पोखरा, पोखरा महानगरपालिकाले पोखराको फिर्के खोला अतिक्रमण गरेर बनाइएका तथा पृथ्वीचोक बसपार्क क्षेत्रको सार्बजनिक जग्गामा बनेका संरचना हटाउने कामलाई निरन्तरता दिएको छ यसक्रममा पृथ्वीचोकस्थित बसपार्क अगाडिको संस्थान क्षेत्रमा रहेका बिभिन्न सार्बजनिक संस्थाले बनाएका संरचनाहरु बिहिबार बिहानबाट भत्काउन लागिएको छ भने फिर्के खोलाक्षेत्रका संरचना हटाउने कामलाई पनि निरन्तरता दिईएको छ ।
पृथ्वीचोक क्षेत्रको बाइपास सडक विस्तार गर्ने उद्देश्यले साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, हिमाली सांस्कृतिक परिवार लगायतका संस्थाले बनाएका संरचना महानगरपालिकाले भत्काएको छ। यो क्षेत्रमा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासंघ र नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका कार्यालय भवन सहितका संरचना समेत रहेकोमा सबै संरचना हटाउन सुरु गरेको छ । यी संस्थाहरुले पोखरा उपत्यका नगर विकास समिति संग जग्गा लिएर सोहि जग्गामा पक्कि संरचना बनाएका थिए । तत्कालिन नेकपा माओबादी सम्बद्ध मजदुर संगठनले उपभोग गरेको जग्गामा बनेको संरचना यसअघि नै सोहि संगठनले भत्काएको थियो ।

साहारा क्लबले सञ्चालन गरेको सार्वजनिक शौचालय पनि यही ठाउँमा छ । महानगरले संरचना हटाउन ३५ दिनको अन्तिम सूचना दिएको थियो । उक्त म्याद जेठ ९ गते नै सकिएको थियो । सूचनाको म्याद सकिएपछि महानगरले डोजर चलाउने निर्णय गरेको हो । संरचना हटाएपछि पृथ्बीचोकबाट नयाँबजारतर्फ जाने सडक दुईतर्फी विस्तार गरिनेछ । नगर प्रमुख आचार्यले भने, ‘लामो समयदेखि संस्थाले उपभोग गरेको जग्गा अब सडक चौडा बनाउन प्रयोग हुनेछ ।’ उनले यस कार्यमा सहयोग गर्ने सरोकारवाला प्रति आभार पनि प्रकट गरे । महानगरले सोही क्षेत्रमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने तयारी गरेको छ ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने सुचना जारी गरेपछि ति संरचनामा भाडामा बसेका व्यवसायीले धमाधम सटर खाली गरेका थिए । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा बनाइएका भवनमा बिहिबार डोजर लगाउने तयारी गरिएपछि केहि दिन अगाडी देखि नै त्यस क्षेत्रका ब्यबसायीहरुले सामान सार्न लागेका थिए । त्यहाँ रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना पनि सम्बन्धित संस्थाले केही दिनअघि नै खाली गरेका थिए ।

यसैगरी पोखरा महानगरपालिकाले फिर्केखोलाको खोला घर खाली गर्ने अभियानलाई तीव्रता दिने क्रममा चौँथो दिनसम्ममा साना–ठूला गरी १ सय ५ वटा संरचना हटाएको जनाएको छ । चौंथाे दिन बुधबार वडा नम्बर १८ र २ को सिमाना क्षेत्रमा रहेका ८ वटा संरचना हटाइएको छ । त्यसैगरी वडा नम्बर ४ र ५ क्षेत्रमा १ वटा पक्की र ३ वटा कच्ची संरचना भत्काइएको छ भने वडा नम्बर ७ र ८ क्षेत्रमा ५ वटा कम्पाउन्ड वाल र ६ वटा स्थायी संरचना हटाइएको छ ।
पोखरा महानगरपालिकाले जनाए अनुसार चौथो दिन मात्रै २३ वटा संरचना हटाइएका हुन् । खोला अतिक्रमण हटाउने कार्यमा ३ वटा जेसिबी र २ वटा एक्स्काभेटर प्रयोग गरिएको छ । अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल तथा प्राविधिक कर्मचारीहरू खटिएका छन् । महानगरपालिकाले फिर्केखोलाको खोला घर खाली भएपछि उक्त क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ । योजनाअनुसार खोला किनार क्षेत्रमा साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रबर्द्दन तथा आधुनिक लाईटिङ् व्यवस्थासहित सुरक्षित र व्यवस्थित करिडोर निर्माण गरिने जनाइएको छ ।














