पोखरा, कास्की जिल्लाको क्षेत्र न. २ बाट निर्बाचित प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसंग कास्की जिल्लाको बिकासको निम्ति बिभिन्न २४ वाट बुँदा अनुसारको काम गर्नुपर्ने आबश्यकता रहेको बताएका छन। उनले जोड दिएका २४ बुंदामा पर्यटन, पूर्वाधार विकास, सुशासन, अस्पताल, विमानस्थल, कृषि, रोजगार, युवा लगायतका विषयसंग सम्बन्धित रहेको छन ।
फागुन २१ गते सम्पन्न निर्बाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उमेदवार बनेका पौडेलले फराकिलो मतान्तरमा नेकपा एमाले र नेपाली काँग्रेसका उमेदवारहरुलाई पराजित गरेर प्रतिनिधि सभाको सदस्यमा निर्बाचित भएका हुन।

शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरुसंग राखेको भेटघाटको क्रममा कास्कीका सांसद पौडेलले बिभिन्न २४ बुँदा सहित ध्यानाकर्षण गराएको आंफ्नो सामाजिक संजाल फेसबुकमा राखेका छन।
उनले लेखेका बुँदा यसप्रकार छन..
प्रधानमन्त्रीज्युसँगको भेटघाटको अवसरमा मैले राखेका केही बुँदाहरु..
१. बहुआयामिक पर्यटन विकास: कृषि, धार्मिक, केभ (गुफा) र ताल पर्यटनलाई प्राथमिकता दिँदै एकीकृत योजना बनाइयोस्।
२. राज्यको सम्पत्ति संरक्षण: दलगत कब्जामा रहेका राज्यका सम्पत्तिहरू तत्काल सरकारी मातहतमा ल्याउन पहल गरियोस्।
३. खानेपानी समस्या समाधान: पोखराका वडा नं. २१, ११, २० र ३३ मा रहेको खानेपानीको संकट तत्काल समाधान गरियोस्।
४. पूर्वाधारमा जवाफदेहिता: काम अलपत्र पार्ने ठेकेदारहरूलाई कडा कारबाही गरी बाटो निर्माण कार्य अघि बढाइयोस्।
५. पर्यटकीय नीतिगत सुधार: नयाँ गन्तव्य पहिचान गरी पर्यटकको बसाई (Stay) बढाउन आवश्यक नीतिगत सुधार गरियोस्।
६. ताल संरक्षण: फेवाताललाई World Heritage Site मा सूचीकृत गर्न र अन्य तालहरूको संरक्षणमा तत्काल कदम चालियोस्।
७. न्यायोचित कर प्रणाली: पूर्वाधार नपुगेका वडाहरूमा करको दर हेरफेर गरी समान र न्यायोचित करको दायरा तोकियोस्।
८. खेलकुद पूर्वाधार: उच्च उचाइमा खेलिने फुटबलका लागि High Altitude Football Ground निर्माणमा ध्यानाकर्षण गराइन्छ।
९. भूमिहीनको समस्या: पोखरामा रहेका करिब ८ देखि १२ हजार भूमिहीनहरूको समस्या स्थायी रूपमा समाधान गरियोस्।
१०. स्वास्थ्य संस्थाको स्तरोन्नति: पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा र भौतिक स्तर तत्काल वृद्धि गरियोस्।
११. विमानस्थल र सुशासन: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन र त्यहाँ भएको भ्रष्टाचारको निष्पक्ष छानबिन होस्।
१२. अलपत्र पुलको निर्माण: पोखरा २१ र १७ जोड्ने दम्सादी पुलको निर्माण कार्य तत्काल सुचारु गरियोस्।
१३. मुटु अस्पतालको आवश्यकता: गण्डकी प्रदेशमा मुटु सम्बन्धी विशेष उपचारका लागि छुट्टै अस्पताल स्थापना गरियोस्।
१४. फोहोरमैला व्यवस्थापन: पोखराको फोहोर व्यवस्थापनमा आधुनिक र दीर्घकालीन समन्वय तत्काल सुरु गरियोस्।
१५. कर्मचारी व्यवस्थापन: अस्पतालहरूमा डाक्टर र प्राविधिक कर्मचारीहरूको सरुवा र व्यवस्थापनमा विशेष ध्यान दिइयोस्।
१६. ACAP को व्यवस्थापन: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) सँग सम्बन्धित समस्याहरूको दीर्घकालीन समाधान खोजियोस्।
१७. सडक संजाल: पोखरा २० को र्यालेचौरबाट आटिघर, मौजा, मोहरिया हुँदै डाँडागाउँ जाने बाटो तत्काल बनाइयोस्।
१८. होमस्टे प्रवर्द्धन: स्थानीय स्वरोजगार बढाउन होमस्टेहरूमा लगानी र अनुदानको व्यवस्था गरियोस्।
१९. व्यवसायीलाई बीमा: कर तिर्ने व्यवसायीहरूलाई राज्यको तर्फबाट बीमा सुविधासँग जोड्ने व्यवस्था गरियोस्।
२०. गोरखनाथ गुफाको संरक्षण: पोखरा २१ मा रहेको गोरखनाथ गुफालाई पर्यटकीय र धार्मिक स्थलको रूपमा विकास गरियोस्।
२१. युवा रोजगार र शिक्षा: प्राविधिक शिक्षा नीतिमा सुधार गरी युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितता गरियोस्।
२२. सम्पदा संरक्षण: महेन्द्र गुफा, चमेरो गुफा, गुप्तेश्वर गुफा, डेभिज फल्स र छोरेपाटन क्षेत्रको शैक्षिक र पर्यटकीय सुधारमा जोड दिइयोस्।
२३. कृषिमा राहत: किसानलाई दुःख दिने बाँदर नियन्त्रणका लागि वैज्ञानिक र प्रभावकारी कदम चालियोस्।
२४. फलफूल खेती प्रवर्द्धन: सम्भावित क्षेत्रहरूमा व्यावसायिक कफी र सुन्तला खेतीका लागि विशेष प्रोत्साहन दिइयोस् ।














