Play

‘जाउँ है पोखरा अभियान’ को टोलि विराटनगर र बिरगंजमा: पोखरा महोत्सबमा सहभगी बन्न निम्ता

गुरुकुल खबर


 विराटनगर, नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने फेवा नवबर्ष महोत्सवको निम्ता प्रदान गरेको हो । पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म यो महोत्सव हुँदैछ ।

विराटनगरमा आयोजित कार्यक्रममा होटन संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ बर्षदेखी जाउँ है पोखरा अभियानलाई निरन्तर संचालन गर्नु सराहनीय कदम भएको बताए । प्रबर्द्धनका यस्ता अभियानलाई भारतका उत्तर प्रदेश र बिहारमा पनि संचालन गर्न उनले सुझाव दिए । कोशी प्रदेशले पनि पर्यटनको अपार संभावना बोकेको भन्दै उनले प्रचारप्रशारको अभावले यो प्रदेश पछि परेको बताए ।

आयोजक संस्था पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुबेदीले पोखरा पर्यटनका हिसाबले निकै सस्तो गन्तब्य भएको बताउँदै फेवा महोत्सवका पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशत सम्म छुट प्रदान गरिएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा अन्नपूर्ण क्षेत्र प्रवेशको आधार क्षेत्र मात्र नभई प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता साहसिक पर्यटनको गन्तब्य समेत भएको बताए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो पटकको जाउँ है पोखरा अभियान संचालन भईरहेको हो ।

अभियान १३ चैतसम्म चल्ने छ । कार्यक्रममा कोशी भ्रमण बर्ष २०८२ का संयोजक भविस श्रेठले नेपाल र भारतमा समेत नेपाल पर्यटन बोर्डले प्रबर्द्धनका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने सुझाव राखे । पोखरा र पूर्वी नेपालविच हवाई र गुणस्तरीय स्थल यातायात सेवा संचालनका लागि पहल जरुरी भएको उनले बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपाली पर्यटनमा कोशी प्रदेशको योगदान उच्च रहेको बताउँदै पोखरा र वरपरका लामाछोटा पदयात्रा गन्तब्यका बारेमा अबगत गराए । नाट्टा कोशीका अध्यक्ष पुण्य भट्टराईले पोखरामा पूर्वबाट पर्यटक पठाउन आफूले पनि भूमिका खेलिरहेको अवगत गराए । कार्यक्रमा होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वता पाण्डेले गरेकी थिईन् ।

आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ बर्षअघि सुरु गरिएको अभियान अन्तर्गत यस बर्ष बिरगंज विराटनगर, इलाम र हेटौंडामा पुग्ने योजना अनुरुप ‘जाउँ है पोखरा अभियान’ को टोलि यस अगाडी बिरगंज पुगेको थियो । त्यहा आयोजित कार्यक्रमको उद्घाटन वीरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले गरेका थिए । सो अवसरमा बोल्दै उनले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताए । सिमा नाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरे । पुलिसले पैसा खान यस्तो गरेको हो- उनले दाबी गरे । भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव राखे ।

पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले माओवादी द्वन्द्व, भुकम्प, नाकाबन्दी, कोभिड र बैंकको चर्को ब्याजदेखि मध्यपूर्व तनावसम्म आइपुग्दा नेपाली पर्यटनले धेरै मार खेप्नु परेको बताए । सो अवसरमा उनले विगतमा संचालन भएर विचमा रोकिन पुगेको पोखरा-सिमरा हवाई उडान सेवा पुन: संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।

मधेश प्रदेशका पूर्बमन्त्री ओमप्रकाश शर्माले पोखरा-सिमरा उडान रोकिनु दु:खद विषय भएको बताउँदै उडान सुरु गर्ने कार्यमा आफ्नो पनि भूमिका रहेको स्मरण गराए । यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र नीजी क्षेत्र मिलेर उक्त रुटमा उडान सुचारु गरिनुपर्ने सुझाव उनले राखे ।

संघका अध्यक्ष सुबेदीले पोखराको होटल क्षेत्रमा मात्र ६ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिंदै पोखरा पुग्ने पर्यटक मध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहने गरेको जानकारी दिए । कार्यक्रममा उनले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पुर्वका बासिन्दालाई निम्ता प्रदान गरे । महोत्सवका सहभागी पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि उनले गरे ।

सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट र पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउन बोर्डले ब्यबसायीसँग सहकार्य गरेर अगाडि बढीरहेको बताए । कार्यक्रममा ब्यबसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गारिएको, सिमा नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्यक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारीलाई निर्वाध संचालनमा अबरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाए ।

भारतीय सवारीलाई सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत् दिन पनि ब्यबसायीले माग गरे । २५ हजार भारु भन्दा बढी रकम बोकी नेपाल आउने भारतीयलाई सिमानामा अझै पनि दु:ख दिने गरिएको विषय पनि सो अवसरमा चर्चा गरियो । पोखरामा फोहोर बढेको, कंकृटका घर बढ्दै गएको र फेवाको उचित संरक्षण नभएको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरे ।

कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गरेका थिए । पूर्ब र पोखराले एक अर्काको हितको लागि पर्यटक र व्यापार आदानप्रदान गर्न सक्ने पनि उनले चर्चा गरे । सो अवसरमा वीरगंज उद्धोग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, समाजसेवी एबं उद्धोगपती अशोककुमार बैद्य, पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जरा र आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठलगायतले भनाई राखेका थिए

१२ चैत्र २०८२, बिहीबार ०९:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा