Play

रसुवा भन्सारमा रोकिएका एम्बुलेन्स र स्वास्थ्य उपकरण साढे तिन बर्षपछि पोखरामा: मेयर आचार्यले के भने ?

गुरुकुल खबर


पोखरा, चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहारस्वरूप पोखरा महानगरपालिकालाई प्रदान गरेको एम्बुलेन्स सहित करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्रीहरु लामो समयको प्रतीक्षापछि पोखरा भित्रिएका छन । २०७९ सालमा पोखराका मेयर धनराज आचार्यसहितको जनप्रतिनिधिको टोली चीनको लिञ्जी शहरको भ्रमणमा जाँदा उक्त नगरले प्रदान गरेका अत्याधुनिक एम्बुलेन्ससहितका सामग्री कानुनी जटिलताका कारण करिब साढे तिन बर्ष रसुवाको केरुंग नाका भन्सारमै रोकिएका थिए ।

लिञ्जी नगर र पोखरा नगरको बिचमा मितेरी सम्बन्ध स्थापित भएको कारण पोखराका तत्कालिन नवनिर्बाचित जनप्रतिनिधिलाई भ्रमणको लागि त्यहाँ बोलाउंदा ति स्वास्थ्य उपकरण पोखरा महानगरपालिकाको लागि उपलब्ध गराइएको थियो । पोखरा महानगरका प्रमुख धनराज आचार्य निर्वाचित भएलगत्तै चीनको लिञ्जी सहरमा आयोजित एक समारोहमा सहभागी हुन पुगेका थिए ।

त्यस अवसरमा लिञ्जी नगर सरकारले पोखराका नागरिकको स्वास्थ्य सेवामा सहजता होस् भन्ने उद्देश्यले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिण्डर तथा अक्सिजन इन्सिनेटर लगायतका सामग्री सहयोग गरेको थियो । टोली फर्किएको एक सातामै ती सामग्री रसुवाको केरुङ नाकामा आइपुगे पनि नेपालको भन्सार कानुनका कारण भित्रिन सकेका थिएनन् ।

यसै बिषयलाई लिएर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आंफ्नो सामाजिक संजाल फेसबुकमा यसबारेमा जानकारी दिंदै ति सामग्री रोकिनुको मुख्य कारण भन्सार छुटको न्यून सीमा रहनु नै हो । ‘नेपालको कानुनी व्यवस्था अनुसार भन्सार छुटको सीमा जम्मा १६ लाख रुपैयाँ मात्र रहेछ, जबकि सामग्रीको मूल्य करोडौँ थियो, त्यसैले प्रक्रिया अगाडि बढ्न सकेन’, आचार्यले लेखेका छन ।

मेयर आचार्यले शनिबार दिउँसो ३ बजे मितको चिनो आंफ्नै आँगनमा आइपुगेको भन्दै फेसबुकमा लेखेको छन..

२०७९ सालमा पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि, पोखराको पुरानो मितेरी सहर चीनको जिजाङ प्रान्तस्थित लिञ्जी सहरमा आयोजित एक समारोहमा सहभागी हुन म र केही साथीहरू त्यहाँ गएका थियौँ। नव निर्वाचित टोलीलाई स्वागत गर्दै मितेरी सहरले बिदाइका बेला अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, केही भेन्टिलेटर, अक्सिजन सिलिण्डर तथा अक्सिजन इन्सिनेटरलगायत करिब नेपाली बजार मूल्य ३.५ करोड बराबरका स्वास्थ्य सामग्री उपहारस्वरूप प्रदान गरेको थियो।

फर्किने क्रममा मितेरी सहरका मेयर मिस्टर बाटा तथा सम्पूर्ण नगरपालिका सरकार, विशेषगरी विदेश विभागका मित्रहरूलाई धन्यवाद दिँदै हामी नेपाल फर्कियौँ। हामी पोखरा आएको अर्को हप्तामै ती सामग्री रसुवा (केरुङ) नाकामा आइपुगे। यो पूर्ण रूपमा मितेरी सहरको उपहार थियो, जसको उद्देश्य पोखराका नागरिकहरूले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् र दुई सहरबीचको मितेरी सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने थियो।

तर दुःखको कुरा, हाम्रो कानुनी व्यवस्था र तोकिएको सीमाका कारण ती सामग्री भन्सारबाट छुट्न सकेनन्। भन्सार छुटको सीमा जम्मा १६ लाख रुपैयाँ मात्र रहेछ, जबकि सामग्रीको मूल्य करोडौँ बराबरको थियो। त्यसैले प्रक्रिया रोकियो। मूल्य उल्लेख नगरी पठाइएको भए सायद त्यतिबेलै छुट्थ्यो कि वा अन्य जटिलता आउँथ्यो, त्यो भन्न सकिन्न।

लगातार ३ वर्षभन्दा बढीको पहल, समन्वय र प्रयासपछि गत वर्षको बजेटमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलज्यूसँग लामो छलफल गरी विषयवस्तुको जानकारी गराएपछि बल्ल भन्सार छुटको सीमा हटाइयो र यो ढोका खुल्ने वातावरण बन्यो। एम्बुलेन्स छुटको सीमा हटेसँगै प्रक्रिया अगाडि बढ्ने बाटो खुलेको थियो।

तर बीचमै अर्को पीडादायी घटना पनि भयो। ती सामग्रीसँग सम्बन्धित सम्पूर्ण कागजात महानगरको कार्यालयमा भएको आगलागीमा नष्ट भए। त्यसपछि पुनः प्रक्रिया सुरु गर्दै, ३.५ वर्षपछि मूल्य उल्लेख नगरी फेरि सामग्री मगाइयो, र आज ती सामग्री अन्ततः पोखराको आँगनमा आइपुगेका छन्।

आज यी सामग्री पोखरा महानगरपालिकाको परिसरमा आइपुग्दा यो केवल उपकरणहरूको आगमन मात्र रहेन, मित्रताको सम्मान, निरन्तर प्रयासको परिणाम र नागरिकप्रतिको दायित्व पूरा भएको अनुभूति पनि बनेको छ। अर्को सम्झनलायक पक्ष के थियो भने, हाम्रो उक्त भ्रमणलगत्तै आयोजित अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुन हाम्रो निमन्त्रणा स्वीकार गर्दै सोही सहरका मेयर मिस्टर बाटा र उहाँको टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानमार्फत पोखरा अवतरण गर्नुभएको थियो। त्यो ऐतिहासिक क्षण आज फेरि स्मृतिमा ताजा बनेर आएको छ।

त्यतिबेला मेरा समकक्षी मेयरले “एम्बुलेन्सको पर्फर्मेन्स कस्तो छ?” भनेर सोध्दा मलाई निकै अप्ठ्यारो महसुस भएको थियो, र मैले विषयान्तर गर्नुपरेको त्यो क्षण आज पनि सम्झिरहेको छु। आज ती सबै क्षणहरू—मितेरी सहरसँगको घनिष्ठ सम्बन्ध, स्वास्थ्य उपकरणको सहयोग, सुविधा सम्पन्न एम्बुलेन्स, पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान—सबै फ्यासब्याक बनेर मनमा घुमिरहेका छन्।

यी सामग्रीहरूलाई भन्सार छुटाएर पोखरा ल्याउन अहोरात्र खटिनुहुने नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेज्यू, भन्सार प्रमुखज्यू तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीज्यूहरू लगायत सम्पूर्ण सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। जेहोस्, आज म अत्यन्त खुशी छु।मितको उपहार अन्ततः आफ्नै आँगनमा आइपुगेकोमा ..

३ जेष्ठ २०८३, आईतवार २३:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा