पोखरा, गण्डकी प्रदेश सरकारले बिभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै बिभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा सुरक्षाकर्मी देखि संचार, शिक्षा, पर्यटन र सामाजिक क्षेत्रमा संलग्न व्यक्तित्वहरु रहेका छन उनीहरुलाई गणतन्त्र दिवसको सन्दर्भमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा नगद पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको थियो ।
सम्मान पाउनेहरुमा सशस्त्र प्रहरी बल नम्बर २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा, प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्रबहादुर नेगी, सशस्त्र प्रहरी सहायक हवल्दार विनोद खड्का रहेका छन । सुरक्षातर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ९ जना सुरक्षाकर्मीलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मान पाउनेहरुमा नेपाली सेनाका यम्मरबहादुर बुढा क्षेत्री, मिलन खवास र सुजन राई, नेपाल प्रहरीका विष्णुराज पौडेल, श्यामकान्त श्रीवास्तव र राजेश वोटे रहेका छन ।
सञ्चार क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार माधव शर्मा, केशवराज पराजुली र सरस्वती शर्मा जिज्ञासुलाई र सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै गोरखा चुमनुब्री–७ का पेमा छेवाङ लामा, कास्की पोखरा–११ की डा. चन्द्रा भद्रा र पोखराका आनन्दराज मुल्मीलाई सम्मान सम्मान गरेको गण्डकी प्रदेश सरकारले शिक्षातर्फ कास्कीको माछापुच्छ्रे माध्यमिक विद्यालय भुजुङखोलाका सन्तोष आचार्य, विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका कृष्णप्रसाद आचार्य तथा बागलुङको रुद्रेपिपल माध्यमिक विद्यालयकी सीता नेपालीलाई सम्मान गरेको छ।
कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने ३ जना किसानलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । पशुपालनतर्फ तनहुँ शुक्लागण्डकी –१० का शिवलाल रसाइली, तरकारी बीउ उत्पादनतर्फ पर्वत फलेवास–११ की माया पाठक र मौरीपालनतर्फ नवलपरासी पूर्व कावासोती–९ का चण्डिकाप्रसाद लामिछाने सम्मानित भए ।
पर्यटन र उद्यमशीलता प्रवर्द्धनमा सक्रिय घरवास सञ्चालक र निजी क्षेत्रका उद्योगलाई पनि प्रदेश सरकारले सम्मान गरेको छ । नवलपरासी पूर्व देवचुली–१७ को बृहत् सामुदायिक होमस्टे, स्याङ्जा आँधीखोला–१ को सिरुवारी सामुदायिक होमस्टे र मनाङ नासो–८ को ताचै घरवास व्यवस्थापन समिति सम्मानित भए । निजी क्षेत्रतर्फ पोखराको होटल एलिजेन्ट, पर्वत फलेवास–४ को कम्युनिटिज फुड्स प्रोसेसिङ इन्डस्ट्री तथा तनहुँ भानु–९ को ग्रिन हिमालय फार्मस्टेलाई १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्ट र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गरे ।














