काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं काग्रेसका नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज पाँच दिन म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । यसैगरी सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री एबम कांग्रेस नेता दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ
जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा ओली र लेखकको मुद्धाको बहस भएको थियो । पुर्व गृहमन्त्री लेखकलाई अदालत नै उपस्थित गराइएको थियो भने पुर्व प्रधानमन्त्री ओलीलाई स्वास्थ्यकोकारण देखाएर भर्चुअल रुपमा जोडिएको थियो । दुवै जनालाई गत भदौ २३ गतेको घटनामा दमन गरेको अभियोगमा अनुसन्धानका लागि शनिबार विहान पक्राउ गरिएको हो ।
बहसका क्रममा सरकारी पक्षले १० दिनको समय माग गरेको थियो भने ओली र लेखकका कानुन व्यवसायीले थुनामा राख्ने आधार नभएको भन्दै थुनामुक्त गर्नुपर्ने माग गरेका थिए । ओली र लेखकका तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल,अग्नी खरेल, रमेश बडाल, गोपालकृष्ण घिमिरे, खम्मबहादुर खातीलगायतले बहस गरेका थिए ।
बह्सपछि अदालतको आदेशमा ‘अनुमति माग गरेको व्यहोरा मनासिब देखिँदा प्रतिवादीहरु केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिए बमोजिमका कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिएको’ उल्लेख छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान पक्राउ गरिएको थियो ।
एमाले अध्यक्ष समेत रहेका ओली अस्पतालमा रहेको भन्नेसमेत देखिँदा आवश्यक उपचारको व्यवस्था प्रभावकारी बनाउन समेत अदालतले आदेश दिएको छ । सरकारी वकिलले भने एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेका थिए ।
कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

यसैगरी पुर्व मन्त्री एबम कांग्रेस नेता खडकालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिएका छन । आइतबार बिहान पक्राउ गरिएका खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो ।
जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । यस बाहेक नेपाल स्काउटको लैनचौरस्थित जग्गासम्बन्धि बिबादमा पनि खड्काको नाम जोडिएको छ । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो । उनी कांग्रेसका तर्फबाट उर्जामन्त्री भएका थिए ।















