रसार तथा पुराना डुंगाको महत्व चिनाउन पनि प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा खेल पर्यटनको विकास गर्दै पर्यटन प्रवद्र्धनका लागि पनि डुंगा दौड प्रतियोगिता कोशेढुंगा बनेको औल्याए । नेपाल पर्यटन बोर्ड, गण्डकीका कार्यालय प्रमुख मणीराज लामिछानेले सन्देश मार्फत इभेण्टहरुको शहर पोखराको पर्यटन प्रबर्द्दनमा प्रतियोगिताको महत्व रहेको जनाउँदै यसको निरन्तरताका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धजा जाहेर गरे ।

आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा फेवातालको प्रचार–प्रसार गर्दै पोखराको पर्यटन प्रबर्द्दनको लागि संस्थाले कार्यक्रम गर्दै आएको बताए । उनले फेवातालका पुराना डुंगाको खास विशेषता रहेको जनाउँदै यसको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिए । सञ्चारकर्मी दीपेन्द्र पहारी र आयोजक समितिका शिव रुद्र जिसीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा समितिका बुद्धिनाथ पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।














