पोखरा, पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकको सडकसम्म आउने यात्रुहरुको लागि तिन महिनासम्म निशुल्क बस सेवा संचालन गर्ने भएको छ। नयाँ वर्षको अवसर पारेर सुरु गर्न लागिएको सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सेवा आगामी असार मसान्तसम्म निःशुल्क रुपमा सञ्चालन हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन । नयाँ बर्ष प्रवेशको अवसर पारेर आज बैशाख १ गते दिउसो पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट निशुल्क बस सेवा शुरु हुने भएको हो।
विमानस्थल हुँदै पोखरामा आउने यात्रुहरुले विमानस्थलबाट ट्याक्सी वा अन्य सेवा महँगो र भरपर्दो नभएको भनेर गुनासो आइरहेको बेला पोखरा महानगरपालिकाले शुर गर्न लागेको यो सेवालाई सकारात्मक रुपमा लिएका छन । तर, असार मसान्तसम्म मात्र सेवा दिनुभन्दा यस किसिमको सेवा नियमित हुनसके आमसर्बसाधारण र पर्यटकहरु लाभान्वित हुने र विमानस्थलबाट पृथ्वीचोकसम्म यस किसिमको बस सेवा उपलब्ध हुनसके धेरैलाई सहज हुने सुझाब धेरैले दिएका छन।
पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था र मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सुरु गरिएको यो सेवा पोखरा महानगरले आंफ्नो पाइलटिङ कार्यक्रमका रूपमा केही महिनाका लागि निःशुल्क उपलब्ध गराउन लागेको हो । विमानस्थल आउने र जाने यात्रुको सहजताका लागि महानगरले निजी क्षेत्रसँग मिलेर यस्तो योजना अघि सारेको हो ।
पोखरा महानगरका प्रमुख आचार्यले पाइलटिङ कार्यक्रमका रूपमा असार मसान्तसम्म सटल बस निःशुल्क सञ्चालन गरिने र त्यसपछि स्थानीय व्यवसायीहरूले न्यूनतम शुल्कमा यो सेवालाई निरन्तर सञ्चालन गर्ने विश्वास ब्यक्त गरे।’ सटल बस सेवा सुरु भएपछि पर्यटक र स्थानीय बासिन्दालाई विमानस्थल आउजाउ गर्न थप सहज हुने महानगरले जनाएको छ ।
पोखरा महानगरका बासिन्दा एबम अन्यले पनि पोखरा महानगरको यो कामलाई सकारात्मक र राम्रो काम भन्दै प्रशंसा समेत गरेका छन तर कतिपयले तीनमहिने कार्यक्रम नभएर यसलाई निरन्तरता दिन र पहिलो चरणमा कम्तीमा पनि पृथ्वीचोकसम्म र त्यहाँबाट क्रमशः छोरेपाटन, लेकसाइड, हरिचोक तथा भद्रकालीसम्म जोड्न पाए अझै राम्रो हुने प्रतिक्रिया नगरबासीहरुले दिएका छन।
पोखराको नागरिक समाजको नाममा लामो समयदेखि सक्रिय रामबहादुर पौडेलले चरणबद्ध रुपमा पोखराको बजार क्षेत्रमा बिस्तार गर्न र पूर्वतर्फ बेगनासको तालचोकसम्म जोड्न सके नागरिकहरुलाई राम्रो हुने प्रतिक्रिया सार्बजनिक गरेका छन। विमानस्थलमा सहज यातायातको अभाव खड्किरहेका बेला महानगरले गरेको नयाँ पहल अनि नयाँ वर्षसँगै सुरु हुने यो सेवाले पोखराको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।














