Play

रुपातालको रुपान्तरणमा तिब्रता: लम्बाई डेढ किमी, गहिराई ४ मिटर र क्षेत्रफल ६१ हेक्टर बढ्ने, तालको बिचमा टापु बन्ने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका र रुपा गाउँपालिकालाई जोडेको रुपा ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट बनाउनको लागि आबश्यक कामलाई तिब्रता दिईएको छ । जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै रुपातालको किनार र तालको बिच भागमा पनि विभिन्न कामहरु निरन्तर भैरहेको छन ।

जलश्रोत तथा सिंचाई विभागका महानिर्देशक ई. मित्र बरालका अनुसार जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गर्ने क्रममा पर्यावणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले बिभिन्न काम निरन्तर चलिरहेको छन । आगामी तिन बर्षभित्र अहिले जारी काम सम्पन्न भएसँगै रुपातालको समग्र रुप नै फेरिने अपेक्षा गरिएको छ ।

साततालको बगैँचा शहरको रुपमा मानिने लेखनाथको सिमसार सूचीमा सूचीकृत तालहरूमध्येको एक रुपातालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रुप फेरिने अवस्थामा पुगेको हो । यसअघि रुपाताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजना अन्तर्गत छ ।

रुपाकोट, हंसपुरको सिरान र माझठाना साविक लेखनाथ नगरपालिका वडा नं. १०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरुयोजनासहित संरक्षणका कामहरू थालिएको हो । आयोजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यसअनुरुप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुुसार परियोजना सम्पन्न भएसँगै रुपा तालको स्वरुप नै परिवर्तन हुनेछ । २०७५/०७६ देखि काम थालिएको र चरणबद्ध रुपमा अघि बढ्ने आयोजनाको लागत ४ अर्ब ५२ करोड रहेकामा हालसम्म २ अर्ब ७० करोडको काम सम्पन्न भएको छ । स्वीकृत गुरुयोजनाअनुसार यो आयोजना २०८५/०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कूल १ सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १ सय ८३ हेक्टर क्षेत्रफलमा फैलिने छ । परियोजना अन्तर्गत बाँध निर्माणको काम जारी छ र बाँध निर्माणका लागि २९ करोड रुपैयामा ठेक्का सम्झौता गरेर कालिका नयाँ बाटो जेभिले काम गरिरहेको छ । बाँध निर्माण कार्य २०८३ भदौ २३ सम्म सक्ने समयावधि निर्धारण गरिएको छ ।

निर्माण सम्झौता अनुसार तालमा ५ सय ९० मिटर माटोको बाँध रहनेछ भने ४५ मिटर कङ्क्रिट बाँध रहनेछ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुले श्रेष्ठले जानकारी दिए ।  बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर हुनेछ । यस आयोजनाअन्तर्गत रुपातालको बायाँतर्फ ७।८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ ।

त्यस्तै परियोजना अन्तर्गत नै हालको लम्बाइ दुई किलोमिटर रहेको ताल फैलिएर ३.६ किलोमिटर हुनेछ । तालमा रहेको ८ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि रु ४० करोड विनियोजन भई काम भइरहेको र सम्झौताअनुसार आगामी एक बर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एण्ड कम्पनीमार्फत भइरहेको छ ।

आयोजनाअन्तर्गत नै तालको बीचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा पाँच किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिनेछ । आयोजनाकै लागि एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नुुपर्नेमा यसअघि ९ सय ११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि १ अर्ब रुपैया मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १ सय २६ रोपनी अधिग्रहण गर्नुपर्ने भएपनि हाल उक्त काम प्रक्रियामा नै रहेको बुझिएको छ ।

यी सबै काम सम्पन्न भएसँगै तालको क्षेत्रफलसँगै थप चार मिटर गहिराइ पनि बढ्ने जनाइएको छ । रुपातालको एकीकृत विकास आयोजनासँगै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गण्डकी प्रदेश भित्रका विभिन्न ५० भन्दा बढी आयोजना हेदै आएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । हालै सिँचाइ दिवस एवं ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाबाट सम्पादित कार्यप्रगति एवं समुदायमा पुर्याएको समग्र प्रभाव मूल्याङ्कनका आधारमा उत्कृष्ट आयोजनाका रुपमा पुरस्कृत समेत भएको उनले बताए ।

सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको बूढापाकाको तर्क छ । पछिल्ला वर्षमा सौन्दर्य ह्रासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै गएका अवस्थामा परियोजना सम्पन्न भएसँगै तालको संरक्षण हुने र सुन्दरता पनि बढ्ने विश्वास लिइएको छ । हाल तालको बिस्तार एबम अन्य पुर्वाधार निर्माण कार्य जारी रहेको कारण भविष्यमा रुपातालको आकर्षण धेरै बढ्ने बिश्वास त्यस क्षेत्रमा घुम्न गएका पुरण श्रेष्ठले व्यक्त गरे।

पोखराको मार्गदर्शन एकेडमीका संचालक समेत रहेका श्रेष्ठले रुपाताल र बेगनासतालको किनारमा बनेको सडक पक्कि र सजिलो रहेकोले मात्र नभएर डांडाकाँडा सहितको हरियाली अनि गाउँले जिबन हेर्न, त्यसक्षेत्रमा माछा सहित अन्य परिकार खान पनि ठुलो संख्यामा युवा र सर्बसाधारण पुग्ने गरेको बताए। ‘हामी त गाडी लिएर त्यस क्षेत्र घुम्न गयौं तर दुई पांग्रे सवारीमा जानेहरुको संख्या पनि उल्लेखनीय हुनेरहेछ। त्यस क्षेत्रमा पछिल्लो समय सुकेको रुखको फेदबाट निरन्तर पानी आइरहने घटना सार्बजनिक भएपछि त्यसले समेत आन्तरिक पर्यटक र धार्मिक व्यक्तित्वलाई आकर्षित गरेको रहेछ’ साथीहरु लिएर त्यहाँ घुम्न पुगेका श्रेष्ठले गुरुकुल खबरसंग भने।

विगतमा अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्दै आएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि पर्यटकको आकर्षण बनेको सोहि ठाउँमा माछा खान पुगेका संचारकर्मी तिर्थ केसीले बताए। यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रुपाताल पुग्ने गरेका छन् । सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

रुपाताल किनारका जङ्गललाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । प्राणी उद्यान केन्द्र पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिए । आयोजना अन्तर्गत ताल किनारमा बनाउने भनिएको फुट ट्रयाकले यहाँको सौन्दर्यतालाई अझै उजागर गर्ने छ । केन्द्रमा अवलोकन गर्न आउने पर्यटकले रुपातालको मनोरम दृश्यसँगै यहाँ राखिएका चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।

उनका अनुुसार रुपाताल आसपासका क्षेत्रको जङ्गलमा ३ सय ६१ प्रजातिका वनस्पति, १ सय ७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यस क्षेत्रमा १ सय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ । रुपामाथि राखिएको झोलुङ्गे पुल यहाँको अर्को आकर्षण हो । दुई सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि यो पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरा महानगरपालिका–३१ र रुपा गाउँपालिका–६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पछिल्ला समयमा तालमाथिको झोलुङ्गे पुल हेर्न र टिकटक तथा भिडियो बनाउन आउने क्रम पनि बढीरहेको छ ।

रुपाताल चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस तालमा धेरै प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेका छन् । विशेषगरी हिउँदको समयमा साइबेरियालगायत स्थानबाट विभिन्न प्रजातिका चराहरु रुपातालमा आउने गरेको पोखरा पन्छी समाजका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले बताए । रुपा तालसहित लेखनाथका तालहरू चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रुपमा रहेको उनको भनाइ छ ।

यसैबीच रुपातालको बाँकी काम गर्नका लागि ३ सय १७ वटारुख काट्नुपर्ने भएको छ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ । वातावारणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुुसार ३ सय १७ रुख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेशन गर्दा १ सय २८ वटा मात्रै रुख हटाउनुुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पुरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसका लागि वनबाट स्वीकृति आउनुपर्ने प्रावधान रहेको जानकारी दिए ।

२० बैशाख २०८३, आईतवार ००:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा