पोखरा, नेपाल पत्रकार महासंघ कास्कीको हालै सम्पन्न १८ औं साधारण सभाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको अनिवार्य सर्तका रूपमा स्वीकार गर्दै यसको रक्षाका लागि दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ। जेनजी पुस्ताको नाममा भएको बिद्रोहपछि बनेको वर्तमान सरकार निजि संचार माध्यमप्रति अनुदार बनेको भन्दै साधारण सभाले सरकारी विज्ञापनलाई केवल सरकारी सञ्चारमाध्यममा मात्र केन्द्रित गर्ने निर्णयले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने र निजी तथा स्वरोजगारमूलक मिडियालाई विस्थापित गर्ने भएकोले उक्त निर्णय तत्काल फिर्ता लिन साधारण सभाले माग गरेको छ ।
महासंघले संघीय, प्रदेश र स्थानीय सरकारलाई समानुपातिक विज्ञापन नीति अवलम्बन गर्न र पत्रकारितालाई लोकतन्त्रको अंगका रूपमा स्वीकार गर्न आग्रह गर्दै साधारण सभाले सञ्चार क्षेत्रलाई थप समावेशी बनाउनुपर्नेमा समेत जोड दिएको छ । बदलिँदो डिजिटल परिवेश र कृत्रिम बौद्धिकता (एआई) को विकासले पत्रकारितामा अवसर र चुनौती दुवै थपेको भन्दै पत्रकारलाई प्रविधिमैत्री र तथ्यपरक बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता सभाले औंल्याएको छ ।
पत्रकारको आर्थिक र सामाजिक सुरक्षाको सवालमा महासंघले श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन गर्नुपर्ने र साना लगानीका तथा स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक मन्दी र सरकारी विभेदका कारण संकटमा परेको भन्दै सभाले तिनको संरक्षणका लागि विशेष नीति ल्याउन माग गरेको छ ।
मिडिया दर्ता र नवीकरणका लागि काठमाडौं जानुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गरी स्थानीयस्तरबाट सेवा प्रवाह गर्न महासंघले जोडदार माग गरेको प्रस्ताब तयारी समितिका संयोजक भरत कोइरालाले जानकारी दिए ।
महासंघको कास्की शाखाका सचिब भुपाल गुरुङले प्रस्तुत गरेको सचिवको प्रतिबेदन र राजाराम पौडेलले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदनलाई साधारण सभाले पारित गरेको छ । साधारण सभामा सदस्य पत्रकारहरु श्रीराम सिग्देल,दिनानाथ बराल, यदुनाथ बन्जारा, उदयबहादुर अमात्य,डा. बलराम उपाध्याय रेग्मी, ओमबहादुर हमाल र कमल पौडेल अथक लगायतले उठाएका बिभिन्न जिज्ञासाको जवाफ कास्की शाखाका अध्यक्ष माधव बरालले दिएका थिए । अध्यक्ष बरालले संस्थाले वितरण गर्ने पुरस्कार र आयोजना गर्ने तालिम कार्यक्रम थप पारदर्शिता पुर्वक संचालन गरिने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष माधव शर्माको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले बन्द सत्र संचालन गरेको थियो । अध्यक्ष मण्डलको संयोजक रहेका शर्माले महासंघले गर्ने काम र निर्णयहरु सदस्यको भावना अनुरुप हुनुपर्नेमा जोड दिए भने अध्यक्ष मण्डलका सदस्य एबम महासंघको कास्की शाखाका पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकार र पत्रकारिताको गरिमा र प्रतिष्ठा उच्च राख्ने गरि महासंघले काम गर्नुपर्ने सुझाब दिए ।
अध्यक्ष मण्डलका सदस्य एबम नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले महासंघले संचालन गर्ने पुरस्कारको निर्देशिका समयानुकुल परिमार्जन गरिनु उपयुक्त हुने बताउंदै महासंघले गर्ने तालिम आबश्यकता र प्राथमिकताको आधारमा गर्नुपर्ने सुझाब दिए । उनले स्वरोजगार मिडियाको संरक्षनका लागि र पत्रकारलाई यही पेशामा टिक्न सक्ने बनाउनको लागि महासंघले पहल गर्नुपर्ने आबश्यकता औंल्याए ।
पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कार

यस अघि साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानको कदर गर्दै उनीहरूको वृत्तिविकासका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको बताए ।
सोहि समारोहमा मन्त्री कार्कीले पत्रकार लालप्रसाद शर्मालाई यस बर्षको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट सम्मान गरे। स्व, पत्रकार गजेन्द्र भण्डारीका परिवारद्वारा स्थापित एबम नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारबापत २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।
शर्मालाई मन्त्री कार्की सहित पुरस्कारका संस्थापक सरस्वती भण्डारी, महासंघका अध्यक्ष बराल लगायतले सम्मान गरेका थिए । सोहि समारोहमा पुरस्कारको स्थापना गर्ने स्व. गजेन्द्र भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारीले पुरस्कार कोषमा १ लाख रुपैया थप गरिदिने घोषणा गरेकी थिईन ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्की संयोजक र भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिको सिफारिसमा शर्मालाई महासंघ कास्कीले सम्मान गरेको हो।
पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष माधव शर्मा, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रदेश अध्यक्ष रमेश पौडेल, शाखाका उपाध्यक्ष माधव रेग्मी, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, पुरस्कारका दाता सरस्वती भण्डारी लगायतले पत्रकारिताको मर्यादासँगै पत्रकारहरूको पेसागत सुरक्षा र हकहितका विषयमा आआफ्नो भनाई राखेका थिए ।














