Play

रबि लामिछानेमाथि लागेको मुद्धा फिर्ता लिने निर्णय बिरुद्धको रिट हेर्दाहेर्दैमा, मंगलवार पनि सुनुवाई हुने

गुरुकुल खबर


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर सम्बन्धि मुद्दा फिर्ता लिने महान्यायाधिबक्ताको निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखिएको छ। सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको र यस रिटमाथि मंगलबार पनि सुनुवाइ हुने बताइएको छ।

सोमबारको सुनुवाईमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए। रिट निवेदकको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।

यसअघि अघिल्लो चार दिन पनि सुनुवाइ भएको थियो। तर महान्यायाधिवक्ताले गरेको माघ २ गतेको निर्णय झिकाउन आदेश दिँदै अदालतले आज सोमबारको लागि पेसी तोकेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको संयुक्त इजलासले चार दिनको सुनुवाइपछि बिहीबार महान्यायाधिवक्ताले अभियोगपत्र संशोधन सम्बन्धी गरेको पछिल्लो निर्णय लगायत सम्बन्धित फाईल झिकाउन आदेश दिएको थियो।

सुरुमा लामिछानेको मात्रै अभियोगपत्र संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुर हटाउने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयले माघ २ गते उनीसँग जोडिएका सहकारीका सबै प्रतिवादीविरुद्ध सहकारी ठगी बाहेकका कसुरमा अभियोग नलगाउने निर्णय गरेको थियो। यो निर्णयको प्रति मिसिलमा संलग्न रहेको नदेखिएको भन्दै इजलासले पछिल्लो निर्णय र यससँग सम्बन्धित अन्य कागजातहरू भए ती पनि मगाएर चैत ९ गतेलाई पेसी तोक्न आदेश दिएको थियो।

महान्यायाधिवक्ताको निर्देशनपछि चार वटा जिल्ला सरकारी वकिलको कार्यालयले सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र संशोधनको निवेदन पनि दिइसकेका छन्। तर जिल्ला अदालतले यही रिटलाई देखाउँदै यसको टुंगो लागेपछि मात्रै निर्णय गर्ने आदेश दिएका छन्। कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारीको मुद्दामा लामिछानेलाई ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा पनि प्रतिवादी बनाइएको छ। चितवनमा भने सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रतिवादी नबनाउने निर्णय गरेको थियो।

कास्कीको सूर्यदर्शन सहकारीमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित विरुद्ध पहिल्यै मुद्दा दर्ता भइसकेको थियो। सुरुमा उनीहरूविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो। तर रवि लामिछानेसहितको विरुद्ध मुद्दा चलाउने बेलामा उनीहरूलाई पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर थप गरिएको थियो।महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते मुद्दा फिर्ता लिन जिल्ला सरकारी वकिलको कार्यालयहरूलाई निर्देशन दिएकी थिएन्। निर्देशन अनुसार जिल्ला सरकारी वकिलले सम्बन्धित जिल्ला अदालतमा निवेदन पनि दिइसकेका छन्। तर जिल्ला अदालतले सर्वोच्चबाट यो रिटको टुंगो लागेपछि मात्रै निर्णय हुने आदेश दिएको छ।

यसअघि लामिछानेले आफूविरूद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुरोध गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। लामिछानेको मागबमोजिम अभियोग संशोधन हुने गरी भण्डारीले स्वीकृति दिने निर्णय गरेकी थिइन्। यहीबीचमा लामिछाने चितवन–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्। चुनावअघि उनी आफूले तिर्नुपर्ने बिगोबापतको रकम बुझाएर रिहा भएका थिए।

आफ्नो भागको बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बुझाएर रिहा भएका लामिछानेले अरु दुई कसुर फिर्ता भएमा बचतकर्ताको रकम फिर्ता गरेर भए पनि मुद्दाबाट मुक्ति पाउने प्रयास गरिरहेका छन्।  रबि लामिछानेले सूर्यदर्शन सहकारीमा ६५ लाख, स्वर्णलक्ष्मीमा ६० लाख, सुप्रिम सहकारीमा १ करोड, सहारा चितवनमा ५४ लाख र सानो पाइला सहकारीमा १ करोड रुपैया धरौटी रकम बुझाएर जेलबाट छुटेका हुन्।

९ चैत्र २०८२, सोमबार २०:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा