पोखरा, पोखरा महानगरपालिका -५ प्रस्यांगमा दुईदशक अगाडी स्थापित शान्ति निकेतन स्कूलले आगामी आर्थिक बर्षदेखी नयाँ र सुविधासम्पन्न भवनबाट पठनपाठन शुरु गर्ने भएको छ । आगामी शैक्षिक सत्र अर्थात आगामी बैशाखदेखि नयाँ व्यवस्थापन सहित स्कुलले आंफ्नो सेवा संचालन गर्ने भएको हो । विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्कुलका संस्थापक एवं प्राचार्य डा. महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग लगानी र ब्यबस्थापनमा सहकार्य गरिएको समेत स्पष्ट पारे ।
‘प्रतिभा र शान्ति निकेतन आ-आफ्नै मोडालिटीमा अहिले पनि चलिरहेको र आगामी दिनमा पनि यसै अनुसार चल्छन । गुणस्तरीय शिक्षाको लागि हामी दुई संस्थाका संचालकहरु व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेका हौँ । सहलगानीदेखि दुई विद्यालयका शिक्षक अनुभव आदानप्रदान लगायतका काममा सहकार्य गरिनेछ ।’ डा. पराजुलीले भने। सोहि कार्यक्रमा उपस्थित प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले दुई शिक्षण संस्थाको बिचमा सहकार्य संगै प्रतिष्पर्धा समेत हुने स्पष्ट पारे ‘उत्कृष्ट नतिजा ल्याइरहेको शान्ति निकेतन र प्रतिभा माबि दुईवटा विद्यालय एकआपसमा गाभिएर एकै ठाउँबाट संचालन हुने नभएर दुवै संस्था आआफ्नो ठाउमा संचालन हुने र आपसमा सहकार्य गर्दै गुणस्तरीय शिक्षाको लागि प्रतिष्पर्धा गर्नेहो ।’ उनले भने ।
दुईवटा संस्थाको बिचमा लगानी र ब्यवस्थापनमा सहकार्य हुने भनिएपनि कसले कति लगानी गर्ने र सहकार्यका अन्य बिषयमा भने स्पष्ट खुलाइएन । २०६२ सालदेखि प्रस्यांगको एकलधारामा संचालन हुँदै आएको शान्ति निकेतन स्कुलले हालको बिधालय भवन सहितको संरचनालाई स्तरोन्नति गरि मन्टेश्वरी कक्षा देखि कक्षा ३ सम्मको पठनपाठन संचालन गर्नेछ भने धारापानी मार्गमा नवनिर्मित भवनमा कक्षा ४ देखि १२ कक्षासम्मको पठनपाठन संचालन गरिने पनि संस्थापक प्राचार्य पराजुलीले जानकारी दिए ।
करीब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लगानी गरी एक वर्षभित्रै निर्माण सम्पन्न गरिएको उक्त बिधालय भवन सुविधासम्पन्न रहेको बताइएको छ। नव निर्मित भवन अपाङ्गतामैत्री साथै लिफ्ट सहितको मात्र नभएर अन्डरग्राउण्ड पार्किङस्थल, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट प्राक्टिस नेट, क्यान्टीन, अतिरिक्त क्रियाकलापका लागि ३ सय जना क्षमताको श्रव्य दृश्य कक्ष, अत्याधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, लाइब्रेरी, स्मार्ट क्लास रूम, विभिन्न डिजिटल उपकरण, कम्प्युटर ल्याब, साइन्स ल्याब, वर्ल्ड क्लास डिजिटल लाइब्रेरी समेतको सुबिधा भएको पराजुलीले बताए ।
आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद, नृत्य, कला, सङ्गीत, नाटक, योगा, चिनियाँ र संस्कृत भाषाका कक्षालाई थप प्रभावकारी बनाउँदै विद्यालयलाई डिजी स्कुलका रूपमा विकास गरिने उनको भनाई छ । प्राबिधिक धारमा स्नातक तहका कक्षाहरु पनि संचालन गर्ने र यसका लागि अन्तराष्ट्रियस्तरका ख्यातिप्राप्त शैक्षिक संस्थाहरुसंग सहकार्य गरिने योजना पनि उनले सुनाए। ‘स्थानीय र राष्ट्रिय परीक्षाको नतिजा विश्लेषणमा पटक पटक सर्वोत्कृष्ट विद्यालय भई पुरस्कृत भइसकेको बताउंदै उनले एसइई परीक्षामा पटक पटक जिल्लामा उत्कृष्ट स्थानसहित ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत शान्ति निकेतनले उत्पादन गरिरहेको पनि पराजुलीले दाबि गरे।

मालेपाटन र प्रस्यांग क्षेत्रका ब्यबसायिक एबम सामाजिक व्यक्तित्वहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै स्थानीय युवा ब्यबसायी एबम सामाजिक व्यक्तित्व पुरुषोत्तम पराजुलीले शान्ति निकेतन बिधालयले स्थापनाकालदेखि उत्पादन गरेको जनशक्ति अहिले राज्य र समाजको बिभिन्न जिम्मेवारीमा सक्रिय रहेको र बिधालयले मानवता र नैतिक संस्कार सम्बन्धि शिक्षा समेत प्रदान गर्दै आएको उल्लेख गरे ।
सोहि अबसरमा बिधालयको भौतिक संरचनाको डिजाइनमा संलग्न प्राबिधिक ई. रामचन्द्र पोखरेलले बिधालयको संरचना अन्तराष्ट्रियस्तरको पठनपाठनको लागि उपयोगी हुने गरि डिजाईन गरिएको जानकारी गराए समारोहको अध्यक्षता शान्ति निकेतन बिधालयका सञ्चालक समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले गरेका थिए ।














