काठमाडौँ , भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको अभियोगमा शनिबार बिहान निवासबाटै पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकलाई प्रहरी परिसरको हिरासतमा राखिने भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको दमनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुरुप उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनालाई मेडिकल गराएपछि त्यसपछि अनुसन्धानका लागि परिसरको भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने तयारी गरिएको परिसरका एक प्रहरीले जानकारी दिए।

यसैबीच एमाले अध्यक्ष ओलीले आँफुहरु कानुनी लडाई लड्ने भन्दै त्यसको तयारी गर्न कानुन ब्यबसायीहरुलाई आग्रह गरेको बुझिएको छ। बरिष्ठ अधिबक्ता टीकाराम भट्टराईका अनुसार पक्राउ पर्नु पहिले ओलीले वरिष्ठ अधिवक्ता भट्टराई लगायतका कानुनव्यवसायीसँग छलफल गरेका थिए ।
‘उहाँ (ओली)ले कानुनी लडाइँ लड्ने हो, तयारी गर्नुस् भन्नुभएको छ,’ भट्टराईले संचार माध्यमसंग भनेका छन ‘भ्याएसम्म आइतबार नै ओली र लेखकको तर्फबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत जान्छौं ।’

जेन–जी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई पक्राउ गरेको छ । कार्की आयोगले लापरबाही र हेलचेक्राइंका कारण जेन–जी आन्दोलनक्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।
त्यस्तै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध पनि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । शुक्रबार गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगले गरेको कारबाहि सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखकलाई पक्राउ गरिएको हो ।














