Play

आगामी बजेट: सवा एक्काईस खर्बमध्ये करिब तेह्र खर्ब चालु खर्च र चार खर्ब बढी मात्र पुँजीगत खर्च

गुरुकुल खबर


काठमाडौँ, नेपाल सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमा चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब  विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले बिनियोजन गरेको भन्दा करिब १ खर्ब ६० अर्ब बढीको बजेट अहिलेको सरकारले ल्याएको छ अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।

यस बर्षको बजेट अनुसार कुल बजेट  २१ खर्ब २४ अर्ब ३४ करोड रहेकोमा चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत) र  पुँजीगत  ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) रहेको छ भने  वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब (१९.९ प्रतिशत) बिनियोजन गरिएको छ।

संचार मन्त्रालयको लागि करिब ६ अर्ब, लोककल्याणकारी विज्ञापनको लागि ३३ करोड 

सरकारले आगामी आर्थिक वर्षका लागि सूचना तथा सञ्चार मन्त्रालयका ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  सरकारले नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यावसायिक कृषि कार्य गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । छापा तथा विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण हुने लोककल्याणकारी विज्ञापनका लागि सरकारले ३३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

लामो समयदेखि थाती रहेको दूरसञ्चार प्राधिकरण विधेयक अब संसद्मा पेस गर्ने उनले उल्लेख गरे । ‘नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाइनेछ,’ उनले भने, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ।’  साथै, सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एकापसमा गाभेर एकीकृत सुरक्षित मुद्रण संस्था स्थापना गर्ने सरकारको लक्ष्य छ ।

४ बर्षपछि कर्मचारीको तलब समग्रमा २१ प्रतिशत बढ्ने 

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेट पेस गर्दै कर्मचारीको तलब वृद्धि गरिएको बताएका हुन् । अर्थमन्त्री वाग्लेले समग्रमा कर्मचारीको तलब २१ प्रतिशतसम्म बढ्ने बताए ।  अर्थमन्त्री वाग्लेले बजेट भाषणका क्रममा भने, ‘कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिदैँ शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु। कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।

यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम् पारिश्रमिक करिब रू. ४० हजार देखि रु. १ लाखमाथि कायम हुनेछ।’ नयाँ तलस्केल २०८३ साल साउन १ गतेदेखि लागू हुनेछ ।  महँगी भत्तालाई कायमै राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बताए ।  साथै अर्थमन्त्री वाग्लेले सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार हुने बताएका छन् । साथै माथिल्लो तहका कर्मचारीको तलब १ लाख रुपैयाँभन्दा बढी हुने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले भने, ‘पछिल्लो ४ वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु ।’ सरकारले ४ वर्षयता कर्मचारीको तलब बढाएको छैन । सरकारले पछिल्लो पटक आर्थिक वर्ष ०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो ।

३१ निकाय खारेजी, ६ वटा मर्जरसमेतबाट २० अर्ब बचत हुने 

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी निकायको विद्यमान बोझिलो संगठन संरचना चुस्त बनाइने बताएका छन् । मन्त्रालयको संख्या घटाइएको र त्यसैअनुसार मन्त्रालय तथा विभागका दरबन्दी कटौतीबाट संरचनालाई चुस्त पारिने उनले बजेट भाषणका क्रममा बताए । विभाग, कार्यालय तथा दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति सरकारले लिएको उनको भनाइ छ ।  ३१ निकायलाई खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकायको पुनर्संरचना गर्न लागिएको अर्थमन्त्री वाग्लेले बताए । अभूतपूर्व मितव्ययिता अपनाइएको र त्यसबाट २० अर्ब बचत हुने प्रारम्भिक अनुमान रहेको मन्त्री वाग्लेले बताए ।

आगामी आर्थिक बर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान

सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो विश्वास व्यक्त गरेका हुन् ।  बजेट कार्यान्वयनका लागि सघाउ पुर्‍याउने गरी मौद्रिक नीति जारी हुने पनि अर्थमन्त्री वाग्लेको भनाइ छ ।  अर्थमन्त्री वाग्लेले भने,‘आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्यवृद्धिदर ६ प्रतिशतभित्र सीमित रहने विश्वास लिएको छु । बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउन पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ ।’

करिडोरको लागि ६ अर्ब २५ करोड र सडक मर्मत गर्न २८ अर्ब 

सरकारले कर्णाली, कालीगण्डकी र कोशी करिडोरलाई ६ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ ।  कर्णाली करिडोरमा ३१ किलोमिटर कालोपत्र र ग्राभेल, कालीगण्डकी करिडोरमा २१ किमि कालोपत्र र कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर कालोपत्र गरिने भएको छ । यी तीनवटा करिडोर सडकका लागि ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुतिका क्रममा बताए।

यसैगरी राष्ट्रव्यापी सडक मर्मत गर्न सरकारले २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षदेखि काठमाडौं उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धूलो र खाल्डाखुल्डीमुक्त बनाइने अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट सार्वजनिक गर्दै बताएका हुन् ।

खेलकुद क्षेत्रको लागि ४ अर्ब ३ करोडको बजेट

सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।  संघीय संसद्को संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने बताएका हुन् ।  अगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगाशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने बताए । त्यस्तै प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताको इन्डोर मल्टिप्रपोज स्टेडियम अगामी ३ वर्षभित्र निर्माण गरिने अर्थमन्त्री वाग्लेको घोषणा छ ।

बजेटको पूर्ण पाठ पढ्न तल क्लिक गर्नुहोस ।

budget speech 2083

१५ जेष्ठ २०८३, शुक्रबार १९:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा