पोखरा, बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका पोखराका खडकराज पौडेल (गनेश) ले शुक्रबार पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदबहाली गरेका पौडेलले मुलुकको समृद्धिको खाका मन्त्रालयबाट नै सुरु हुने बताए । उनले एयर कनेक्टिभिटी अन्तर्गत हवाई सम्पर्कको विस्तार र नेपाल वायुसेवा निगमको जहाज थप्ने कार्यलाई तीव्रता दिइने र नीतिगत सुधारतर्फ पर्यटन बोर्डको पुनर्संरचना र निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिने कुरामा जोड दिए ।
पर्यटन पूर्वाधारमा लगानी बढाउने र सम्पदाहरूको महत्वलाई दृश्य माध्यमबाट प्रवर्द्धन गर्ने तथा मन्त्रालय र मातहतका निकायको काममा पारदर्शिता कायम गर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाई थियो। ‘पर्यटन मन्त्रालय मेरो रुचिको तर चुनौतीपूर्ण मन्त्रालय हो । म आफैँ लेखक र पदयात्री (ट्रेकर) भएकाले यस क्षेत्रका समस्यासँग परिचित छु । अब हामीले जनहितलाई केन्द्रमा राखेर मुलुकको समृद्धिका क्षेत्रमा गति बढाउनुपर्छ ।’ मन्त्री पौडेलले भने ।
नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस) पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सार्दै उनले हरेक धर्मसँग जोडिएका पदमार्गको विकास गर्ने योजना आफूसँग रहेको जानकारी दिए । मन्त्री पौडेलले आगामी पाँच वर्ष देशका लागि सहकार्य र समन्वयमार्फत काम गर्न कर्मचारीलाई आग्रह गरे । ‘म कुनै प्रलोभनमा पर्ने छैन, सबै निर्णय सामूहिक र एकताबद्ध हुनेछन्’, उनले स्पष्ट पारे, ‘कामको मूल्यांकन योग्यता (मेरिटोक्रेसी)का आधारमा हुनेछ । हामीले कर्मचारीजस्तो मात्र भएर होइन, देश निर्माणको अभियन्ता बनेर काम गर्नुपर्छ ।’
पर्यटकीय राजधानी पोखराको वडा न. १४ का बासिन्दा पौडेल कास्की क्षेत्र न.१ बाट संघिय संसदमा निर्बाचित भएका हुन। उनि यस अगाडी सम्पन्न स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिकाको प्रमुख पदमा लौरो चुनाब चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका थिए। त्यसपछि नै उनको लौरो चुनाब चिन्ह लिएर काठमाडौँ महानगरको प्रमुखमा चुनाब जितेका बालेन्द्र शाहसंग नजिकको सम्बन्ध स्थापित भएको थियो। यस पटक फागुन २१ को निर्बाचन पुर्व बालेन्द्र शाह संगै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका पौडेललाई बालेन्द्र प्रधानमन्त्री बनेपछि पर्यटन मन्त्रीमा नियुक्त गरेका हुन ।
२०३६ सालमा पोखरा १४ मझेरीपाटनमा जन्मिएका गनेसको परिवार पोखरा विमानस्थल निर्माणका कारण आफ्नै थातथलोबाट दुई पटकसम्म विस्थापित हुनुपरेको थियो । २०३२ सालमा विमानस्थलका जग्गा अधिग्रहण हुँदा पहिलोपटक र विसं २०७३ मा विमानस्थल निर्माणको दोस्रो चरण सुरु हुनुअघि थप जग्गा अधिग्रहण हुँदा दोश्रो पटक उनको परिवार बिस्थापित हुनुपरेको थियो ।
उनी विमानस्थल पीडितहरूको न्यायका लागि गठित संघर्ष समितिको संयोजक समेत बनेर विमानस्थल पिडितहरुको पक्षमा आवाज पनि उठाएका व्यक्ति हुन् । अब पोखरामा निर्मित अन्तराष्ट्रिय विमानस्थलबाट बिभिन्न मुलुकमा उडान भर्नको लागि आबश्यक ब्यबस्था मिलाउने जिम्मेवारी पौडेलकै काँधमा आएको छ।
पोखराले पर्यटन मन्त्रालयको नेतृत्व पाएको यो पहिलोपटक भने होइन । यसअघि विसं २०७४ को सरकारमा रवीन्द्र अधिकारीले यो मन्त्रालय सम्हालेका थिए । त्यसभन्दा अगाडी नेपाली काँग्रेस बाट निर्बाचित महादेव गुरुङले पनि पर्यटन राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।














