काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिंदै बर्तमान सरकारलाई जवाफदेहि बन्न, नागरिकको जनाजिबिकाको सवालमा गम्भीर बन्न, संबिधान संसोधनको बिषयलाई खेलाँची नठान्न, भदौ २४ गते विध्वंशमा उत्रिनेहरुलाई कारबाही गर्न र सुशासनमा गम्भीर बन्न आग्रह गरेका छन । नेपाली कांग्रेसले सुनसरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे ।
कांग्रेस सभापति थापाले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाईको सरकार चलाउने मेण्डेट पाएको भए पनि सरकार ठिक ढंगले नचलाएको बताए । विगतमा बहुमत प्राप्त गरेका सरकारले ठिक ढंगले सञ्चालन गर्न नसकेको स्मरण गर्दै थापाले भने ‘सरकार चलाउने जनमत रास्वपाले पाएकोमा सम्मान गर्छौं , तर सरकार जवाफदेही बन्नुपर्छ ।’ विगतमा सुविधाजनक जनक बहुमत प्राप्त गरेका सरकारले आंफ्नो कार्यकाल पुरा गर्न नपाएको उनले स्मरण गराए ।
‘सरकारले हेक्का राखोस्, संविधान र कानुनमाथि कोही पनि हुँदैन,’ थापाले भने, ‘शक्तिशाली र लोकप्रिय भन्दैमा जे पनि गर्न पाइँदैन ।’ पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने थापाले बताए । ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ, ’थापाले भने, ‘ कसैलाई रहर लाग्दैमा सुकुम्बासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ ? अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्न चेतावनी दिए ।
सरकारले उद्योगी, व्यवसायी, बैंकरलाई मनपरी पक्राउ गरेको भन्दै कांग्रेस सभापति थापाले आक्रोस पोखे । ‘मन्त्रीले बोलाउँदा भेट्ने समय नदिएको भन्दै निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाउने काम भयो,’ थापाले भने, ‘बैंकका सिइओलाई पनि बिना कारण पक्राउ गरेको खबर सुनियो ।’ चित्त नबुझेको खण्डमा जसलाई मन लाग्यो त्यसलाई पक्राउ नगर्न थापाले चेतावनी दिए । ‘कानुन विपरितका कार्यमा असहमति रहेको र त्यस्ता कार्य दोहोर्याए कांग्रेसले प्रतिवाद गर्ने उनले चेतावनी दिए ।
कांग्रेस सभापति थापाले आम नागरिकको जनजिविकासँग जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्ने खाँचो औंल्याए । मध्यपूर्वको संकटले नागरिकको दैनिक जीवनमा असर परेको भन्दै इन्धनको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको, सामान्य श्रम गरेर आम्दानी गरेका नागरिकको भान्सा चलाउन हम्मेहम्मे परेको र ढुवानी खर्च र लागत खर्च बढेकाले दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा भान्सा थेग्न नसक्ने अवस्थामा पुगेको थापाले बताए ।
‘पम्प लगाएर सिँचाई गर्ने किसानलाई इन्धनको मूल्यवृद्धिले असर गरेको छ । मलको व्यवस्थापन हुन सकेको छैन । निर्माण क्षेत्रमा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार जिम्मेवार बनोस् हामी सहकार्य गर्न तयार छौं ।’ सहकारीबाट पीडित बनेकाहरुलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड निकासा गरेको भनेर लोकप्रियतामा रमाउन खोजेको आरोप लगाए ।
स्वास्थ्य बिमामा देखिएको समस्या समाधान गर्नुपर्नेमा कांग्रेस सभापति थापाको जोड थियो। ‘स्वास्थ्य बिमा हामीले सुरु गरेको हो, अहिले थला परेको छ । सरकारले व्यवस्थित गरोस् ।’ सीमा क्षेत्रमा सय रुपैयाँ भन्दा बढी सामानमा कडाई गर्दा सिमा क्षेत्रका नागरिक समस्यामा परेको भन्दै यो विषयमा संवदेनशील बन्न आग्रह गरे । जनजिविकाका सवालमा सरकारले आह्वान गरेमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए । थापाले भने, ‘प्रधानमन्त्री तपाइँ कहाँ हुनुहुन्छ । हामी छलफल गर्न चाहान्छौं ।’
कांग्रेस सभापति थापाले सरकारले अहिले संविधान संशोधन गर्न गठन भएको कार्यदलप्रति प्रश्न उठाउँदै संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गरे । २०७२ को संविधानमा नेपालीको भावना जोडिएको भन्दै उनले संबिधानमा कतिपय नचाहेका विषय पनि रहेकोले संशोधन आबश्यक रहेको भएपनि संविधान संशोधनलाई खेलाँचीको विषय नबनाउन थापाले जोड दिए । ‘दुई चारजना बसेर संविधान संशोधन हुन सक्दैन, सरकारले ढंग पुर्याएको छैन ।
कांग्रेस सभापति गगन थापाले भदौ २४ को घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरे। ‘भदौ २३ र २४ जेनजी आन्दोलन भयो । पुर्व न्यायाधिशको संयोजकत्वमा छानविन समिति पनि बन्यो,’ थापाले भने, ‘समितिले २३ गतेको विषयमा प्रतिवेदन दिएर कारबाही प्रक्रिया अघि बढाएको भए पनि भदौ २४ को घटना पनि छानविन हुनुपर्छ ।’ ‘भाद्र २४ मा सबैभन्दा धनजनको क्षति पुगेको छ,’ सभापति थापाले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ जेनजी आन्दोलनको बारेमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत उनले माग गरे ।
थापाले शुसासनको सवालमा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानविन गर्न सरकारले गठन गरेको आयोगको क्षेत्राधिकार प्रष्ट हुनुपर्ने बताए । सुशासनको विषयमा गल्ती गरेको भए परीक्षामा उत्रिन आँफू तयार भएको बताउँदै प्रधानमन्त्री र सरकारका मन्त्रीहरु पनि यो परीक्षामा सहभागी हुन तयार हुने कि नहुने ? भनि प्रश्न गरे ।
मन्त्रीहरुको विषयमा उठेका प्रश्नको विषयमा छानविन हुनुपर्ने थापाले बताए । ‘मन्त्रीहरुका सम्पत्ति विवरणमा बैध स्रोत के हो ? परिवारले कहाँबाट आर्जन गर्यो ? प्रश्न हुनुपर्ने बताउँदै थापाले वैध ढंगले सम्पत्ति कमाउने अधिकार भने सबैसँग भएको बताए ।














