पोखरा, नेपाली कांग्रेसले प्रतिनिधिसभामा संसदीय दलको नेता चयनका लागि आज आफ्ना सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।
दलको नेता चयनका लागि कांग्रेसले गठन गरेको समितिले आज शुक्रबार दिउँसो ३ बजे कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको समितिका संयोजक प्रकाश स्नेहीले जानकारी दिए।
फागुन २१ को निर्बाचन सम्पन्न भएपछि सबै दलले संसदीय दलको नेता चयन गरेर आंफ्ना गतिबिधि अगाडी बढाएको भएपनि आन्तरिक विवादमा रुमल्लिएको कांग्रेसले अझै पनि दलको नेता चयन गर्न सकेको छैन। प्रतिनिधिसभामा दोस्रो ठूलो दल बनेर प्रमुख प्रतिपक्षी बनेको नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन्।
कांग्रेस संसदीय दलको नेतामा कांग्रेसका पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी र भीष्मराज आङदम्बेको साथै मोहन आचार्यले दाबी गर्दै आएका छन्। यसका साथै कतिपयले कांग्रेसका युवा सांसदहरु योगेश गौचन, सन्दिप राना, निष्कल राई, बिष्णु खड्का लगायतको नाम पनि संसदीय दलको नेतामा चर्चा गर्न थालेका छन।














