काठमाडौँ, लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्दम्बे सर्वसम्मत चयन हुने भएका छन्। लामो आन्तरिक छलफलपछि कांग्रेसले आङ्दम्बेको नाममा सहमति जुटाउँदै उनलाई दलको नेता बनाउने भएकाे हाे। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्दम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।
सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो । यस अगाडी पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गठन गरेको विश्वप्रकाश शर्मा नेतृत्वको कार्यदलले गरेको पहल र पटक पटकको वार्ताले अन्ततः आङ्देम्बेको सहमति जुटेको बताइन्छ।
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए । तर, एकताको सन्देश दिनका लागि आङ्दम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको थियो । आङ्दम्बे कांग्रेसको समानुपातिक सांसद हुन् । उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए । तर, गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन् ।
यद्यपि, उनले आफूलाई कुनै समूहको लेबल नलगाउन र आफू सभापति थापाको स्पिरिट अनुसार काम गर्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए।पार्टीको आन्तरिक एकताको सन्देश दिन पनि आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने आवाज उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरुले राख्दै आएका थिए । उनलाई शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरुले साथ दिएकाले ३८ सदस्यीय कांग्रेस संसदीय दलमा आङ्दम्बेको पक्षमा बहुमत पनि पुग्ने स्रोत बताउँछ ।
आजको बैठकमा भने सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पनि आङ्देम्बेलाई नै दलको नेता बनाउने प्रस्ताव अगाडि सारेका थिए। केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएलगत्तै आजै बस्ने संसदीय दलको बैठकले उनलाई औपचारिक रूपमा दलको नेतामा चयन गर्ने तयारी गरेको छ।आङ्दम्बेले अब संसदमा कांग्रेसको संसदीय मोर्चाको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन। २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर-२ बाट निर्वाचित भई संसदीय अनुभव बटुलिसकेका उनी अबको बदलिँदो राजनीतिक परिस्थितिमा कस्तो भूमिका खेल्छन्, त्यो भने हेर्न बाँकी नै छ।














