काठमाडौँ, नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न महिनौं लागेको भनेर चौतर्फी आलोचना भएपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने सम्भावना छ। केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी भइरहेको बुझिएको छ । गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरुले सपथ लिएको करिब डेढ महिना समय बित्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन ।
संसद्को प्रमुख बिपक्षि दलको रुपमा रहेको नेपाली काँग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्दा संबैधानिक परिषदले समेत पूर्णता पाउन सकेको छैन। जसका कारण सरकारले गर्ने बिभिन्न निर्णय हरु समेत प्रभावित भैसकेको छन ।
दलको नेता चयन गर्ने भनेर पटक पटक सुचना जारी हुने र तयारी अगाडी बढेपनि अन्तिम अबस्थाम नेता चयन प्रक्रिया स्थगित हुँदै आएको थियो। पार्टीका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको बिचमा कुरा नमिलेको कारण दलको नेता चयन गर्ने प्रक्रियामा ढिलाई भैरहेको बताइएको छ।
प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसको संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारको रुपमा देखिएका छन । यधपी, नेता केसीले भने पछिल्लो समय आँफु दलको नेता बन्न इच्छुक रहेपनि मतदान प्रक्रियामा सहभागि नहुने जानकारी दिएका छन।
केहि कांग्रेस नेताहरुका अनुसार पूर्वसहमहामन्त्री आङ्देम्बेको नाममा सहमति जुट्ने बलियो सम्भावना रहेको छ । उनलाई उपसभापति विश्वप्रकाश शर्मासहित देउवा–कोइराला समूहको पनि साथ रहेको बुझिएको छ ।
गत शुक्रबार दलको नेता चयनका लागि मतदानको समय निर्धारण गरिएको भए पनि सहमतिका लागि भन्दै स्थगित गरिएको थियो । त्यसै दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समन्वय समिति बनाएको थियो । उपसभापति शर्माले आज उक्त प्रतिवेदन सभापति गगनकुमार थापालई बुझाउँदै छन् ।
यस्तै, कांग्रेस कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ संसदीय दलको बैठक पनि बोलाइएको छ । दलको बैठकबाट दलको नेता चुन्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए । यस्तै आजै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ ।














