पोखरा, राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सातौँ साधारण सभा एवं चौथो अधिवेशनले हरिराज कोइराला अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कपिल श्रेष्ठ, उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा सोनिया कार्की खत्री, सचिवमा भेषराज अधिकारी, कोषाध्यक्षमा करुणा गुरुङ र सहसचिवमा ऋषिराम खनाललाई चयन गरिएको बताइएको छ ।
नयाँ कार्यसमितिको सदस्यमा किसु गुरुङ, ज्ञानबहादुर कार्की, चिजाकुमारी पाइजा र भगवती सिग्देल निर्वाचित भएको निर्वाचन संयोजक तथा राष्ट्रिय संगीत संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष सागर कार्कीले गुरुकुल खबरलाई जानकारी दिए । कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य ऋषिराम दाहालले पोखरामा गीत, नृत्य र बाद्यवाधन सिक्नको लागि संगीत प्रशिक्षण केन्द्र आवश्यक भएको जानकारी दिए ।
कार्यक्रममा संगीतकर्मी संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष कार्की, आजीवन सदस्य तथा सल्लाहकार नारायण सिग्देल, संघ कास्कीका अध्यक्ष सुनील कार्की, संघ सदस्य हरिकृष्ण घिमिरे लगायतले गीत संगीतबारे बोलेका थिए । सभाले यस अगाडिको समितिका सचिव हरिराज कोइरालाले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सोनिया कार्की खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सुधारसहित पारित गरेको बताइएको छ ।
















